कोशीमा कांग्रेस संस्थापन र इतर पक्षको समान भेला, केन्द्रले गर्याे सर्कुलर

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशमा संस्थापन र  डा. शेखर कोइराला पक्षबीच किचलो देखिएको छ । पार्टी प्रदेश समितिले २२ मंसिरमा प्रदेश भेला आयोजना गरेको छ । त्यसअघि नै डाक्टर शेखर कोइरालाले पालिका सभापति भेला आह्वान गरेपछि किचलाे देखिएकाे हाे ।

दुवै भेला विराटनगरमै हुने भनिएको छ । शेखर पक्षले गर्ने भनिएको पालिका सभापतिको भेला  मंसिर १८  गतेलाई तोकिएको छ । यो भेलाको आयोजक मोरङका १७ वटै पालिका भनिएको छ ।

कोइराला पक्षले भेला आह्वान गरेको अघिल्लो दिन सोमबार केन्द्रीय कार्यालयले कोशी प्रदेशमा मंसिर २२ गते भन्दा अन्य मितिमा भेला नराखेको बताएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कोशी प्रदेशका जिल्लाका सभापतिहरुलाई सर्कुलर जारी गर्दै मंसिर २२ गते भन्दा अगाडि भेला नभएको जानकारी गराएका हुन् ।

संस्थापन पक्षले गर्ने भनिएको प्रदेशको पहिलो सम्मेलनमा सभापति शेरबहादुर देउवा आउने कार्यक्रम छ । कोइराला पक्षको भेलामा कोइराला प्रमुख अतिथि हुने भन्दै प्रचार गरिएको छ । केन्द्रीय कार्यालयले गरेको सर्कुलरमा मंसिर २२ मा हुने सम्मेलन पूर्व प्रदेशस्तरीय पार्टीको कुनैपनि कार्यक्रम नरहेको भनिएकाे छ । मंसिर २२ को प्रदेश सम्मेलनमा प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरू, महासमिति सदस्य, महाविधेशन प्रतिनिधि, पालिका सभापति, प्रतिनिधिसभा तथा प्रदेश अधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन् ।

प्रकाशित मिति: सोमबार, १७ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.