रतुवा खोलामा १७ वर्षपछि बन्यो पुल

Satya Sanchar सत्य सञ्चार

विराटनगर । हुलाकी राजमार्ग अन्तरगत रतुवा खोलामा निर्माण सुरु भएको १७ वर्षपछि पुल तयार भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका अनुसार २८२ मिटरको पुल निर्माण भएको हो । यो पुलले मोरङ र झापालाई जोड्छ ।

पुल निर्माणको काम पुरा भएपनि आसपासको सडक कालोपत्रेको काम बाँकी हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले बताए ।

यो पुल निर्माणका लागि वि.स. २०६४–६५ मा ठेक्का लागेको थियो । ठेकेदारले आधा मात्रै पुल निर्माण गरेपछि २०७९ सालमा पुन दोस्रो पटक ठेक्का लागेको थियो ।

पुल नहुँदा स्थानीयबासी वर्खामा पैसा तिरेर डुङ्गा र हिउँदमा बासको पुलबाट यात्रा गर्न बाध्य थिए । यात्रुले साइकलमा खोला पार गर्दा १० रुपैयाँ र मोटरसाइकलमा पार गर्दा २० रुपैयाँ तिर्न पर्थ्याे । पुल निर्माण भएपछि यातायात सहज भएको छ ।

‘पुल निर्माण भएपछि सवारी आवागमान भइरहेका छन्,’ पोखरेलले भने,‘पुलको पूर्व पश्चिमको सडक निर्माण भइरहेको छ ।’

मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष २०६४–६५ मा कालिका–ओसिए जेभीलाई पुल निर्माणको ठेक्का लिएको थियो । तर त्यसबेला २०४.८ मिटर मात्रै पुल निर्माण भयो । अधुरै रहेको पुल खोलाको बीच भागमा थियो ।

हुलाकी राजमार्ग कार्यालयका अनुसार थप ७६.३ मिटर पुल निर्माणाका लागि देव एन्ड सायर/समता/आशिषदीप जेभीले २०७९ साल पुस १७ गते २२ करोड १२ लाख रुपैयाँमा ठेक्का पाएको थियो । त्यसपछि मोरङ तर्फ ५० मिटर र झापा तर्फ २६ मिटर पुलको लम्बाई थपिएको छ ।

निर्माण सम्पन्न भएपछि पुलको लम्बाई २८२.८ मिटरको छ ।

रतुवा खोलाको अधुरो पुल निर्माण भएपछि झापाका दक्षिण क्षेत्रका सर्वसाधारणलाई हुलाकी मार्ग हुँदै कोशी प्रदेशको राजधानी विराटनगर आउ– जाउ गर्न सहज हुनेछ ।

यसअघि मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष २०६४–६५ मा कालिका–ओसीए जेभीले १० करोड ३२ लाख ठेक्का पाएको थियो । सम्झौतापछि २०४.८ मिटर पुल निर्माण गरेको थियो । त्यसको १५ वर्षपछि थप स‌रचना निर्माणका लागि नयाँ ठेक्का लागेको थियो ।

प्रकाशित मिति: मङ्गलबार, २९ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.