विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिको आधार क्षेत्र हो विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस हुँदै सक्रिय राजनीति हुँदै सर्वाेच्च जिम्मेवारीमा (राष्ट्रपति) पुगेकी भण्डारी फेरि सक्रिय राजनीतिको तयारीमा छिन् । सोही तयारीका लागि उनी विराटनगर आएकी छन् । साेमबार विराटनगर आएकी उनी एक साता विराटनगर बस्नेछिन् ।
विराटनगरको होटल बिगमा कार्यकर्ता भेटघाटपछि आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘दलीय राजनीतिमा लागेर पद जिम्मेवारी लिने कि नलिने भन्ने कुरामा मैले अहिले प्रवेश गरेकी छैन । भोलि जाँदा एमालेबाटै जन्मेर हुर्केर आएको हुनाले त्यही जानुपर्ने हुन्छ ।’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विद्यार्थी राजनीति सुरु गरेको जिल्ला हो, मोरङ । २०३० को दशकमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट राजनीतिक जीवन थालेकी थिइन् । राष्ट्रको प्रथम नागरिक भइसकेर फेरि राजनीतिक जीवनमै फर्कन चाहेकी उनले अर्को अध्यायको सक्रियता पनि पुरानै आधारक्षेत्र मोरङबाटै थाल्ने संकेत गरेकी छिन् ।
एमालेका वैचारिक नेता तथा पूर्वमहासचिव मदन भण्डारीसँग विद्याको विवाह मोरङमै भएको थियो । मदनको घर मोरङको इटहरामा पर्छ ।
भण्डारी आफूले विराटगर विताएका विगतका दिनहरुको स्मरणका लागि विराटनगर बस्न आएको बताएकी छन् ।
अबको ६ दिन उनी बिग होटलमा बस्ने कार्यक्रम छ । सोही होटलमा भेटघाटको समयतालिका मिलाउने जिम्मेवारी भने एमाले मोरङका सहसचिव सोमराज थापाले पाएका छन् । उनका अनुसार १९ गते यो भ्रमणको अन्तिम कार्यक्रम कार्यक्रम छ ।
दैनिक १–२ वटा मात्रै कार्यक्रम राखेकी भण्डारीले अधिकांंश समय नेता कार्यकर्ता भेटघाट गर्नेछिन् । सोमबार बिहान नेताहरूसँग भेटघाट गरेकी उनले दिउँसो महिला नेता कार्यकर्ताहरूलाई बोलाएकी थिइन् । पत्रकार सम्मेलनपछि भने विद्यार्थीसँग छलफल गरिन् ।
विद्यार्थीसँगको छलफलपछि उनले पार्टीका नेताहरुसँग छुट्टाछुट्टै भेटघाट गरिन् । भोलि मंगलबार इटहरीमा पनि भेटघाटको कार्यक्रम तय भएको छ ।
भण्डारी २०४०–०४१ को महेन्द्र मोरङ स्ववियु कोषाध्यक्ष थिइन् । एमाले उपाध्यक्ष हुँदा पनि उनी पूर्व क्षेत्रमा बढी सक्रिय थिइन् । ‘हिजो विद्यार्थी राजनीति सुरु गरेका ठाउँ भएकाले उहाँले विराटनगरमा अलिक बढी छलफल गर्नु चाहानु भएको छ,’ भण्डारी निकट एमालेका एक नेताले भने, ‘यो भेटघाट सक्रिय राजनीतिकै तयारी हो ।’
एमाले स्रोतका अनुसार भण्डारीसँग नेताहरूको भेटघाटको व्यवस्थापन एमाले मोरङका पूर्वअध्यक्ष विनोद ढकालले गरेका छन् । ढकाल एमाले अध्यक्ष केपी शर्मा ओलीबाट पछिल्ला वर्षहरुमा पाखा पारिएका नेता हुन् ।
एक वर्षअघि कोशी प्रदेश अधिवेशनमा ओलीको इच्छा विपरीत पार्टी अध्यक्षमा उठेका उनी घनश्याम खतिवडासँग पराजित भएका थिए ।
प्रदेश अध्यक्ष खतिवडा पूर्वराष्ट्रपति भण्डारी सहभागी हुने सार्वजनिक कार्यक्रमबाहेक अन्य भेटघाटको विषयमा आफूलाई जानकारी नभएको बताउँछन् । ‘सात दिन उहाँ विराटनगरमा रहनुहुन्छ, इटहरीको जनता स्कुल, मनमोहन विश्वविद्यालय, मदन भण्डारी ट्रमा सेन्टर, मदन भण्डारी स्मृति प्रतिष्ठानलगायत क्षेत्रमा अवलोकन र कार्यक्रमका लागि पुग्नुहुनेछ,’ उनले भने, ‘त्यस बाहेक सामान्य भेटघाट हुनेछन् ।’
सोमबार पत्रकार सम्मेलनमा सक्रिय राजनीतिमा आएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई शुभकामना व्यक्त गरेकी भण्डारीले आफू पनि आउने संकेत गरिन् ।
