सन्तनेताकाे नाममा निजी जग्गामा भवन, लगानी राज्यकाे

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सरकारी बजेटमा सार्वजनिक संघ संस्थाको संरचना निर्माण गर्दा जग्गा सम्बन्धित संस्थाकै नाममा हुनुपर्छ । कानुनत भवनको नक्सा पास पनि हुनुपर्छ । तर सन्तनेता सन्तनेता तथा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको नाममा विराटनगरमा व्यक्तीको जग्गामा भवन बनिरहेकाे छ । विराटनगर महानगरपालिकाका अनुसार भवनको नक्सा पनि पास भएको छैन ।

निजी जग्गामा बनिरहेको भवनका लागि तीन तहका सरकारले साढे तीन करोड रुपैयाँ भुक्तानी गरिसकेका छन् ।

विराटनगर महानगरपालिका– ४ इक्राहीमा सन्तनेता कृष्णप्रसाद भट्टराई फाउण्डेशनले निजी जग्गामा बनाइरहेको भवनमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले ३ करोड ४९ लाख ४६ हजार ५५१ रुपैयाँ भुक्तानी गरेको हो ।

सात तल्ले भवन बनिरहेको जग्गा रिजाल थरका एक व्यक्तिको नाममा छ । उक्त जग्गाको अधिकृत वारेसनामा राजेन्द्र खनालले लिएका छन् । उनका अनुसार सन्तनेताको नाममा निर्माण भइरहेको भवनले करिब तीन कट्ठा निजी जग्गा ओगटेको छ ।

विराटनगर महानगरपालिकाको घर नक्सा शाखाका प्रमुख गोपाल पोखरेलका अनुसार भवनको नक्सा पासका लागि निवेदन आएको छैन । ‘किसुनजीको नाममा बन्‍ने भवनका लागि जग्गाको नक्सा पासका लागि कुनै पनि आवेदन आएको छैन,’ उनले भने,‘कानुनत भवन निर्माण गर्नुअघि नक्सा पास गर्नुपर्छ ।’

भवन निर्माणका लागि ६ कट्टा ऐलानी जग्गा विराटनगर महानगरपालिकाले दिएको थियो । तर, प्रतिष्ठानले महानगरले दिएको जग्गामा भवन बनाएन्, सँगै रहेको ४२५ कित्ता नम्बरको निजी जग्गामा भवन निर्माण गर्‍यो । ४२५ कित्ता नम्बरको निजी जग्गा ७ कट्ठा ४ धुर छ ।

प्रतिष्ठानका अध्यक्ष तथा पूर्व राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीले भने जग्गा खरिद गरिसकेकोले अब नक्साको काम मात्रै बाँकी रहेको बताए । ‘जसको जग्गा खरिद गरेका छौं, उहाँको केही पैसा मात्रै बाँकी छ,’ उनले भने,‘बाँकी सबै तिरिसकेका छौं। अब नक्साको काम बाँकी छ।’

प्रतिष्ठानले भवन निर्माणका लागि सात करोड खर्च भएको बताएको छ । सूचनाको हकका अभियन्ता योगराज दाहालले सूचनाको हक प्रयोग गरी विराटनगर महानरगपालिकासँग माग गरेको विवरणमा आर्थिक वर्ष २०७८/७९ देखि २०८०/०८१ सम्म तीन तहको सरकारले ३ कारोड ४९ लाख ४६ हजार ५५१ भुक्तानी गरेको देखिन्छ ।

 अभियान्ता दाहालले भवन निर्माण भइरहेको जग्गाको विषयमा मोरङ जिल्ला भूमिसुधार तथा मालपोत कार्यालयमा तत्कालीन अमाही इक्राही वडा नं.१/क को कित्ता नम्बर ४२५ र ४२४ को जग्गाबारे विवरण माग गरेका थिए । मालपोत कार्यालयले दिएको जवाफमा सो कित्ता नम्बरको जग्गा निजी तथा व्यक्तिगत भएको उल्लेख छ ।

भवन निर्माण सम्पन्न हुँदा १५ करोड लागत पुग्ने अनुमान छ ।

प्रतिष्ठान अध्यक्ष रायमाझीका अनुसार नयाँ पुस्तालाई कृष्णप्रसाद भट्टराईको योगदान पढाउने उद्देश्यले भवन निर्माण गरिएको हो । भवनमा हल, म्युजियम र गेष्टहाउस रहनेछन् । सुरुमा टेक्निकल कलेज सञ्चालन गर्ने योजना थियो। तर, विद्यार्थी नहुने भएका कारण प्रतिष्ठान निर्माण गरिएको हो ।

प्रकाशित मिति: सोमबार, ०५ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.