रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्ने अनुमति

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सुर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि मंगलबार प्रहरीले थप चार दिन माग गर्दै अदालतमा गएको थियो । कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालका अनुसार चार दिन हिरासतमा राख्ने अनुमति अदालतले दिएको छ ।

प्रहरीले गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

प्रहरीले सोमबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले बुझाइसकेको छ । मुद्दा दर्ता गर्न समय लाग्ने भएकाले प्रहरीले म्याद थप गरेको हो ।

सो प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउन सुझाव दिइएको छ । उनीहरूविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ ।

प्रकाशित मिति: मङ्गलबार, ०२ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.