कांग्रेस संसदीय दलका नेतालाई गाडी सुविधा दिने सरकारकाे निर्णयमा कारण देखाउ आदेश

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सत्ता पक्षाकाे प्रमुख घटक दलका नेता र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकलाई सुविधा थप गर्ने कोशी प्रदेश सरकारको निर्णयमा उच्च अदालत विराटनगरले कारण देखाउ आदेश जारी गरेको छ ।

गत १३ असाेजमा सत्ता पक्षको प्रमुख घटक दल नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई एउटा हलुका सवारी साधन, एकजना सवारी चालक र मासिक १२५ लिटर इन्धन उपलब्ध गराउने निर्णय राजपत्रमा प्रकाशित भएकाे थियाे । सोही दिन प्रदेश सरकारले प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिलाई मासिक १२५ लिटर इन्धन सुविधा थप गर्ने निर्णय भएको थियो । सुविधा थप गर्ने निर्णयविरुद्ध आइतबार उच्च अदालत विराटनगरमा रिट दायर भएको थियो ।

सोमबार उच्च अदालत विराटनगरकी न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको एकल इजलासले सोमबार कारण देखाउ आदेश जारी गरेको हो ।

अदालतले रिटमा अन्तरिम आदेश छलफलका लागि पुस २९ गतेका लागि पेशी तोकेको छ । ‘निवेदकले माग गरेको अन्तरिम आदेशका सम्बन्धमा विचार गर्दा, निवेदनको विषयवस्तु र प्रकृतिले दुवै पक्ष राखी छलफल गराई अन्तरिम आदेश जारी हुने वा नहुने सम्बन्धमा निष्कर्षमा पुग्न उपयुक्त हुने देखिएकाले सो प्रयोजनका लागि मिति २०८१–०९–२९ गते पेशी तोकी सोको सूचना दुवै पक्षलाई गराई नियमानुसार पेश गर्नु,’ उच्च अदालतले जारी गरेको आदेशमा भनिएको छ ।

अधिवक्ता दर्शनकर्ण राई र प्रेम कुमार घिमिरेले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, नेपाली कांग्रेस संसदीय दलका नेता उद्धब थापाससहितलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए ।

प्रकाशित मिति: मङ्गलबार, २३ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.