‘राष्ट्रपति पद गैरराजनीतिक होइन । राष्ट्रिय राजनीतिमा म सक्रिय नै छु,’ उनले भनिन्, ‘राष्ट्रिय राजनीतिका समग्र एजेन्डामा सबै पक्षहरूसँग छलफल गरिरहेको छु । शिक्षा, स्वास्थ्य, खानेपानी, जलवायु परिवर्नत, वैदेशिक रोजगारीमा जानुपर्ने युवाको बाध्यताजस्ता समस्या समाधानका लागि छलफल चलाइरहेको छु ।’
नेकपा (एमाले)को भावी अध्यक्षको भूमिका आउन चाहनुभएको हो भन्ने प्रश्नमा उनले भनिन्, ‘जहाँसम्म दलीय राजनीतिमा लागेर पद जिम्मेवारी लिने कि नलिने भन्ने कुरामा मैले अहिले प्रवेश गरेकी छैन । भोलि कुन दलमा काम गर्ने भन्ने कुरा पनि आउँछ । भोलि जाँदा एमालेबाटै जन्मेर हुर्केर आएको हुनाले त्यही जानुपर्ने हुन्छ । तर, अहिले छलफल भएको छैन ।’
पूर्वउपराष्ट्रपतिको विषयमा भने खुलेर बोलिन् । ‘उहाँ युवा हुनुहुन्छ । अनुभव छ । राजनीति गरेर आउनु भएको हो,’ उनले भनिन्, ‘म राष्ट्रपति र उहाँ उपराष्ट्रपति भएर ७ वर्ष सहकार्य गरेको हो । खुसी नै लागेको छ । उहाँलाई मेरो शुभेच्छा छ ।’
दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारी अब एमालेको अध्यक्ष बन्नेगरी राजनीतिमा आउने तयारीमा छिन् । ‘तत्काल व्यक्त नगरेपनि भेटघाटको उद्देश्य सक्रिय राजनीति नै हो,’ भण्डारीको समूहमा अर्का नेताले भने, ‘परिस्थीति मिलेपछि उहाँले सक्रिय हुनुहुन्छ ।’
एमालेभित्र अध्यक्ष ओलीबाट हेपिएको भनेर चर्चा गरिने समूह अचेल भण्डारीको खेमामा छन् । नेकपा एमालेको नेतृत्वमा माधवकुमार नेपाल हुँदा मदन भण्डारी फाउण्डेशनमार्फत् केपी शर्मा ओलीले आफ्नो समूहको विस्तार गरेका थिए ।
अहिले माधवकुमार नेपाल एमाले छाडेर एकीकृत समाजवादी पार्टीको नेतृत्वमा छन् । हिजो ओलीलाई फाउण्डेशनमार्फत् गुट निर्माणमा सहयोग गरेकी भण्डारी अहिले सोही फाउण्डेशन र ओलीसँग असन्तुष्ट बनेका नेताहरूलाई भेला पारेर सक्रिय राजनीतिमा आउने होमवर्क गरिरहेकी छन् ।
राजनीतिक विश्लेषक कृष्ण पोखरेल भने अस्थिर राजनीति भएको मुलुकमा पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउनु अनौठो नभएको बताउँछन् । एमालेभित्र अध्यक्षबाट पेलिएको समूहले भण्डारीलाई राजनीतिमा ल्याउन खोजिरहेको उनको भनाई छ ।
‘मुलुकको राजनीतिको माग के छ त्यसमा पनि भर पर्छ, सही ढंगले मुलुकको राजनीति चलेको अवस्थामा कसैले फर्केर हेर्देन थिए, पूर्वराष्ट्रपति आफ्नो सम्मानित ठाउँमा बस्नुपर्छ भन्ने अर्थमै जान्थ्यो,’ उनले भने, ‘तर मुलुकको परिस्थिति राम्रो छैन, हिजो राष्ट्रपति भएकै कारणले सक्रिय राजनीतिमा आउनु हुँदैन भन्ने विषय व्यक्तिको आफ्नो मापदण्डको विषय हो ।’
‘मेरो सहभागीताले यो परिस्थितिमा केही परिवर्तन ल्याउनसक्छु भन्ने कुनै पात्रलाई लाग्छ भने राजनीतिमा आउनुलाई पहाडै खस्यो भन्ने अर्थमा बुझ्न हुँदैन,’ उनी भन्छन्, ‘जुन पार्टीबाट उहाँ राष्ट्रपति हुनुभयो त्यो पार्टी निरङ्कुशता हावी भएर निसास्सिएर बसेका छन् कार्यकर्तालाई चाहिँ ‘त्राण’ पाउँछौं कि भन्ने हुनसक्ला ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,460)
जीवन विकासले बोलायो साधारणसभा (2,425)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,386)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,373)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,243)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,175)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,585)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,562)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,131)