सरकारी नम्बर प्लेट राखेर गाँजा तस्करी, ६९० किलाे गाँजासहित एक जना पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । दुई वटा सरकारी नम्बर प्लेटको गाडीमा तस्करी हुँदै गरेको ६९० किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो । एक जना फरार छन्  ।

प्रहरीले गाँजा नियन्त्रणमा लिनका लागि चार राउण्ड फायर गरेको थियो । प्रहरीले चलाएको गोली एउटा गाडीमा लागेको छ । गाँजा लोड गरिएको अवस्थामा सरकरी नम्बर प्लेटको बा १ झ ४६०५ र बा १ झ ५१२७ गाडी प्रहरीले नियन्त्रणमा लिएको हो ।

गाँजा तस्करको समूहले निजी गाडीमा सरकारी नम्बर प्लेट राखेको देखिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगूले जानकारी दिए । ‘निजी गाडीलाई नक्कली सरकारी नम्बर प्लेट राखिएको छ,’ सत्यसञ्चारसँग उनले भने,‘ यो विषयमा थप अनुसन्धान भइरहेको छ ।’

प्रहरी स्रोतका अनुसार तस्करको समूहले सघीय कानुन मन्त्रालय र अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको गाडीको नम्बर तस्करीमा प्रयोग भएको गाडीमा राखेका थिए । ‘यी नम्बर प्लेटका गाडी संघिय कानुन मन्त्रालय र अख्तीयारमा प्रयोग भइरहेका छन्,’ प्रहरी स्रोतले भन्यो,‘ तस्करको समूहले निजी गाडीमा सरकारी नम्बर प्लेट राखेको देखिन्छ ।’

सवारीसाधन चेकजाँचका क्रममा सरकारी नम्बर प्लेट राखिएको ५१२७ नम्बरको गाडी भागेपछि प्रहरीले गोली चलाएको थियो ।

यो गाडी केही पर छाडेर चालक फरार भएका थिए । सरकारी नम्बर प्लेट राखिएको ४६०५ नम्बरको गाडी चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

प्रकाशित मिति: बुधबार, १९ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.