कांग्रेस काेशी सम्मेलन : वरियतामा कुरा नमिलेपछि चितवन लागे डाक्टर काेइराला

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले कांग्रेस कोशी प्रदेशको पहिलो सम्मेलनमा सहभागी नहुने भएका छन् । गृह नगर विराटनगरमा हुने सम्मेलनमा दाेस्राे वरियता नपाउने भएपछि काेइराला सहभागी नहुने भएका हुन् ।

प्रदेश समितिको पहिलो सम्मेलन भोलि बिहान ११ बजे उद्घाटन हुँदैछ, यो कार्यक्रममा डाक्टर कोइरालालाई पनि निम्तो गरिएको छ । तर कोइराला चितवन लागेका छन् । सम्मेलनका लागि सभापति शेरबहादुर देउवासहित केन्द्रीय नेताहरु विराटनगर आइसकेका छन् ।

डाक्टर कोइरालाका निजीसचिव दिनेशचन्द्र थपलियाका अनुसार शनिबार डाक्टर कोइराला चितवनमा आयोजित दुई शोक सभामा सहभागी हुनेछन् ।

डाक्टर कोइरालाले गृहनगर विराटनगरमा हुने प्रदेश सम्मेलनमा सभापति पछिको पोर्टफोलियोमा आफूलाई आशनग्रहण गराउनुपर्ने प्रस्ताव गरेका थिए । तर प्रदेश समितिले केन्द्रीय समितिको रोलक्रम अनुसार आशनग्रहण गराउने भनेपछि कोइरालाले बहिस्कार गरेका हुन् ।

‘उहाँले आजसम्म बिहानसम्म दोस्रो पोर्टफोलियो हुन्छ भने आउछु भन्नु भएको थियो, तर केन्द्रीय समितिको रोलक्रम अनुसार हुने भनेपछि चितवन जानुभएछ,’ कांग्रेस संस्थापन पक्षका एक नेताले भने,‘नआउने जानकारी पठाइसक्नु भएको छ ।’

पार्टी सभापति शेरबहादुर देउवापछिको बरियतामा उपसभापति पूर्णबहादुर खड्का छन् । १४ औं महाधिवेशनमा सभापतिमा पराजित कोइरालाले खड्का भन्दा माथि आफ्नो बरियता हुनुपर्ने आएका छन् ।

नेपाली कांग्रेस कोशी प्रदेश महामन्त्री भूपेन्द्र राई प्रदेश समितिले केन्द्रीय नेताहरुलाई उपस्थीतिका लागि निम्तो पठाएको छ । डाक्टर शेखरलाई निम्तो पठाएको उनले बताए । ‘प्रदेश सम्मेलनमा सबै नेतालाई बोलाएका छौं, को आउने को नआउने भोलि मात्रै थाहा हुन्छ,’ उनले भने,‘पार्टीको केन्द्रीय समितिले पोर्टफोलियो व्यवस्थापन गरेको छ, त्यसलाई प्रदेश समितिले स्वीकार गर्ने हो ।’

कोइरालाले प्रदेश सम्मेलनअघि १८ मंसिरमा विराटनगरमा प्रदेश स्तरीय पालिका सभापतिको भेला नाम दिएर गुट भेला आयोजना गरेका थिए । यो भेला रोक्नका लागि संस्थापन पक्षले प्रयास गरेपनि सकेको थिएन् ।

कोशी प्रदेश समितिमा संस्थापन पक्षको बहुमत छ । संस्थापन पक्षले उपसभापति पूर्णबहादुर खड्कालाई बोलाएको छ । उनी विराटनगर आइसकेका छन् ।

डाक्टर शेखर कोइराला पक्षका सभापति भएको लुम्बिनी प्रदेशको सम्मेलनमा डाक्टर कोइराला दोस्रो वरियतामा थिए । १६ र १७ मंसिर २०८० मा भएको यो सम्मेलनमा उपसभापति उपसभापति पूर्णबहादुर खड्का उपस्थित भएनन् ।

प्रकाशित मिति: शुक्रबार, २१ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.