जसपा नेपालको निर्णयले अफ्ठ्यारोमा सरकार

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारले संसदमा दर्ता गरेका ६ मध्ये पाँच वटा अध्यादेश पारित गर्न सहयोग गर्ने निर्णय गरेको छ ।

सरकारले माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश दर्ता गरेको थियो । जसपाले भूमि सम्बन्धि अध्यादेश बाहेक अन्य अध्यादेश पास गर्न सहयोग गर्ने निर्णय गरेको हो । जसपाको निर्णयका कारण सरकार अफठ्यारोमा परेको छ ।

प्रतिनिधिसभामा सत्तापक्षसँग सहज बहुमत छ । राष्ट्रिय सभामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल निर्णायक छ । राष्ट्रिय सभामा जसपा नेपालका ३ सांसद छन् । जसपाले सहयोग नगरे अध्यादेश राष्ट्रिय सभाबाट अस्वीकृत हुनेछ ।

सरकारले ६ वटै अध्यादेश पास गर्न जसपा नेपालको साथ खोजेको थियो । तर जसपा नेपालले सुरुमा मधेश प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको थियाे । तर सरकार तयार भएन् ।

जसपा नेपालको मंगलबार सिंहदरबारमा बसेको संसदीय दल बैठकले पाँच वटा अध्यादेशलाई स्वीकार गर्न सहयोग गर्ने निर्णय गरेको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । उनले भूमि सम्बन्धि अध्यादेशको पक्षमा मतदान नगर्न नसक्ने बताएका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट अध्यादेश पास गर्ने तयारीमा सरकार रहेपनि जसपा नेपालले सहयोग नगर्ने भनेपछि अन्तिम समयमा पछि हटेको थियो ।

यस्तो छ अंकगणीत

५९ सदस्यीय राष्ट्रियसभामा बहुमत पुर्‍याउन ३० सिट अनिवार्य हुन्छ ।

राष्ट्रियसभामा कांग्रेसका १६ र एमालेका १० सांसद छन् । मनोनित नेतृ अञ्जना शाक्य र वामदेव गौतमसहित गर्दा एमालेसँग १२ सिट छ ।

कांग्रेस र एमाले जोडेर २८ मात्रै पुग्छ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको १ जना पनि सत्तापक्षमा छन् ।

विपक्षमा माओवादी केन्द्र १७, नेकपा एकीकृत समाजवादी ८ र राष्ट्रिय जनमोर्चा १ गरेर २६ जना सांसद छन् ।

सरकारमा नरहेको जसपा नेपालसँग ३ जना सांसद छन् ।

जसपा नेपाल अध्यादेशको पक्षमा उभिए अध्यादेश पास हुनेछ ।

प्रकाशित मिति: मङ्गलबार, २९ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.