कोशीमा सहरी विकासका लागि एमालेकाे अभियान

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा (एमाले)ले कोशी प्रदेशको सहरी विकासका लागि अभियान सुरु गरेकाे छ । एमाले कोशी प्रदेश सहरी विकास विभागले प्रदेश राजधानी विराटनगरबाट सहरी विकासकाे अभियान सुरु गरेको हो ।

विराटनगरमा मंगलबार महानगरीय अवधारणा विषयक कार्यशाला गोष्ठी गर्दै एमालेले अभियानको थालनी गरेको छ । विभागका तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै इन्जिनियर प्रविन ढकालले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणका लागि नयाँ सहरहरुको पहिचान, सहरी पूर्वाधारहरुको तीव्र विकास, ऐन कानुनको समयसापेक्ष परिवर्तन आवश्यक रहेको जानकारी दिए । हरियाली सडक, अत्याधुनिक बसपार्क निर्माण, भवन रेट्रोफिटिङ तथा पुनःस्थापना, पार्किङ, खुल्ला क्षेत्र, शौचालयहरुको निर्माण सहरी विकासका लागि गर्नुपर्ने कार्यहरु रहेको उनले औंल्याए ।

इन्जिनियर ढकालले गाम्रीण क्षेत्रको सहरी विकासका लागि फोहोरको समुचित व्यवस्थापन, जलवायु परिवर्तन तथा यसले पारेको प्रभावको अध्ययन, एक सहर, एक न्यूनतम सफा र सुन्दर पोखरी निर्माण अभियान, साना, घरेलु तथा मझौला र ठूला उद्योगहरुको स्थापना गरी रोजगारीको सृजना, व्यवस्थित खानेपानी र सरसफाइको व्यवस्थापन आवश्यक रहेको उल्लेख गरे। उनले प्रस्तुत गरेको कार्यपत्र अनुसार ठूला, मध्यम तथा साना सहरको शृङ्खला निर्माण गरी वस्ती प्रणाली अपनाउनुपर्ने, विपदमैत्री मानव विकास, सुरक्षित सहरका लागि विपदको पूर्वानुमानलगायतका योजना र नीति बनाउन स्थानीय तहलाई दिनुपर्ने उल्लेख छ ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशको समृद्धिको खाका एमालेसँग मात्रै रहेको बताए । प्रदेशलाई समृद्ध बनाउन एमाले नेतृत्वको सरकारले सुरु गरेका महत्वपूर्ण विकासका योजनाहरुको अवस्था अध्ययन गरी सम्पन्न नभएका योजनाहरु चाँडै सम्पन्न गर्दै प्रदेशलाई सुविधा सम्पन्न बनाउन प्रदेश सरकार र एमाले लागिपर्ने राईले बताए ।

प्रदेशका सहरी योजनाहरु निर्माण र महत्वपूर्ण नीतिगत सुझावहरु पेस गर्न एमालेको प्रदेश सहरी विकास विभागले गरेको कार्यशालाले सहयोग पुग्ने उनको भनाइ छ । विभागका प्रमुख लोकेश निरौलाले सहरी विकासको अवधारणाका बारेमा कोशी प्रदेशका १४ वटै जिल्लामा गोष्ठी गरिने जानकारी दिए ।

व्यवस्थित सहरका लागि सहरी नीति आवस्यक रहेको उनले बताए । सहरी क्षेत्रलाई आत्मनिर्भरतातर्फ उन्मुख गराउने सहरी विभागको उद्देश्य रहेको निरौलाको भनाइ छ । सहरी विकासका चुनौतीहरु धेरै रहेपनि चुनौतीलाई समाधान गर्दै प्रदेशभरि गोष्ठी गरी संघीय तथा प्रदेश सरकारलाई सहरी विभागको अवधारणा बुझाउने तयारी रहेको उनले बताए ।

विभागका सचिव सागर थापाले विराटनगरबाट अभियानको थालनी भएको बताए । विभागले अघि सारेको अवधारणामा आएका सुझावहरुलाई समेटेर संघीय सरकार र कोशी प्रदेश सरकारलाई प्रतिवेदन हस्तान्तरण गरिने उनको भनाइ छ । चाँडै नै प्रदेशभरि कार्यक्रम गरेर सहरी विकासको अवधारणा बनाइने जानकारी थापाले दिए ।

कार्यपत्रमाथि एमाले केन्द्रीय सदस्य युवराज बाँस्कोटा, प्याब्सनका पूर्वकेन्द्रीय अध्यक्ष टीकाराम पुरी, योजनाविज्ञ तारा निरौला, नन्द न्यौपाने, महेश मिश्र, उमेश कटुवाल, तुलसी पोखरेल, इञ्जिनियर भरत न्यौपाने, राम घिमिरे, मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष नवीन रिजाल, उद्योगी अरुण राठीलगायतले सुझाव दिएका थिए । कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरु जीवन घिमिरे, रामलाल साह, प्रदेश कमिटी सचिव राजकुमार भण्डारी तथा महानगरभित्रका प्रदेश सदस्यहरु लगायतको सहभागिता थियो ।

प्रकाशित मिति: बुधबार, ०९ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.