टिकटक बनाउने क्रममा लडेर तेह्रथुममा दुई जनाकाे मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । तेह्रथुममा टिकटक बनाउने क्रममा दुई जनाको मृत्यु भएको छ । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको खोरुङगा खोलाको खोँचमा खसेर शनिबार दुई जनाको मृत्यु भएको हो ।

स्थानीय गौखुरी माध्यमिक विद्यालयका नर्स शिक्षिका रबिना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्रा सुस्मिता भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी चिनिमाया तामाङले बताइन् ।

शनिबार बिदाको दिन शिक्षिका र विद्यार्थीहरु विद्यालय नजिकै रहेको खोरुङगा खोलामा पौडी खेल्न गएका थिए । सोही खोलामा टिकटक बनाउने क्रममा खोँचमा खसेका दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

तामाङका अनुसार फोटो भिडियो खिच्ने क्रममा लडेर दुर्घटना भएको जस्तो देखिन्छ ।

‘खोलामा नुहाउने क्रममा दुई जना विद्यार्थी र शिक्षिका अलिक पर जानु भएको रहेछ, दुई जना लडेको खबरसँगै जानेले विद्यार्थीले ल्याउनु भएको थियो,’उनले भनिन,‘सँगै जाने विद्यार्थी विक्षिप्त भएका कारण सबै कुरा खुलिसकेको छैन ।’

प्रकाशित मिति: आइतबार, ०७ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.