प्लस टु गरेका विद्यार्थीले जनरल नर्सिङ पढ्न पाउने

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । जुनसुकै विषयमा प्लस टु अध्ययन गरेका विद्यार्थीले जनरल नर्सिङ विषय पढ्न पाउने भएका छन् । यसअघि विज्ञानमा १२ कक्षा पास भएपछि मात्र स्नातक तहमा नर्सिङ (बिएस्सी नर्सिङ) विषय अध्ययन गर्न पाउँथे । प्रधानमन्त्री तथा चिकित्सा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले जुनसुकै विषयमा प्लस टु गरेका विद्यार्थीले जनरल नर्सिङ विषय पढ्न पाउने निर्णय गरेको हो ।

चिकित्सा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाका अनुसार नेपालमा पहिलो पटक जनरल नर्सिङ विषयमा अध्ययन हुन लागेको हो । ‘१२ कक्षासम्म जुनसुकै विषयमा अध्ययन गरेको भए पनि जनरल नर्सिङ अध्ययन गर्न पाउने छन्,” डा.झाले भने, “यसअघि अध्ययन हुँदै आएका विषय पनि यथावत् सञ्चालन हुने छन् ।”

आयोगको १७ औं बैठकले सरकारी स्वास्थ्य संस्थामा २०९ सिट थप गर्ने निर्णय पनि गरेको छ । आयोगको निर्णयसँगै चिकित्साशास्त्र स्नातकोत्तर तह (पिजी) मा थप २०९ जना विद्यार्थीले निःशुल्क एमडीएमएस गर्न पाउने छन् ।

बैठकमा निजी मेडिकल कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट सङ्ख्या वृद्धि गर्ने विषयमा पनि छलफल भएको थियाे ।

प्रकाशित मिति: बिहिबार, ०१ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.