आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अर्थात वसन्त पञ्चमी पर्व आज (सोमबार) परेको छ । विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआराधना गरेर श्रीपञ्चमी पर्व मनाउने परम्परा छ ।

विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजाआराधना गरेर देशभर श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या वृद्धि हुने जनविश्वास छ ।

काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वती मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्नेहरुको भिड लाग्छ । खासगरी छात्रछात्राको घुइँचो लाग्छ । धेरैजसो विद्यालय र क्याम्पसहरुमा सरस्वती पूजा गरिन्छ ।

यस दिन बालबालिकालाई शिक्षारम्भ गराउनुका साथै नाक–कान छेडिदिने गरिन्छ । सरस्वती पूजामा लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । ‘गान्धर्व पुराण’मा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीको रूपमा पूजाराधना गर्छन् । यसैगरी तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्ने गरिन्छ ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्तपञ्चमी’ पनि भन्ने गरिन्छ । यसै यामदेखि वन ढकमक्क हुन्छ । प्राकृतिक रुपमै रमाइलो वातावरणको अनुभव हुन्छ ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजोपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्वृद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही)जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भनिन्छ ।

कुनै पनि नयाँ काम सुरु गर्दा फाइदा हुन्छ भन्ने जनविश्वास छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र वृद्धि स्फुरण भइ विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्ने गर्छन्।

सरस्वती पूजाका दिन हनुमानढोका दरबारको नासल चोकमा वसन्त श्रवण गर्ने गरिन्छ । देशका विभिन्न मन्दिर र सैक्षिक संस्थामा धुमधामसाथ सरस्वतीको पूजाआराधना गरिन्छ ।

प्रकाशित मिति: सोमबार, २१ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.