१८ वर्षदेखि कुखुरापालनमा सुवेदी

Satya Sanchar सत्य सञ्चार

बागलुङ । विगत १८ वर्षदेखि बागलुङका सुरथ सुवेदीले व्यावसायिक कुखुरापालन गर्दै आएका छन् । बागलुङ नगरपालिका–६ मा घर भएका उनले वडा नं १३ को भाटेखोलामा धौलागिरि कृषि दाना एण्ड पोल्ट्री फार्म सञ्चालन गरेका हुन् । सुवेदीले कुखुरापालनबाटै मासिक पाँच लाख बचत पनि गर्दै आएका छन् ।

एकाउन्न वर्षीय सुवेदीले १८ वर्षमा थुप्रै असफलता व्यहोर्दै सफलतामा पुगेको बताए । उनले १० वर्षयता बागलुङ र त्यसभन्दा अघि चितवनमा कुखुरा पाल्दै आएका थिए ।

अहिले उनको कुखुरा फार्मममा पाँच हजार पाँच सय कुखुरा छन् । सरदरमा दैनिक पाँच हजार अण्डा बजारमा विक्री लागि जाने सुवेदीले जानकारी दिए । “धेरै पटक असफलता व्यहोर्नु पर्‍यो, त्यही असफलताबाट पाठ सिकेर अघि बढ्दा सफलता पाइदोरहेछ”, उनले भने, “हार मानेको भए अहिले व्यवसाय छाडिसकेको हुन्थेँ, निरन्तरको प्रयासले यहाँसम्म ल्याएको छ । अहिले मासिक पाँच लाख बचत हुन्छ ।”

उनले विसं २०६३ मा चितवन गएर सुरुमा बोइलर जातको कुखुरा पाल्न थाले पनि पछिल्लो १० वर्षयता लियर्स जातको कुखुरा पाल्दै आएका छन् । चितवनमा निरन्तर सफलता हाँसिल गर्दै गए पनि १३ हजार कुखुरा बर्डफ्लुका कारण मरेपछि फर्केर बागलुङ आएको सुवेदीले बताए ।

“मनग्ये आम्दानी कमाई भइरहेको थियो तर एकैपटक बर्डफ्लु आएपछि सबै घाटामा गयो, त्यसले निराश भएर बागलुङ फर्के, त्यसयता राम्रो भइरहेको थियो, गत वर्ष कुखुराका चल्लाले अण्डा नदिएपछि ६० लाख घाटा पर्यो । अहिले राम्रो छ, पोहोरको घाटालाई अहिलेको नाफाले सघाएको छ”, उनले भने ।

“पोहोर ५२ सय चल्ला हालेँ, तर एक सय ५० वटाले मात्र अण्डा पारे अरुले पारेनन्, ११ महिनाको अवधिमा राम्रो अण्डा नआउँदा र दाना खर्चमा झण्डै ७० लाख खर्च भयो”, सुवेदीले भने, “यो पेसामा प्राविधिक रूपमा जानकारी भएमा आम्दानी प्रशस्त गर्न सकिन्छ । जोखिम नियन्त्रणका लागि केही रकम सङ्कलन गर्नसक्ने हो भने घाटा छैन ।”

फार्ममा उत्पादित अण्डा आफैँले गाडीमार्फत म्याग्दी, पर्वत र बागलुङ बजारमा बिक्री गर्दै आएको उनले बताए ।

प्रकाशित मिति: मङ्गलबार, २९ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.