कोशीका ८ स्थानीय तहको नतिजा : कांग्रेस एमालेका लागि अनपेक्षित, माओवादी उत्साहित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशका ८ स्थानमा भएको उपनिर्वाचनमा तीन स्थानमा जित निकाल्दै माओवादी केन्द्र पहिलो भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले समान २ क्षेत्रमा जितेको छ । एक स्थानमा स्वतन्त्र उम्मेदवार बिजयी भएका छन् ।

उपनिर्वाचन भएका ८ स्थानमा २०७९ को निर्वाचनमा नेपाली कांग्रेसले ६ र नेकपा एमालेले २ स्थानमा जितेको थियो । माओवादी केन्द्रले जितेको थिएन् । तर उपनिर्वाचनमा माओवादी केन्द्रले एउटा गाउँपालिका अध्यक्ष र २ वटा वडा जितेको छ । नेपाली कांग्रेसले २ वडा जितेको छ । एमालेले २ र स्वतन्त्रले १ स्थानमा जितेका छन् ।

कांग्रेसले तेह्रथुमको लालीगुराँस नगरपालिका – ८ र सुनसरीको गढी गाउँपालिका – ६ जितेको छ । झापाको कन्काई नगरपालिका – ६ मा स्वतन्त्र विजयी भएका छन् ।

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका – ३ र ओखलढुङ्गाको मोलुङ गाउँपालिका – ५ एमालेले जितेको छ ।

माओवादी केन्द्रले ग्रामथान गाउँपालिकाको अध्यक्ष, उदयपुरको त्रियुगा नगरपालिका– १२ र बेलका नगरपालिका– ९ को वडा अध्यक्ष जितेको छ ।

उपनिर्वाचन भएको कोशी प्रदेशको ८ स्थानमा ४३ हजार ११ जना मतदाता थिए । उपनिर्वाचनमा २९ हजार ४५४ मत खसेको थियो । ८ स्थानमा माओवादीले जम्मा ११ हजार ९०३ मत पाएको थियो । कांग्रेसले ८ हजार ७४ र एमालेले ७ हजार ५३० मत पाएको थियो ।

कांग्रेस एमालेका लागि अनपेक्षित

कोशीकाे उपनिर्वाचन परिणामलाई कांग्रेस र एमालेले अनपेक्षित भनेका छन् । माओवादी केन्द्रले भने नतिजाले उत्साहित बनाएको बताएको छ ।

‘हाम्रालागि अपेक्षित परिणाम होइन, जित्ने आकलन गरेको ठाउँमा हार्यौ,’ नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा भन्छन्,‘कहाँ के कमजोरी भयो समिक्षा गर्छौं ।’

नेपाली कांग्रेस कोशी प्रदेश उपसभापति रमेशजंग रायमाझी पार्टीले विगतमा जितेको भन्दा बढी क्षेत्र जित्ने आश राखेपनि नतिजा फरक आएको बताउँछन् ।

‘हामीले अपेक्षा गरे अनुसारको नतिजा आएन,’ उनले भने,‘ जनतासँग टाढा हुन नहुने सन्देश दिएको छ ।’ चुनावी परिणामलाई समीक्षा गरेर अघि बढ्ने उनले बताए ।

माओवादी केन्द्र अध्यक्ष हर्क नेम्वाङ मिक्सो भने नतिजाले उत्साहित बनाएको बताउँछन् ।

‘यो नतिजाले हामीलाई उत्साहित बनाएको छ, अब मिसन २०८४ को तयारीमा लाग्छौं,’ उनले भने,‘ हामीले जित्छौं भनेको दुई स्थानमा थोरै मतले हार्यौ ।’

प्रकाशित मिति: मङ्गलबार, १८ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.