सचिव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि अमात्यले पाए कामु सचिवको जिम्मेवारी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सभाको कायममुकायम सचिवको जिम्मेवारी उपसचिव गौतमराज अमात्यले पाएका छन् । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि उपसचिव अमात्यले कामु सचिवको जिम्मेवारी पाएका हुन् ।

पशुपतिको जग्गामा बालुवा खानी सञ्चालन गर्दा अनियमितता गरेको मुद्दामा पराजुली दोषी ठहर भएपछि सभामुख अम्बरबहादुर विष्टले अमात्यलाई आज कायममुकायम सचिवको जिम्मेवारी दिएका हुन् ।

बिहीबारको प्रदेशसभा बैठकमा अमात्यले सचिवको जिम्मेवारी निभाएका थिए ।

कार्यालयको सिनियर कर्मचारी भएका कारण आफूले कामु जिम्मेवारी पाएको अमात्यले बताए ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले पशुपतिको जग्गामा बालुवा खाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा एमाले नेता निर्मल कुइँकेल र पराजुलीसहित ९ जनालाई दोषी ठहर गरेको थियो ।

बालुवा खानी ठेक्का दिँदा पराजुली काठमाडौं जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी थिए ।

निजामति सेवाबाट अवकास लिएपछि उनी १२ वैशाख २०७६ मा प्रदेश सभाको सचिव नियुक्त भएका थिए । ९ वैशाख २०८१ देखि लागू हुने गरी दोस्रो कार्यकालका लागि प्रदेश सभाको सचिवमा नियुक्त भएका थिए । सर्वोच्चको फैसलापछि पराजुली पुनरावलोकनका लागि काठमाडौं पुगेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, ०१ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.