म्याग्दी । रोजगारको सिलसिलामा १४ वर्ष विदेशमा बिताएका अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेमलाल मगर गाउँमै सुन्तला खेती गर्छन् । खेतीले उनलाई आत्मनिर्भर बनाएको छ ।
१२ वर्षअघि करिब तीन रोपनी बारीमा सुन्तला रोपेका मगरको सुन्तला बगैँचामा ९० वटा बोटले फल दिन्छन् । यस वर्ष बगैँचाबाटै १० लाखको सुन्तला बिक्री भएको मगरले बताए ।
‘पहिले घरपरिवारको आर्थिक स्रोतकै लागि ११ वर्ष कतार र तीन वर्ष दुबईमा काम गरेँ,’ उनले भने,‘अहिले सुन्तलाले उत्पादन दिन थालेपछि विदेश जान छोडेको हुँ, अहिले आफ्नै सुन्तलाबारीमा पसिना बगाउँदा आनन्द लाग्छ ।’
केही वर्ष अघिसम्म दोसल्लेका अधिकांश परिवारका लागि रोजगारीका लागि विदेश जानु बाध्यता थियो । तर अहिले गाउँ कृषिबाट आत्मनिर्भर बनेको छ । गाउँका अधिकांश परिवारले व्यावसायिक रूपमा सुन्तला खेती गरिरहेका छन् । कूल ४२ घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा यसवर्ष सुन्तलाबाट एक करोड ६० लाख रुपैयाँ बढी भित्रिएको छ ।
पोखरा र काठमाडौंका व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गरेपछि अहिले धमाधम सुन्तला टिप्ने काम भइरहेको छ ।
दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेम पाइजाले अघिल्लो वर्ष गाउँबाट ८० लाख रुपैयाँको सुन्तला बिक्री भएकोमा यसवर्ष दोब्बरले आम्दानी बढेको जानकारी दिए ।
दोसल्लेका सबै घरमा सुन्तला खेती गरिएको छ । गाउँबाट बसाइँसराइ रोकिएको छ । पहिले बेनी, पोखरालगायतका ठाउँमा बसाइँसराइ गरेकालेसमेत गाउँमा फर्किएर बाँझिएको जग्गामा सुन्तला रोपण गरेका छन् ।
‘पहिले गाउँमा सामान्य जीविकोपार्जन गर्नसमेत कठिन थियो, गाउँमा आम्दानीको कुनै स्रोत थिएन, आज सुन्तला खेतीले स्थानीयलाई आर्थिक लाभ दिएको छ, कृषिबाटै गाउँलेको जीवनस्तर बदलिएको छ,’ पाइजाले भने ।
उनका अनुसार दोसल्लेमा १० हजार सुन्तलाका बोट छन् । २०६८ सालमा पोखराबाट माटो परीक्षण विभागबाट विज्ञ ल्याएर माटो परीक्षण गरी सुन्तला खेतीमा लागेका दोसल्लेवासीले हरेक वर्ष सुन्तला खेतीलाई विस्तार गर्दै लगेका छन् । परम्परागत रूपमा धान, मकै, कोदो, भटमास हुने खेतबारी सुन्तलाले ढाकिएको छ । नयाँ बोटलेसमेत फल दिन सुरू गरेकाले अबको केही वर्षमा यस गाउँमा सुन्तलाबाट वार्षिक तीन करोड बढी रकम भित्रने स्थानीयवासीको अनुमान छ ।
दोसल्लेका सबै घरमा सुन्तला खेती गरिएको छ । गाउँबाट बसाइँसराइ रोकिएको छ । पहिले बेनी, पोखरालगायतका ठाउँमा बसाइँसराइ गरेकालेसमेत गाउँमा फर्किएर बाँझिएको जग्गामा सुन्तला रोपण गरेका छन् । विभिन्न पेसा, व्यवसायमा लागेकासमेत अहिले दोसल्लेमा सुन्तला खेतीमा लामबद्ध भएका छन् । बेनीमा व्यवसाय गर्दै आभएका विकास श्रेष्ठलेसमेत दोसल्लेमा व्यावसायिक सुन्तला खेती गरेका छन् । अन्नपूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरलेसमेत सुन्तला खेतीलाई विस्तार गरेकी छन् ।
खेतीयोग्य जमिन सबैमा सुन्तला रोप्ने अभियान चलेको दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहले जनाएको छ । दोसल्लेमा विगत करिब १३ वर्षदेखि सुन्तला खेती हुँदै आएको छ । सुन्तलाबाट राम्रो नगद आम्दानी हुन थालेपछि यहाँका किसान परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तला खेती विस्तारमा जुटेको स्थानीय मायादेवी गर्बुजाले जानकारी दिइन् ।
सुन्तला गाउँको रूपमा विकास भएको दोसल्लेका स्थानीय कामको खोजीमा भौतारिनुपर्ने बाध्यता हटेको छ । बिहानदेखि बेलुकासम्म आफ्नै खेतबारीका सुन्तला बगैँचाको स्याहार गर्ने र आफ्नै घरपरिवारसँग गाउँमै बसेर सुन्तला फलाएर आयआर्जन हुन थालेपछि दोसल्लेबासीको मुहारमा खुसी र जीवनमा सन्तुष्टि छाएको छ । गाउँमा सुन्तला खेतीसँगै आलुलगायतका तरकारीखेती, बाख्रापालन, कुखुरापालन लगायतको व्यावसायिकताले यो गाउँ आत्मनिर्भर र समृद्ध बन्ने बाटोमा छ ।
सुन्तला खेती विस्तार, रोगकीराको उपचार, औजार उपकरण खरिद र सिँचाइ विस्तारमा बाली संरक्षण विभाग पोखरा, कृषि ज्ञान केन्द्र, सुन्तला जोन र अन्नपूर्ण गाउँपालिकाबाट भएको सहयोगले सुन्तलाको व्यावसायिकखेतीमा हौसला थपेको समूहका अध्यक्ष पाइजाले जानकारी दिए । जिल्लामा यसवर्ष ३३ करोड ४६ लाख रुपैयाँको सुन्तला बिक्री भइसकेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिए ।
म्याग्दीमा आठ सय २० हेक्टर जमिनमा सुन्तला खेती हुँदै आएकोमा चार सय २५ हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ । किसानको बगैँचाबाटै प्रतिकिलो ६० देखि एक सय २० रुपैयाँसम्मको मूल्यमा व्यापारीले सुन्तला खरिद गरेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)