विराटनगर । विं.स. २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालिन फोरम लोकतान्त्रिकबाट ग्रामथान गाउँपालिका– १ को वडा अध्यक्ष जितेका नमोनारायण माझी २०७९ सालको स्थानीय तह निर्वाचनमा पालिका अध्यक्षको आकांक्षी थिए । उनी वडा अध्यक्षको टिकट पाए पनि उठ्न तयार थिए ।
फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएका कारण २०७९ को निर्वाचनमा कांग्रेसबाट पालिका अध्यक्ष दाबी गरे । तर पार्टीले पत्याएन, वडामा पनि निकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिए । वडा अध्यक्षमा सुरेशकुमार माझी विजयी हुँदा स्वतन्त्र उम्मेदवारी दिएका नमोनारायण तेस्रो भए ।
त्यसपछि उनी कांग्रेसमा फर्किएनन् । स्थानीय तहको उपनिर्वाचनअघि गत भदौ २९ गते उनलाई नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका लगाउँदै पार्टी प्रवेश गराए । उनीसहित अन्य पार्टीका कार्यकर्तालाई प्रवेश गराउन ‘प्रचण्ड’ ग्रामथानको नेता चोक आएका थिए ।
कांग्रेसले नपत्याएका माझीले उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रबाट ग्रामथान गाउँपालिकाको अध्यक्ष जितेका छन् । ६ हजार ९६९ मत ल्याएर उनी बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार बलराम सरदारले ५ हजार ३३३ मत ल्याए । एमाले उम्मेदवार तुलसीराम विश्वासले ४ हार १५९ मत प्राप्त गरे ।
ग्रामथानको अध्यक्ष जितेका माझी आँटिला उम्मेदवार मध्ये पर्थे । स्थानीय जनताको सरोकारका विषयमा बोलिरन्थे । नागरिक सरोकारको विषय उठाउँदा अभद्र व्यवहार मुद्दा पनि खेपे ।
ग्रामथान–१ को रामजानकी मन्दिरका लागि बजेट माग गर्दै २०८० चैत ११ गते गाउँपालिकाको कार्यालयमा प्रदर्शन गरे । तोडफोडको प्रयास पनि भयो । कार्यपालिका बैठकको समयमा हुलहुज्जत गरेको भन्दै गाउँपालिकाको तर्फबाट जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दा चलायो । अभद्र व्यवहार मुद्दामा नमोनारायण माझीसँगै विष्णुप्रसाद माझी, राजनारायण भगत, सञ्जितादेवी भगत, तिलकराम माझी, खड्गबहादुर मगर, बिन्दाकुमारी सुतिहार, कल्पना मगर र धीरेन्द्रकुमार भगतलाई २०८१ भदौ १७ गते जरिवानाको फैसला भएको थियो ।
यो मुद्दाका कारण पनि उनको पक्षमा माहोल बनेको थियो । पालिका नेतृत्वले काम नगरेको र बजेट माग गर्दा आफूलाई अभद्र व्यवहार मुद्दा लगाएको भन्दै भोट मागेका थिए ।
नेकपा माओवादी केन्द्रका नेता कुशल लिम्बुका अनुसार माझी २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालिन लखनतरी गाउँ विकास समितिको अध्यक्ष जितेका थिए । कांग्रेसबाट अध्यक्ष निर्वाचित हुँदा उनले एमाले उम्मेदवारलाई २ मतले पराजित गरेका थिए ।
त्यसपछि लामो समय स्थानीय तह जनप्रतिनिधि बिहीन बन्यो । यो बिचमा उनी विदेश पनि गए । माझी माओवादीकै कारण विदेशिएका थिए । माओवादी युद्धका बेला उनी माओवादी टार्गेटमा पर्ने भन्दै विदेशिएका थिए । २०६० सालमा मलेसिया गएका उनी २०६७ सालमा फर्किए । त्यसपछि दुबई पनि गएका थिए । विदेशबाट फर्किएपछि २०७४ को निर्वाचनमा उनी वडा अध्यक्ष विजयी भए । माझीले २०४५ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका थिए ।
ग्रामथानमा माओवादीबाट माझी उम्मेदवार थिए । तर बाहिर चर्चा भने अमनलाल मोदी भर्सेस कांग्रेस एमालेबीच प्रतिस्पर्धाको चर्चा थियो । चुनावी अभियानका क्रममा फरक पार्टीबाट जितेका कारण आफूले केन्द्रबाट ल्याएको बजेट पालिकाले खर्च नगरी फिर्ता पठाउने गरेको उनको गुनासो थियो । ‘ म केन्द्रमा थिए, माथिबाट बजेट ल्याउँदा यहाँ फरक पार्टी भएकै कारण पालिकाले खर्च गर्न मानेन,’ हरेक चुनावी अभियानमा उनी भन्थे,‘हाम्रै पार्टीको मान्छे भए भने बजेट ल्याउन र विकास निर्माणमा खर्च गर्न सजिलो हुन्छ ।’
माझीलाई पार्टी प्रवेश गराउनेदेखि अध्यक्ष निर्वाचित गराउने अभियानमा मोदी सँगै विजय विश्वास, जीवन आचार्यलगायत नेताहरु सक्रिय थिए ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन आचार्य युवाको टिमलाई जनताले पत्याएको बताउँछन् । ‘ युवाहरुको टिमलाई जनताले पत्याएका छन्, उनले भने,‘ युवाको टिमले ग्रामथानमा काम पनि राम्रो गरिरहेको छ ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,449)
जीवन विकासले बोलायो साधारणसभा (2,417)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,378)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,363)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,231)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,167)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,123)