इटहरीमा उपप्रमुखले लगाएको ताला प्रमुखले फुटाइदिए

Satya Sanchar सत्य सञ्चार

विराटनगर । इटहरी उपमहानगरपालिकाकाे प्रशासन शाखामा उपप्रमुखले लगाएको ताला पालिका प्रमुखले फुटाएका छन् ।

गत माघ ११ गते उपप्रमुख संगीता चौधरीसहित एमालेबाट निर्वाचित वडाध्यक्षहरुले प्रशासन प्रमुख संजिव खड्काको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।  बुधबार पालिका प्रमुख हेमकर्ण पौडेलले फुटाएका हुन् ।

पाैडेल कांग्रेसबाट निर्वाचित मेयर हुन् । केन्द्रमा कांग्रेस एमालेबीच सरकार बनेपनि इटहरीमा दुई पार्टीका जनप्रतिनिधिबीच बेमेल छ ।

ताला फुटाएपछि उनले विज्ञप्ति जारी गर्दै सहमतिमा अघि बढ्नका लागि बोलाइएको छलफल निष्कर्षमा नपुगेपछि ताला फोडिएको बताए ।

‘कर्मचारी ट्रेड युनियनहरुद्वारा आन्दोलनको कार्यक्रमसहित प्रेस विज्ञप्ति जारी भएको अवस्थामा मिति २०८१ माघ २३ गते मेरो कार्यकक्षमा उपप्रमुखसहित जनप्रतिनिधिहरु सँग समस्या समाधानका निम्ति छलफल हुँदा समेत प्रशासन शाखामा लगाइएको ताला खोल्ने विषयमा सहमति नभएको व्यहोरा जानकारी गराउदछु,’ उनले भनेका छन्, ‘सहमति नभई प्रशासन शाखामा २०८१ साल माघ ११ गते देखी लागेको ताला नखुल्दा कार्यलयको दैनिक काम काजमा समेत बाधा पुग्न गएको, वडा कार्यालयहरुको सेवासमेत प्रभावित भई सेवाग्राहीहरुलाई सेवा लिन कठिनाइ भएकोले स्थानीय सरकार प्रमुखको नाताले नगरबासी र सेवाग्राहीको समस्यालाई हृदयङ्गम गर्दै प्रशासन शाखामा लगाइएको ताला खोली कार्यलयबाट प्रदान गरिने सेवालाई नियमित सुचारु गर्न आवश्यक भएकोले उक्त ताला फोडी काम सुचारु गर्न गराउन बाध्य भएको छु ।’

गत माघ ११ गते शुक्रबार वडा कार्यालयको सर्भर डाउन गरिदिएपछि उपमेयरसहित एमालेका वडाध्यक्षहरुसँग प्रशासन शाखा प्रमुख सञ्जीव खड्काको भनाभन भएको थियो । भनाभनपछि जनप्रतिनिधिले खड्कालाई बाहिर निकालेर उनको कार्यकक्षमा ताला लगाइदिएका थिए ।

कर्मचारी र एमालेबाट निर्वाचित जनप्रतिनिधिको लडफाको कारण कर्मचारीको सरुवा हो । गत पुस २८ गते मेयर हेमकर्ण पौडेल र प्रमुख कार्यकारी अधिकृत रामचरित्र मेहताले ७७ जना कर्मचारीको सरुवा गरेका थिए । कर्मचारीको सरुवाको निर्णयपछि पौडेल उपमेयर संगीताकुमारी चौधरीलाई कार्यबहाक दिएर बिदा बसे, उनी १३ गते आइतबार मात्रै कार्यालयमा हाजिर भए ।

कर्मचारी सरुवा गर्दा पक्षपात गरेको भन्दै ३ माघमा उमपेयर चौधरीको अध्यक्षतामा बसेको बहुमत कार्यपालिका सदस्यको बैठकले सरुवाको निर्णय उल्टाएको थियो । कर्मचारी सरुवा गर्दा मेयर पौडेलले छलफल नगरी कांग्रेसले नेतृत्व गरेको वडा नम्बर १,६ र १३ सहितका वडा बाहेक एमालेले नेतृत्व गरेका वडाका कर्मचारीको सरुवा गरेको एमाले जनप्रतिनिधिको गुनासो छ । प्रमुख पौडेलले ताला फुटाएपछि उपप्रमुखले लिखित रुपमा माफी माग्नु पर्ने माग गर्दै आन्दोलनमा रहेका कर्मचारीले आन्दोलन फिर्ता गरेका छन् ।

प्रकाशित मिति: बुधबार, २३ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.