उमागौरी सहकारी प्रकरण : सांसद पाेखरेल पत्नीसहित २५ जनाकाे नाममा समाह्वान जारी

Satya Sanchar सत्य सञ्चार
उमागाैरी सहकारी संस्थाकाे कार्यालय

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारीकाे बचत अपचलन आराेपमा मुद्दा दर्ता भएका २५ जना प्रतिवादीविरुद्ध समाह्वान जारी गरेकाे छ ।

संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला, रंंगेली नगरपालिका– २ का वडा अध्यक्ष सन्तलाल खवाससहित २५ जनाविरुद्ध समाह्वान(फाैजदारी मुद्दामा अदालतमा हाजिर हुनका लागि अभियुक्तलाई अदालतबाट पठाउने पुर्जी) जारी  गरेको हो ।

जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार मुद्दामा प्रतिवादी बनाइएका एक जना थुनामा छन् । २५ जना विरुद्ध मलुकी फौजदारी अपराध संहिता २०७४ को दफा ५७ बमोजिम समाह्वान जारी गरेकाे हाे । मुद्दामा प्रतिवादी बनाइएका एक जना रोशन राजवंशी भने पूर्पक्षका लागि थुनामा छन् ।

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा मंसिर २७ गते संघीय संसदको सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर भएको थियो ।  मंसिर २८ गते जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक सदस्य रोशन राजवंशीलाई पूर्पक्षका लागि थुनामा पठाएको हो । उनी धनपालथान गाउँपालिका – ४ का पूर्ववडाध्यक्ष हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

अन्य प्रतिवादी फरार छन् । फरार प्रतिवादीको सूचीमा रंगेली नगरपालिका – २ का वडाध्यक्ष ४३ वर्षीय संतलाल खवास पनि छन् । उनी सहकारीको पूर्वउपाध्यक्ष हुन् । २०७९ सालको निर्वाचनमा उनी नेकपा एमालेबाट वडा अध्यक्ष निर्वाचित भएका थिए । धनपालथान–४ घर भइ विराटनगरको शान्ति चोक बस्दै आएका शम्भुप्रसाद रौनियारले खोलेकाे सहकारीमा सांसद पाेखरेल पत्नी कोइराला पूर्वसञ्चालक हुन् ।

सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् । तर उनी सञ्चालक हुँदा लिएको ऋण नतिरेका कारण आरएसडिसी लघुवित्त वित्तीय संस्थाको निवेदनका आधारमा कोइराला कालोसूचीमा छन् । उनले कालोसूची हटाउन माग गर्दै उच्च अदालत विराटनगरमा दायर गरेको मुद्दा बिचाराधीन छ ।

याे सहकारीका विरुद्ध उजुरी परेपछि अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले गत १४ कात्तिकमा सहकारीको कार्यालयको ताला फोडेर कागजात जफत गरेको थियो । उजुरीका लागि सार्वजनिक आह्वान पनि गरेको थियो । आह्वान गर्दा २० जना ऋणीले आफूहरु ठगिएको भन्दै प्रहरीमा निवेदन दिएका छन् ।

सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो असुल गर्न माग गरिएको छ ।

‘सफ्टवयरमा रहेको अभिलेख अनुसार ७०७ जना ऋणीहरुले २४ करोड ३० लाख २२ हजार ५३४ संस्थाबाट ऋण लिएकोमा हालसम्म ८ करोड १३ लाख ६४ हजार ७०१ ऋण उठेको र १६ करोड १६ लाख ५७ हजार ८३२ ऋण उठ्न देखिन्छ,’ सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोग पत्रमा भनिएको छ,‘तर उक्त ऋणहरुको सम्बन्धमा जाहेरी तथा निवेदन समेतको व्यहोराबाट उमागौरी कृषि सहकारी संस्थाबाट महिला उद्यमसिल कर्जा शिर्षकबाट ऋण उपलब्ध गराउने भनी तमसुक बनाएर धितोको लागि ऋणीहरुले घरजग्गा राखेकोमा सोही धितो राखिएको जग्गा नविल बैंक लिमिटेडमा धितो राखी कर्जानिकाली माग गरेको धितो रकम भन्दा आधा रकम मात्र सम्बन्धीत ऋणीलाई उपलब्ध गराई आधा रकम आफैले खाई मासी हिनामिना गरेको कारण हाल सफ्टवयरमा संस्थाले लगानी गरेको ऋण बढी देखिएको पाइन्छ ।’

प्रकाशित मिति: मङ्गलबार, ०२ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.