काेशी प्रदेश सरकार गठन भएकाे सात वर्ष पूरा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकार गठन भएको ७ वर्ष वर्ष पूरा भएकाे छ । पहिलोपटक २०७४ साल फागुन ३ गते प्रदेश सरकार गठन भएको थियो ।

७ वर्षको अवधिमा प्रदेशमा ९ वटा सरकार बनेका छन् । पहिलो कार्यकालमा ३ वटा सरकार बनेका थिए । दोस्रो कार्यकालको २ वर्षको अवधिमा ६ वटा सरकार बनेका छन् ।

पहिलो कार्यकालमा नेकपा (एमाले)बाट शेरधन राई र भीमप्रसाद आचार्य तथा नेकपा (एकीकृत समाजवादी) पार्टीबाट राजेन्द्रकुमार राई मुख्यमन्त्री बनेका थिए ।

दोस्रो कार्यकालमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तीन पटक मुख्यमन्त्री बनेका छन् । हाल उनी प्रदेशका मुख्यमन्त्री छन् । नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा २ पटक (एकपटक अवैधानिक) र कांग्रेस नेता केदार कार्की १ पटक मुख्यमन्त्री बनेका थिए ।

सात वर्षकाे अवधिमा प्रदेश सरकारले ७५ वटा कानुन निर्माण गरेकाे छ । सडक, पूर्वाधार लगायत संरचना निर्माण भएकाे छ ।

सरकारले सार्वजनिक गरेको उपलब्धि अनुसार २०७४–०७५देखि २०८१–०८२ को पहिलो त्रैमाससम्म ४ सय ५३ किलोमिटरका बहुवर्षीय सडक, १ हजार ३ सय ९० किलोमिटर ग्राभेल र ६ सय ८ किलोमिटर सडक कालोपत्रे भएको छ । सोही अवधिमा ९३ वटा पक्की पुल र २ सय २२ वटा झोलुंगे पुल पनि निर्माण भएको छ ।

प्रदेश सरकारका अनुसार १ सय १३ वटा सामुदायिक भवन, २८ वटा सरकारी भवन, १६ वटा एकीकृत वस्ती निर्माण भएको छ । जनता आवास कार्यक्रमअन्तर्गत ७ हजार २ सय ८४ वटा घर निर्माणसहित २ वटा भ्यू टावरलगायतका संरचना बनेका छन् ।

आर्थिक वर्ष २०७४–०७५ देखि २०८०–८१ सम्म प्रदेशका लागि २ खर्ब २९ अर्ब बजेट विनियोजन भएको थियो । चालु आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट छ । ७ वर्षको अवधि (२०७४ फागुनदेखि ०८१ असारसम्म) १ खर्ब ६८ अर्ब ३९ करोड बजेट प्रदेशले खर्च गरेको छ । जसमध्ये पुँजीगत खर्च ९६ अर्ब ६९ करोड हो । स्थानीय तहमा २३ अर्ब १० करोड अनुदान हस्तान्तरण गरेको थियो ।

प्रदेश सरकारले ७ वर्षको अवधिमा सुरक्षा निकायको भौतिक संरचना निर्माणका लागि १ अर्ब १२ करोड बजेट खर्च गरेको थियो । यो बजेटबाट ९७ वटा प्रहरी कार्यालयको भवन निर्माण भएको छ । २ वटा निर्माणाधीन अवस्थामा छन् ।

प्रहरीलाई ३ सय ७० थान मोटरसाइकल, १० थान स्कुटर, ६ थान डोमिनट साथै १५ वटा चार पांग्रे सवारीसाधन उपलब्ध गराइएको छ । सशस्त्र प्रहरीका लागि १८ वटा बोर्डर आउट पोस्ट (बीओपी) निर्माण गरिएको छ । सशस्त्र प्रहरी बल नेपाललाई ७० थान मोटरसाइकल र राष्ट्रिय अनुसन्धानलाई १५ थान मोटरसाइकल उपलब्ध गराएको छ । कोशी प्रदेशमा सरकार गठन भएको ७ वर्षकाे उपलब्धिलाई २ सय ३८ बुँदामा समेटेर पुस्तक प्रकाशन गरेकाे छ ।

स्थापना दिवसकाे अवरसमा आयाेजित कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले गरेको कामको प्रचार गर्न आग्रह गरे । सरकारको कामको स्वस्थ आलोचना आवश्यक रहेको बताउँदै उनले भौतिक पूर्वाधार र मानवीय सूचकांकको क्षेत्रमा पनि काम गर्ने बताए ।

नयाँ संरचना स्थापित गरी सञ्चालन गर्न चुनौतीपूर्ण रहेको बताउँदै उनले भने,‘ कानुनी शून्यता र संरचनाविहीन अवस्थाबाट सरकारका कार्यसम्पादन गर्दै जनतामा सेवा प्रवाह गर्नु अत्यन्तै जटिल र कठिन थियो । यस्तो कठिन परिस्थितिबाट अगाडि बढेर प्रदेश सरकार आजको मितिसम्म आइपुग्दा यसले आफ्नो आकार ग्रहण गरेर आम जनतामा देखिने, सुनिने र अनुभूति गर्न सक्ने अवस्थामा पुगेको छ।’

उपलब्ध स्रोत र साधनको उच्चतम उपयोग गर्दै संविधानको भावना र मर्मअनुरूप प्रदेशको दिगो विकास, समृद्धि र सुशासनका लागि प्रदेश सरकार दृढताका साथ अगाडि बढिरहेको उनले बताए ।

प्रकाशित मिति: शनिबार, ०३ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.