‘पढ्दै कमाउँदै’ जीवनज्योति माध्यमिक विद्यालयका विद्यार्थी

Satya Sanchar सत्य सञ्चार

वालिङ । स्याङजाको बिरुवा गाउँपालिका– ७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका छन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत कुखुरापालन गरेका विद्यार्थीले सामान्य खर्चको जोहो गरिरहेका छन् ।

प्रधानाध्यापक सामबहादुर गुरुङका अनुसार पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका बालबालिकाले विद्यालय परिसरमा नै कुखुरापालन गरेका हुन् । विद्यालय परिसरमा गिरीराज र बोइलरका दुई सय वटा कुखुरापालन गरिएको छ । पढाइको अलावा विद्यार्थीलाई व्यावहारिक ज्ञान, सीप दिनुका साथै विद्यालय तहबाट नै आम्दानीसँग जोड्न यो कार्यक्रमले महत्त्वपूर्ण टेवा पुगेको छ ।

“विद्यालय परिसरमा विद्यार्थीको प्रत्यक्ष रेखदेखमा कुखुरापालन गरिएको छ”, उनले भने, “विद्यालय सञ्चालन भएका दिनमा विद्यार्थीले रेखदेख गर्ने भए पनि बिदाका दिनमा भने छुट्टै कर्मचारीको व्यवस्था मिलाएका छौँ ।”

विद्यालयमा पालिएको कुखुराले दिने अण्डाबाट विद्यालयमै रहेको ह्याचिङ मेसिनबाट चल्ला उत्पादन गर्ने र बिक्री गरी आम्दानीका रूपमा दाखिला हुने गरेको छ । विद्यालयमा पढाइसँगसँगै सिकेको व्यावहारिक सीपलाई घर गएर पनि विद्यार्थीले उपयोग गर्न सक्ने बनाउन विद्यालयले चल्ला उत्पादन गरी उपलब्ध गराउँदै आएको छ ।

विद्यार्थीले घरमा चल्ला लगेमा नयाँ चल्ला उत्पादन भएपछि साँवास्वरुप फिर्ता गर्ने र बाँकी रहेका चल्ला वा तिनले दिएका अण्डा आफैँले बिक्री गर्न पाउने व्यवस्था विद्यालयले मिलाएको छ ।

“विद्यार्थीले विद्यालय वा घरमा पालेका कुखुरा, चल्ला तथा अण्डा बिक्री गर्न विद्यालयले सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको छ”, उनले भने, “विद्यार्थीले आफैँ बिक्री गर्न पनि सक्ने र बिक्री नभएको खण्डमा विद्यालयले बजारीकरण गर्ने उल्लेख भए तापनि हालसम्म विद्यार्थी स्वयंबाट सहज तरिकाले बिक्री भइराखेको छ ।”

चालु शैक्षिकसत्रसँगै थालिएको यो अभियान निकै प्रभावकारी ढङ्गले अगाडि बढेको दाबी प्रधानाध्यापक गुरुङको छ । यस अभियानलाई प्रभावकारी ढङ्गले अगाडि बढाउँदै विद्यार्थीलाई सीपसँगै आर्थिक उपार्जनसँग जोड्न समन्वयकारी भूमिका निर्वाह गर्न स्रोत शिक्षकको व्यवस्था मिलाएको उनले बताए ।

विद्यार्थीले घरमा पालेका कुखुराको आम्दानी आफैँले किताब, कपी, कलमलगायत शैक्षिक सामग्री खरिदमा उपयोग गर्न सक्ने भएकाले परिवारमा आर्थिक बोझ कम हुने दाबी उनको छ । विद्यालयमा पालिएका कुखुरा, चल्ला तथा अण्डा बिक्रीबाट आएको रकम एकमुष्ट सङ्कलन गरी विद्यार्थीलाई दामासाहीले वितरण गरिन्छ ।

विद्यालयले मौरी पालन, च्याउखेती, सिलाइबुनाइ, वेल्डिङजस्ता व्यावहारिक सीप विद्यार्थीलाई सिकाउँदै आएको छ । साथै धान, मकै, कोदोलगायत खेती गरेर उत्पादित अन्न विद्यालय समयमा खाजाका रूपमा पनि प्रयोग गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, १२ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.