अध्यक्षलाई प्रश्न गर्दा पूर्वसांसद बिमल कार्कीकाे पनि जिम्मेवारी खाेसियाे

Satya Sanchar सत्य सञ्चार

विराटनगर । एमाले नेता तथा पूर्वकोशी प्रदेश सांसद बिमल कार्की ६ महिनाका लागि निलम्बनमा परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा प्रश्न गर्दा उनी निलम्बनमा परेका हुन् ।

एमाले कोशी प्रदेश सचिव राजकुमार भण्डारीका अनुसार कार्कीलाई ६ महिनाका लागि पार्टीकाे जिम्मेवारीबाट हटाइएकाे छ ।

‘स्टाटस पनि निरन्तर लेख्नु भयो, अरु पनि कारण थिए,’ उनले भने,‘केही दिनअघि प्रदेश कमिटीको सचिवालय बैठकले ६ निलम्बन गर्ने निर्णय गरेको थियो, प्रदेश कमिटी बैठकले अनुमोदन गर्यो ।’

पुस २७ र २८ मा एमाले कोशी प्रदेश कमिटी बैठक बसेको थियो ।

पूर्वप्रदेश सांसद कार्की प्रदेश कमिटी सल्लाहकार र राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्य हुन् ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको कार्यशैलीबारे सामाजिक संजालमा आलोचना गरेपछि कार्कीलाई प्रदेश कमिटीले मंसिर १६ मा स्पष्टीकरण सोधेको थियो ।

कार्की २०७४ को प्रदेशसभा निर्वाचनमा उदयपुरको क्षेत्र नम्बर १ को १ बाट प्रदेश सांसद निर्वाचित भएका थिए । व्यापारी मीनबहादुर गुरूङले एमालेको पार्टी कार्यालयलाई जग्गा दिने र भवन पनि बनाइदिने विषयको आलोचना गरेपछि नेता भीम रावल पार्टीबाट निष्कासनमा परेका थिए । नेतृ विन्दा पाण्डे र उषाकिरण तिम्सिना   ६ महिनाका लागि निलम्बनमा परेका थिए ।

प्रकाशित मिति: बुधबार, ०२ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.