उमागौरी सहकारी अध्यक्ष कारागार चलान

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जिल्ला अदालत मोरङले धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ ।

सहकारीको रकम अपचलन मुद्दामा थुनछेक बहसपछि जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजलासले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

आदेशपछि उनी कारागार चलान भएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

उमागौरी सहकारी ठगी प्रकरणका मुख्य आरोपी रौनियार हुन् । उनकै सक्रियतामा स्थापना भएको यो सहकारीको रकम अपचलन मुद्दामा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला पनि प्रतिवादी छन् ।

अध्यक्ष रौनियार र सांसद पत्नी कोइरालासहित यो मुद्दामा २६ जनालाई प्रतिवादी बनाएर मंसिर २७ गते ‘सहकारीको रकम अपचलन मुद्दा’ दायर भएको थियो । २८ मंसिरमा जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक रोशन राजवंशीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । २६ जनासँग २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबी छ ।

सहकारी संस्थाले आफ्ना सदस्यको कागजात अन्य बैंकमा राखेर कर्जा लिने तर सदस्यलाई थोरै ऋण लगानी गरे बाँकी आफै प्रयोग गर्ने गरेका थिए । सहकारीका सदस्यले सहकारीमा ऋणको किस्ता तिर्दै आएका थिए । तर बैंकले सहकारीका सदस्यलाई किस्ता नतिरेको भन्दै ताकेता गरेपछि ठगीको रहस्य खुलेको थियो ।

सहकारी समस्यामा परेपछि पछिल्लो डेढ वर्षयता रौनियारले सहकारी बन्द गरेका थिए । २७ मंसिरमा मुद्दा दायर भएपछि उनी फरार भएका थिए । गत सोमबार अदालतमा उपस्थीत भएका उनको शुक्रबार बयान सकिएको थियो । यो बीचमा ३ दिन बिदा थियो, रौनियारको बयान तीन दिनसम्म चल्यो ।

सहकारीको रकम अपचलन मुद्दामा पुस २४ गते अदालतमा उपस्थित भएकी अञ्जला अदालतले धरौटीबापत माग गरेको १० लाख रूपैयाँ बुझाएर छुटेकी थिइन् । रंगेली नगरपालिका– २ का वडाध्यक्ष सन्तलाल खवास ५ लाख धरौटी बुझाएर छुटेका थिए ।

प्रकाशित मिति: आइतबार, २० माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.