यी हुन् प्रदेश मन्त्रिपरिषद्का १३ निर्णय

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारको बुधबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, बैठकले प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय पनि गरेको छ । मन्त्री भण्डारीका अनुसार बैठकले आगामी फागुन ३ गते प्रदेश सरकार स्थापना भएको दिनलाई भव्यताका साथ मनाउने गरी कार्यक्रम तय गरेको छ ।

त्यस्तै, प्रदेश निजामती सेवाको ११ औं तहमा बढुवा भएका प्रकाशकुमार डाँगी, सुशीलकुमार अधिकारी, डाक्टर इन्द्रप्रसाद सापकोटा, कृष्णप्रसाद पोखरेल र ज्ञानबहादुर बस्नेतलाई विभिन्न कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

बैठकले बूढीगंगा ट्रक पार्किङस्थल निर्माण तथा सञ्चालन कार्यविधि स्वीकृत गरेको छ भने भूमिगत जल सिँचाइ आयोजना कार्यान्वयन कार्यविधि र रोजगार प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि पनि स्वीकृत गरेको छ ।

यस्तै, विद्यालय नर्सिङ सेवा कार्यक्रम सञ्चालन कार्यविधि संशोधनसहित कानुन न्याय तथा प्रदेश मामिला समितिमा छलफल गरी पेस गर्ने निर्णय भएको मन्त्री भण्डारीले बताए । बैठकले जनयुद्ध स्मृति प्रतिष्ठान नेपाल बेलबारी २ मोरङलाई जग्गा रजिस्ट्रेसन शुल्कमा ५० प्रतिशत छुट दिने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति: बिहिबार, १० माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.