विराटनगर । विराटनगरकाे रानी नाकादेखि संखुवासभाको किमाथांका हुँदै चीन जोड्ने सडकको सोमबार ‘ब्रेक थ्रु’ गरिएको छ ।
कोशी राजमार्गअन्तर्गत संखुवासभाको सदरमुकाम खाँदबारीदेखि चीनसँग सीमा जोडिएको किमाथांका नाकासम्मको १ सय ५८ किलोमिटर सडकको ‘ट्रयाक’ खोल्ने काम सम्पन्न भएसँगै संघीय सरकारका ३ जना मन्त्रीको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरिएको हो । खाँदबारी–किमाथांका सडकअन्तर्गत च्याम्ताङदेखि घोङघोप्पासम्मको साढे १० किलोमिटर सडकको चट्टानसहितको भिर नेपाली सेनाले फुटाएर ‘ट्रयाक’ खोलेको हो ।
सडकको भोटखोला गाउँपालिका–१ च्याम्ताङमा संखुवासभाका प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरिएको छ । सडकको ‘ब्रेक थ्रु’सँगै भारतदेखि चीनसम्म जोड्ने कोशी राजमार्गअन्तर्गतको सडक स्तरोन्नतिको काम हुनेछ ।
सडकको ‘ब्रेक थ्रु’का लागि मन्त्री खड्काले निरन्तर पहल गर्दै आएका थिए । गत पुस १२ गते रक्षामन्त्री राई र निर्माणमा संलग्न नेपाली सेनाको टोलीलाई भेटेर सडक चाँडो सम्पन्न गर्न ध्यानाकर्षण गराएका थिए ।
मन्त्री खड्काले खाँदबारी–किमाथांका सडक जोडिएसँगै त्रिदेशीय पारवहनमा सहजता हुने बताए । त्रिदेशीय नाका जोड्ने उक्त सडक सञ्चालनमा आएपछि नेपाल–भारत र चीनका साथै बंगलादेशले फाइदा लिनसक्ने उनको भनाइ छ ।
सडक स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गर्न मन्त्री खड्काले भौतिक पूर्वाधार मन्त्रालयलाई आग्रह गरेका छन् । किमाथांका क्षेत्र हुँदै अरुण नदीको बहाव रहेकाले उक्त क्षेत्रमा अन्य जलविद्युत आयोजना निर्माण गर्न सकिने उनको भनाइ थियो ।
रक्षामन्त्री राईले नेपाली सेनाद्वारा निर्माण भइरहेको सडक मुलुकको विकासमा महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको बताए । उनले समयअगावै सडकको ‘ट्रयाक’ खोल्ने काम सम्पन्न गरेकोमा नेपाली सेनालाई धन्यवाद दिए । पूर्वको किमाथांका नाका, पश्चिमको हिल्सा नाका र केरुङ नाकालाई सरकारले प्राथमिकतामा राखेको जानकारी मन्त्री राईले दिए । उनले बाँकी काम सेनाले चाँडो सम्पन्न गर्नुपर्ने बताए ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले उक्त सडकखण्डको बाँकी काम सम्पन्न गर्न आवश्यक बजेट अभाव हुन नदिने बताए । उनले सडकखण्डमा पर्ने पुल निर्माणका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्ने उल्लेख गरे ।
भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले सडक निर्माणले भोटखोलाको आर्थिक विकासमा सहयोग पुग्ने बताए । सडकको ‘ब्रेक थ्रु’सँगै संखुवासभा र उत्तरी भोटखोलासहित सिंगो मुलुकका लागि सुनौलो दिनको सुरुवात भएको उनको भनाइ छ ।
‘ब्रेक थ्रु’ कार्यक्रममा आफूले गरेको कामको प्रगतिबारे नेपाली सेनाले जानकारी गराएको थियो । सेनाले सडक निर्माणका लागि बजेट अपुग रहेको भन्दै बजेट सुनिश्चित गरे सडक चौडाइको काम चाँडो सम्पन्न गर्न सकिने जनाएको छ ।
२०७६ साल भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनालाई सडकको ‘ट्रयाक’ खोल्न दिने निर्णय गरेको थियो । त्यसपछि सेनाले विस्फोटक पदार्थको प्रयोग गरेर कडा चट्टान फोर्न थालेको हो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)