केन्द्रकाे इच्छा विपरित गृहनगरमा डाक्टर कोइरालाको शक्ति परीक्षण

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पार्टी केन्द्रीय समितिको सर्कुलर विपरित नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले विराटनगरमा पालिका सभापतिहरूको भेला  गरेर आफ्नाे शक्ति परीक्षण गरेका छन् । यो भेलालाई सम्बाेधन गर्दै उनले घुमाउराे भाषाामा १५ औं महाधिवेशनबाट नेतृत्व लिने संकेत गरे ।

पार्टी केन्द्रको इच्छा विपरीत गृहनगरमा कोइरालाले गरेको शक्ति परीक्षण उनी पक्षका नेता तथा पालिका सभापति सहभागी थिए । भेलामा आएका कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने,‘कुनै किसिमको डर, धाक, धम्कीबाट उहाँहरु आत्तिनुभएन । तपाईंहरू निस्फिक्रि भएर घर जानुस् । तपाईंहरूको संरक्षण म गर्छु ।’

पार्टी प्रदेश समितिले २२ मंसिरमा प्रदेश सम्मेलन आयोजना गर्दैछ । त्यसको चार दिन अघि कोइरालाले पालिका सभापतिहरूलाई भेला गरेर १५ औं महाधिवेशनपछि नेता कार्यकर्तालाई अन्याय नहुने बताए ।१५ औं महाधिवेशनबाट गलत कुरा हुन नदिने र कार्यकर्ताको संरक्षण आफूले गर्ने जिम्मेवारी लिने बताए ।

नेता शेखरले २०८३ को मंसिरसम्म १५ औं महाधिवेशन हुने सम्भावना नदेखेको बताए । अधिवेशनमा समयमा हुनुपर्छ भनी गाउँ गाउँमा भन्नु जरुरी र दबाब सिर्जना गर्नुपर्ने अवस्था रहेको  बताउँदै उनले भने, ‘क्रियाशील सदस्यताको अहिले जुन भइरहेको छ । यो तरिकाले अधिवेशन समय हुने सम्भावना छैन ।’

प्रदेशले सम्मेलनको मिति तोकेपछि कोइराला समूहले पालिका सभापतिहरूको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको संस्थापन पक्षको बुझाइ छ । तर, भेलामा बोल्ने क्रममा नेता कोइरालाले कार्यक्रम धेरै पहिले तय भएकाले कोही तर्सनु नपर्ने बताए ।

भेलाको अघिल्लो दिन सोमबार केन्द्रीय समितिले २२ मंसिरअघि कुनै कार्यक्रम नरहेको पालिका सभापतिहरूलाई सर्कुलर गराएको थियो । प्रदेशका १३७ वटै पालिकालाई निम्तो गरिएको थियो । ती मध्ये ११३ जना सहभागी भएको कोइराला पक्षको दाबी छ । तर संस्थापन पक्षका एक नेताले भने आजको भेलामा जम्मा ६०-६१ जना सभापति मात्रै उपस्थित भएको बताए । भेलामा कोइराला समूहबाट पालिकामा जितेका सभापति र पदाधिकारीहरू सबै सहभागी छन् । भेलामा बोल्ने केही वक्तालेआगामी महाधिवेशनबाट पार्टीको नेतृत्व कोइरालाले लिनुपर्ने सुझाव दिए ।

प्रकाशित मिति: मङ्गलबार, १८ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.