विराटनगर । भारतीय बालिका १४ वर्षीया चाँदनी यादवको विराटनगरमा हत्यापछि खाल्डाे गाडिएको अवस्थामा शव फेला परेकाे छ । उनी बाबुआमासँगै करिब १ महिनाअघि विराटनगर महानगरपालिका–५ विशालचोकको कलेर्वा टोलस्थित मामाघर आइन् ।
निक्कै दिन बसेका बाबु लालमोहन यादव र आमा राजकुमारी मण्डल यादव छोरी चाँदनीलाई नलिइकन भारतस्थित घर फर्किए । तर, चाँदनी मामाघरमा पनि देखिइनन् । एकाएक बेपत्ता भइन् । बाबुआमा मात्रै फर्किएको देखेका छिमेकीले चाँदनीलाई मामाघरमा नदेखेको निक्कै दिन भइसकेको थियो ।
त्यसअघि पनि बेलाबखत उनी मामाघर आइरहन्थिन् । मामाघर भएको स्थानका छरछिमेकीले चाँदनीलाई राम्ररी चिन्छन् । चाँदनीलाई नलिइकन बाबुआमा मात्रै घर फर्किएको र उनी पनि मामाघरमा नदेखिएपछि स्थानीयले शंका गरे ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार मामाघर आएकी बालिका ८-१० दिनदेखि नदेखिएको र गाउँमा बालिका हराएको हल्ला चलेपछि छिमेकीले शुक्रबार बिहान जानकारी गराए । त्यसलगत्तै डीएसपी जोशी नेतृत्वको टोलीले चाँदनीको मामाघर खानतलासी गर्दै सोधपुछ गर्न थाल्यो ।
मामाली हजुरबुवा सरजुग मण्डललाई प्रहरीले नियन्त्रणमा लियो । उनले नातिनी यसअघि नै भारतस्थित घर गइसकेको बताए । त्यसपछि भारतको छपरामा रहेका बाबुआमासँग प्रहरीले ‘वाट्सएप’मार्फत सम्पर्क गर्यो । बाबु लालमोहन र आमा राजकुमारीले छोरी चाँदनी मामलीमै रहेको बताए ।
‘दुई पक्षको कुरा बाझिएपछि घटना झन् शंकास्पद बन्यो । थप सोधुपछ गर्दै गएपछि बाबुआमाले छोरी आफूहरुसँगै रहेको भनेर कुरा फेर्न थाले,’ डीएसपी जोशी भन्छन्, ‘आमाले त मेरो छोरीका बारेमा तपाईंहरुलाई किन चासो पर्योसमेत भनिन् । निर्धक्कसाथ बोलिरहेका हजुरबुवाले वास्तविक कुरा खुलाउनै चाहेनन् ।’ उनका अनुसार हजुरबुवा सरजुगले केही थाहा नपाएजस्तो व्यवहार देखाए ।
मामली हजुरबुवा र बाबुआमाको कुरा बाझिएपछि त्यतिबेलै प्रहरी चाँदनीको हत्या भइसकेको निष्कर्षमा पुगेको थियो । अनि मामाघर वरपर थप खोजी सुरु गर्यो । घरदेखि १ सय २५ फिट दक्षिणतर्फको आँप र अम्बाको रुख मात्रै भएको जमिनमा केही समयअघि मात्रै खनेजस्तो देखिने आलो माटो भेटियो । वरपर तोरीको गट्टे (दाना झारिसकिएको तोरीको बोट)ले छोपिएको थियो ।
त्यो ठाउँमा उत्खनन गर्दा चाँदनीको शव फेला परेको डीएसपी जोशीले बताए । ‘भर्खरै खनेको खाल्डो देखियो । जुन खाल्डोलाई माटोले पुरेर माथिबाट आलो गोबर थुपारिएको रहेछ । त्यसलाई तोरीको गट्टेले छोपिएको थियो । सबै हटाएर हेर्दा बालिकाको शव फेला पर्यो,’ उनले भने ।
हत्या गरेर खाल्डोमा गाडेको अवस्थामा बालिकाको शव भेटिएको जानकारी जोशीले दिए । उनका अनुसार ४ फिट गहिरो खाल्डोमा घोप्टो पारेर सुताएको कपडासहितको शव फेला परेको हो । ‘मामली हजुरबुवाले कुरा लुकाए’ उनी भन्छन्, ‘तर, सुक्ष्म अनुसन्धान गर्ने क्रममा गाडेको शव पत्ता लगाइयो ।’
सडेर दुर्गन्धित भइसकेको अवस्थामा बालिकाको शव फेला परेको हो । उत्खनन गर्दै प्रहरीले खाल्डोबाट निकालेर पोस्टमार्टमका लागि कोशी अस्पताल लगेको छ । ‘चाँदनीको हत्या कहिले, कसरी र को को मिलेर गरेका हुन् भन्ने यकिन भइसकेको छैन । विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ,’ डीएसपी जोशीले भने ।
