दूध बेचेर ३० लाख कमाउँछन् कुमार बस्नेत

Satya Sanchar सत्य सञ्चार

गलकोट । बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले दूध बिक्री गरेर वार्षिक ३० लाख हाराहारी आम्दानी गर्छन् । उनले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थालेको १२ वर्ष भयो ।

दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गरेर अगुवा कृषकका रूपमा बस्नेत चिनिन्छन् । विसं २०६९ मा तीन वटा भैँसीबाट ‘बस्नेत पशुपालन फार्म’ सञ्चालन गरिरहेका उनको फार्ममा अहिले विभिन्न प्रजातिका ११ वटा भैँसी र नौ वटा गाई छन् ।

छ वर्ष साउदी अरब, ११ महिना सिङ्गापुर बसरे फर्किएका बस्नेतले तीन वर्ष बागलुङ बजारमा व्यवसाय सञ्चालन गरेका थिए । व्यापारमा मुनाफा नभएपछि पसल बेचेर पुनःविदेश जाने सोचमा जापान योजना बनाएका थिए ।

जापान जाने योजनाले पूर्णता नपाएपछि बेचिसकेको पसल पुनः गर्नुभन्दा व्यावसायिक रूपमा गाईभैँसी पाल्ने योजना बनाएर गाउँ फर्किएपछि उनलाई कहिल्यै पछुताउनु परेको छैन ।

बस्नेतलाई उनकी श्रीमती अप्सराको दरिलो साथ छ । बीस वटा गाईभैँसी, उनीहरूको हेरचाह र सम्पूर्ण व्यवस्थापनको काम बस्नेत दम्पतीले मिलेर गर्ने गरेका छन् ।

दैनिक एक सयदेखि एक सय २० लिटरसम्म दूध उत्पादन गर्दै आएका बस्नेतले मासिक दुई लाख ५० हजारभन्दा बढी आम्दानी हुने गरेको बताए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङको सहयोगमा पोखरा गएर एक हप्ताको तालिमसमेत लिएका उनले बिक्री भएर बाँकी रहेको दूधबाट खुवा र पनिर बनाएर बच्ने गरेको जानकारी दिए ।

बस्नेतले उत्पादन गरेको दूध नजिकैको नारायणस्थान बजारमा बेच्ने गरेको बताउँदै बजारीकरणको समस्या नरहेको बताए । चैत–वैशाखमा एक सय २० लिटरभन्दा बढी र असार साउनमा ७० लिटरसम्म दूध गाउँमा बिक्री हुने गरेको उनको भनाइ छ ।

गाउँमा बिक्री भएर रहेको दूध कहिले स्थानीय डेरीलाई बेच्ने, कहिले पर्वतको कुश्मा बजार र बागलुङ बजारमा पठाउने गरेको उनले जानकारी दिए ।

गाईभैँसीलाई खुवाउने घाँस उत्पादन गर्न फार्मको वरिपरी ४० रोपनी जमिन भाडामा लिएर घाँस लगाएको उनले बताए । उनका अनुसार व्यवसाय विस्तारका क्रममा फार्ममा ३० लाखभन्दा बढी लगानी पुगिसकेको छ ।

प्रकाशित मिति: मङ्गलबार, १८ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.