ताप्लेजुङ घटनाका घाइतेलाई काठमाडाैं लाने तयारी

Satya Sanchar सत्य सञ्चार
घाइतेहरु

विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ मा प्रहरी र  केबलकार विराेधी पक्षबीचकाे झडपमा घाइते भएका तीन जनालाई थप उपचारका लागि काठमाडाैं लगिने भएकाे छ ।

प्रहरीले चलाएकाे गाेली लागेर यामबहादुर लिम्बू,सगुन लावती गम्भीर घाइते छन् । झडपका क्रममा भिरबाट लडेका धर्म पालुङ्वाकाे अवस्था पनि गम्भीर छ ।

अस्पताल स्राेतका अनुसार सगुन लावतीकाे छातीमा गाेली लागेकाे छ । यामबहादुरकाे तिघ्रामा गाेली लागेकाे छ । पालुङ्वाकाे कुम (व्युटी बाेन) भाच्चिएकाे छ ।

उनीहरु शनिबार साझकाे झडपमा घाइते भएका थिए । घाइतेकाे जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि राति नै  विराटनगरकाे नाेबेल मेडिकल कलेजमा ल्याइएकाे थियाे ।

अस्पतालले थप उपचारका लागि रेफर गरेपछि काठमाडाैं लैजाने तयारी भएकाे माेरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । ‘यहाँबाट रेफर भएपछि काठमाडाैं पठाउँन सेनाकाे हेलिकप्टर आउँदैछ,’ उनले भने,’ यहाँबाट पठाउने प्रबन्ध मात्रै गरेकाे हाे ।

व्यवसायी चन्द्र ढकालकाे समूहले मंगलबारबाट पाथिभरामा केबलकार निर्माण सुरु गरेकाे थियाे । केबलकारका कारण पहिचान मेटिने भन्दै आन्दाेलन सुरु गरेकाे ‘नो केबलकार समूह’ले आज आइतबारबाट थप आन्दोलन गर्ने तयारी गरेको थियो ।

आन्दोलनकारीलाई तितरबितर पार्न शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएकाे थियाे । शनिबार बेलुका करिब ६ बजे पाथिभरा क्षेत्रको बलुडाडामा प्रहरी पुगेपछि आन्दोलनकारीले ढुंगामुडा गरेका थिए । त्यसपछि प्रहरीले  गोली चलाएको थियो । झडप हुँदा ५ जना प्रदर्शनकारी र २१ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

प्रकाशित मिति: आइतबार, १३ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.