प्रहरी स्रोतका अनुसार मामली हजुरबुवा र उनका परिवार तथा बालिकाकै बाबुआमाको मिलेमतोमा हत्या गरेको हुनसक्छ । प्रहरीले सोधीखोजी गर्दा वास्तै नगर्नुले बाबु र आमाको भूमिका शंकास्पद देखिएको प्रहरीको भनाइ छ । यद्यपि, अनुसन्धानपछि यकिन हुने जोशीले बताए ।
‘बालिकाको शव फेला परेपनि बाबुआमा, मामली हजुरबुवासहित परिवारका सदस्यले शंकास्पद व्यवहार देखाइरहेका छन् । कसैको पनि कुरा मिल्दैन । बोली नै एकअर्कामा बाझिन्छ । सुरुमा पनि कुरा नै बाझिएकैले घटना पत्ता लागेको हो,’ जोशी भन्छन् । उनका अनुसार घटनाको प्रकृति हेर्दा हत्या १०-१२ दिनअघि नै भएजस्तो देखिन्छ ।
घटनापछि चाँदनीका मामली हजुरबुवा अन्दाजी ५७ वर्षीय सरजुग मण्डल, उनकी पत्नी जानकी मण्डल, सरजुगका भाइ पर्ने बतासी मण्डल, रामबाबु मण्डल, छोरी उर्मीला मण्डल, नातिनी अञ्जली मण्डल र नाति बबिदेवल मण्डललगायत ८ जनालाई नियन्त्रणमा लिएर प्रहरीले थप सोधपुछ एवं अनुसन्धान गरिरहेको छ । बतासीबाहेक अरु सबै जना एउटै घरमा बस्थे । उनको घर भने सरजुगको नजिकै छ ।
उर्मीला सरजुगकी जेठी छोरी एवं मृतक चाँदनकी ठूलीआमा हुन् । अञ्जली उर्मीलाकी छोरी तथा बबिदेवल छोरा हुन् । उर्मीलाको पतिको यसअघि नै निधन भएको थियो । त्यसपछि उनी छोराछोरीसहित माइतीमै आएर बस्न थालेको पाइएको प्रहरीले जनाएको छ ।
रामबाबु चाँदनीका मामा एवं सरजुगका छोरा हुन् । मृतक चाँदनीकी आमा राजकुमारी सरजुगकी माइली छोरी हुन् । राजकुमारीका २ छोरा र १ छोरी थिए ।
आफन्तले प्रहरीलाई दिएको जानकारी अनुसार हत्या गरिएकी चाँदनीको भारतमै एक व्यक्तिसँग प्रेम सम्बन्ध थियो । ती व्यक्तिसँग छुटाउन उनलाई बाबुआमाले मामाघर ल्याएको जानकारी प्रहरीले पाएको छ । मामाघर ल्याउनुको उद्देश्य झारफुक पनि थियो । चाँदनीका मामली हजुरबुवा सरजुग गाउँमा धामीझाँक्रीको काम गर्छन् ।
‘चाँदनीलाई प्रेम सम्बन्धमा रहेका व्यक्तिबाट छुटाउन मामाघर ल्याउने र धामी लगाउने योजना रहेछ । योजना अनुसार नै बाबुआमाले मामाघर लिएर आएका रहेछन्,’ प्रहरी स्रोतले भन्यो, ‘बाबुआमा पनि निक्कै दिन बसेर घर फर्किएको पाइयो । तर, मामाघरमै हत्या गरेर गाडेको अवस्थामा चाँदनीको शव भेटियो ।’
मृतक बालिकाका दाजु बबिदेवल मण्डल (ठूलीआमाको छोरा)का अनुसार चाँदनी १ महिनाअघि मामा घर आएकी थिइन् । उनी भने १ साताअघि सालोको बिहेका लागि ससुराली घर गएका थिए । दुई दिनअघि फर्किएर आफूले बहिनीका बारेमा सोधीखोजी गरेको उनी बताउँछन् ।
‘बहिनी कहाँ गयो ? भनेर सोध्दा, उसकै घर गयो भन्ने जवाफ मलाई दिए । घर गएको होला भनेर मैले खासै वास्ता गरिन । आफ्नो काम गर्न थालें,’ बबिदेवल भन्छन्, ‘उहाँ (भारतमा) एउटा केटासँग ‘लभ’ चल्दैथियो । छुटाउनका लागि यता ल्याइएको हो । अहिले हत्या गरेर गाडेको अवस्थामा शव भेटियो ।’ शुक्रबार बिहान प्रहरी पुगेपछि बाहिर रहेका उनी काम छाडेर घर फर्किएका थिए ।‘प्रहरीले यस्तो अवस्थामा शव भेट्यो । सबै आफन्त नै छन् । को माथि शंका गर्नु ?,’ उनले प्रश्न गरे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)