एमाले उम्मेदवार तुलसीराम विश्वास, कांग्रेस उम्मेदवार बलराम सरदार र माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी । विराटनगर । स्थानीय तहको उपनिर्वाचनका लागि मौन अवधि आज राति १२ बजेबाट सुरु हुँदैछ । प्रचारप्रसारका लागि मोरङको ग्रामथानमा दलका उम्मेदवारले आज अन्तिम अभियान गरिरहेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाको उपस्थितिमा बुधबार कांग्रेसले झोराहाटमा चुनावी सभा गरेको थियो । बुधबार नै माओवादी केन्द्रले तेतरीयामा चुनावी सभा गर्याे । नेकपा एमालेले पनि चुनावी सभा गरेको छ ।
झोराहाट बजारमा आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस उम्मेदवार जयप्रकाश गच्छदारका अधुरा योजना पूरा गर्नका लागि बलराम सरदारलाई चुनाव जिताउन आग्रह गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीसहितका दल पनि अन्तिम प्रचारप्रसार अभियान सञ्चालन गरेका छन् ।
ग्रामथानको अध्यक्षका लागि १६ जना उम्मेदवार चुनावी मैदानमा छन् । तर ती मध्ये ठूला तीन दल प्रतिस्पर्धामा अगाडि छन् ।
पछि पछि रहेका अन्य दलले पनि चुनौती दिइरहेका छन् ।
मोरङको ग्रामथान गाउँपालिका– २ का पुछदेव सरदार नेपाली कांग्रेसका समर्थक हुन् ।
१६ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेको ग्रामथानको सम्भावित नतिजा यसै भन्न सक्ने अवस्थामा उनी छैनन् । ‘पहिले त यो कांग्रेसकै क्षेत्र हो । अहिले तीन दलको प्रतिस्पर्धाजस्तो देखिन्छ,’ उनले भने, ‘तीन वटामध्ये एउटाले जित्छ ।’ उनले त्रिपक्षीय भनेर संकेत गरेका दल कांग्रेस, एमाले र माओवादी हुन् ।
कांग्रेसको आधार क्षेत्र मानिने ग्रामथान मोरङको निर्वाचन क्षेत्र नम्बर ४ मा पर्छ । यो क्षेत्रबाट दुई पटक माओवादी नेता अमनलाल मोदीले चुनाव जितेका छन् । पूर्वमन्त्री मोदीले माओवादीलाई प्रतिस्पर्धी दौडमा ल्याएका हुन् ।
मोरङको निर्वाचन क्षेत्र नम्बर ४ मा २०७४ मा एमाले र २०७९ सालमा कांग्रेससँग गठबन्धन गरेर माओवादीका मोदी विजयी भएका थिए । कांग्रेस छाडेका नमोनारायण माझी माओवादीबाट उम्मेदवार छन् ।
झोराहाट बजारमा बुधबार दिउँसो भेटिएका सनतलाल सरदार पनि त्रिपक्षीय प्रतिस्पर्धा देख्छन् । ‘हामीले त एउटालाई भोट हाल्ने हो । तर, प्रतिस्पर्धा कांग्रेस, एमाले र माओवादीकै छ,’ उनले भने,‘ पहिले जस्तो अनुमान गर्न सकिँदैन ।’
२०७४ सालको स्थानीय तह निर्वाचनमा ग्रामथानमा विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमको प्रभाव राम्रो थियो । त्यसबेला नेकपा ९एमाले०बाट शिवनारायण माझी निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक फोरमका उम्मेदवार जयप्रकाश गच्छदारसँगको मतान्तर ५९ मात्रै थियो ।
२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका गच्छदार फराकिलो मतसहित विजयी भएर माझीलाई नै हराएका थिए । अध्यक्षमा विजयी भएका गच्छदारको गत असार ३ गते निधन भएपछि ग्रामथानमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।
उम्मेदवारको प्रचार अवधि सकिनै लाग्दा ग्रामथान–२ पिडारबनीका पशुपति सरदार कांग्रेस, एमाले र माओवादी केन्द्रपछि राप्रपालाई देख्छन् । ‘यसपालि अलिक राम्रो माओवादीलाई भएको छ । उम्मेदवार कांग्रेसबाट आएको छ,’ उनले भने,‘ राप्रपाले पनि भोट बढाउँछ । अरु सानाले पनि ठूला दलको भोट काट्ने देखिन्छ ।’
गत निर्वाचनको भन्दा यसपालिको चुनाव फरक हुने उनको विश्लेषण छ । ‘अहिले त्यसै भन्न सकिँदैन । प्रतिस्पर्धा राम्रो देख्छु । जित्ने तीन दलमध्येकै उम्मेदवारले हो,’ सरदार भन्छन्, ‘हिजो कांग्रेस र एमालेले पालैपालो आफ्ना कार्यकर्तालाई हँसिया हतौडामा भोट हाल्न लगाए । अहिले तीनवटै छुट्टा छुट्टै प्रतिस्पर्धामा छन् । त्यसले पनि केही न केही प्रभाव त पार्ला ।’
स्थानीय सुखीलाल सरदार थारु र गोकर्ण चौधरी पनि उस्तै देख्छन् । ‘भोट कसलाई हाल्ने अहिले भन्न मिल्दैन । गोप्य हुन्छ । मुख्य प्रतिस्पर्धा तीन जनाको छ । एक जनालाई त हाल्नै पर्छ,’ गोकर्ण भन्छन् ।
उपनिर्वाचनमा साना ठूला गरेर दलका १५ र एक स्वतन्त्रसहित १६ जना उम्मेदवार छन् । ग्रामथानमा पछिल्लो समय रास्वपा, राप्रपा र जनमत पार्टीको पनि राम्रो प्रभाव छ ।
ग्रामथानको अध्यक्षमा एमालेबाट तुलसीराम विश्वास, कांग्रेसबाट बलराम सरदार, माओवादीबाट नमोनारायण माझी, रास्वपाबाट नवीनकुमार विश्वास, राप्रपाबाट दिनेशकुमार थन्दार , अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा०बाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर र स्वतन्त्र उम्मेदवार नमनारायण चौधरी छन् ।
नेकपा एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका चौधरीले मुढा चुनाव चिन्ह पाएका छन् । २६ हजार ४४ मतदाता रहेको ग्रामथान थारु बाहुल्य क्षेत्र हो । २०७९ सालको स्थानीय निर्वाचनमा २५ हजार ९ सय ४२ मतदाता थिए । उपनिर्वाचनका लागि १२ वटा मतदानस्थल र २० वटा मतदान केन्द्र छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)