विराटनगर । विक्रम सम्वत् २०७४ सालको स्थानीय तह निर्वाचनमा मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)बाट शिवनारायण माझी (४७२०मत) निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी जयप्रकाश गच्छदारसँग (४६६१मत) को मतान्तर ५९ थियो । पाँच वर्षपछि २०७९ को स्थानीय तह निर्वाचनमा माझीलाई १५१२ मतान्तरले पराजित गर्दै गच्छदार अध्यक्षमा विजयी भए ।
२०७४ मा तत्कालीन फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेका गच्छदार २०७९ मा निर्वाचित हुँदा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए । अध्यक्षमा विजयी भएका गच्छदारको ३ असारमा निधन भएपछि ग्रामथानमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनमा सानाठूला दलका १५ र एक स्वतन्त्रसहित १६ जना उम्मेदवार छन् । दुईपटक आलोपालो चुनाव जितेका दललाई यो पटक सहज छैन ।
किनकी ग्रामथानमा नेकपा माओवादी केन्द्रबाट कांग्रेस छाडेका नमोनारायण माझी उम्मेदवार छन् । एमालेको आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवार चुनावी मैदानमा छन् ।
थारु समुदायमा प्रभाव पारेको नागरिक उन्मुक्ति पार्टी र रवि लामिछाने नेतृत्वको रास्वपा पनि बलियो प्रतिस्पर्धी हुन् । २६ हजार ४४ मतदाता रहेको ग्रामथान थारु बाहुल्य क्षेत्र हो । यो क्षेत्रमा करिब ६० प्रतिशत थारु समुदायकाे बसाेबास छ ।
ग्रामथानको अध्यक्षमा एमालेबाट तुलसीराम विश्वास,नेपाली कांग्रेसबाट बलराम सरदार,नेकपा (माओवादी केन्द्र)बाट नमोनारायण माझी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नवीनकुमार विश्वास, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिनेशकुमार थन्दार (दिवेश),अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा,उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी र समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर र स्वतन्त्र उम्मेदवार नमनारायण चौधरी छन् । नेकपा एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका चौधरीले मुढा चुनाव चिन्ह पाएका छन् ।
७ वटा वडा रहेको ग्रामथानमा २६ हजार ४४ मतदाता छन् । २०७९ सालको स्थानीय निर्वाचनमा २५ हजार ९ सय ४२ मतदाता थिए । उपनिर्वाचनका लागि १२ वटा मतदानस्थल र २० वटा मतदान केन्द्र छन् ।
घरदैलोमा उम्मेदवार
निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारले घरदैलो अभियान तिव्र बनाएका छन् । चुनावी माहोलले छोपेको ग्रामथानका सडक र चोक–चोकमा पार्टीका झण्डा र ब्यानरहरु राखिएका छन् । उम्मेद्वारका पोष्टर र पर्चा पनि जताततै टासिएका छन् । प्रचारप्रसारमा ठूला तीन दल कांग्रेस एमाले र माओवादी केन्द्र अगाडि छन् ।प्रमूख ठूला तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले ग्रामथानलाई आफ्नो प्रतिष्ठानको विषय बनाएका छन् । तीन दलका केन्द्रीय तहका ग्रामथान केन्द्रीत छन् ।

ग्रामथान मोरङको क्षेत्र नम्बर– ४ मा पर्छ, यो क्षेत्रबाट नेकपा माओवादी केन्द्रबाट अमनलाल मोदी दोस्रो पटक निर्वाचित भएका थिए । प्रदेशसभा (४को (१) बाट एमाले उम्मेदवार जयप्रकाश चौधरी विजयी भएका थिए ।
ग्रामथानका स्थानीय भएका कारण मोदीले निर्वाचनलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । कांग्रेस र एमाले नेताले पनि ग्रामथानलाई प्रतिष्ठानको विषय बनाएका हुन् । तीन वटै दलका शीर्ष तहका नेताहरु ग्रामथानको घरदैलोमा छन् ।
नेपाली कांग्रेसका नेता महेश आचार्य, मिनेन्द्र रिजाल, डिकबहादुर लिम्बू,डिला संग्रौला, प्रदेश सांसद अमृत अर्याल,गुरु घिमिरे, सांसद भीम पराजुलीलगायत ग्रामथान केन्द्रीत भएका छन् । एमालेबाट कोशी प्रदेश इन्चार्ज तथा प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईदेखि, प्रदेश अध्यक्ष घनश्याम खतिवडा,विनोद ढकाल, जीवन घिमिरेलगायत नेता घरदैलोमा छन् ।
माओवादीबाट पूर्व मन्त्री तथा सोही क्षेत्रका सांसद अमनलाल मोदी, माओवादीका कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेल, सहइन्चार्जहरु सावित्रीकुमार काफ्ले, अजम्बर काङ्माङ, राष्ट्रियसभाका प्रमुख सचेतक गोपी अछामी, पूर्वराज्यमन्त्री विजयकुमार विश्वास कुलप्रसाद साम्बालगायत चुनावी मैदानमा छन् ।
ठूला दलका उम्मेदवारले सडक पूर्वाधार निर्माण, शिक्षाको गुणस्तर सुधार, सहज रुपमा मल विउ वितरणलाई मुख्य एजेण्डा बनाएका छन् ।
नेकपा एमाले उम्मेदवार तुलसीराम विश्वास मतदाताको साथ राम्रो भएका कारण आफूले चुनाव जित्ने दाबी गर्छन् । उनको बुझाइमा एमालेको प्रतिस्पर्धी कांग्रेस हो । ‘घरदैलोमा मतदाताको फिटब्याक राम्रो पाएको छु, ग्रामथानबासीबाट जति रेस्पन्स पाए नि चुनाव हुन बाँकी छ, तर आजै पनि मलाई बिजयी घोषित गर्दा फरक पर्दैन्,’उनले भने,‘ जनताको समस्या बुझेर उम्मेदवारी दिएको हो ।’
नेकपा माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आफ्नो उम्मेदवारी भएको दाबी गर्छन् । जनताबाट राम्रो रेस्पोन्स पाएको बताउँदै उनले भने,‘ जनताले मलाई विजयी गराउनुहुन्छ ।’ माझी २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन फोरम लोकतान्त्रिकबाट ग्रामथान १ को अध्यक्षमा विजयी भएका थिए । जनताको प्रतिनिधि भएर एक कार्यकाल वडामा काम गरेको बताउँदै उनले निर्वाचित भएपछि पालिकाको सुधार गर्ने बताउँदै आएका छन् ।
सो क्षेत्रका सांसद तथा माओवादी नेता अमनलाल मोदी माओवादीले चुनाव जित्ने दाबी गर्छन् । स्थानीय तहमा आफ्नो दलको उम्मेदवार बिजयी भए संघबाट बजेट ल्याएर सहज रुपमा विकास गर्ने उनको दाबी छ ।
नेपाली कांग्रेस उम्मेदवार सरदार पूर्व अध्यक्ष गच्छदारले अघि सारेका योजनालाई पूरा गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताउँछन् । उनले निर्वाचित भए पालिकाको विद्ययालयमा निशुल्क कपी कलम बाड्ने योजना रहेको बताए । ‘जयप्रकाशले (पूर्व अध्यक्ष) अघि सारेका योजनाहरु पूरा गर्नका लागि मेरो उम्मेदवारी हो,’ उनले भने,‘ कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास गर्ने योजना छ ।’ ब्लड प्रेसर घरघरमै गएर जाँच्ने र औषधि वितरण गर्ने उनको एजेण्डा छ ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका नविनकुमार विश्वास स्थानीय तह निर्वाचनमा राष्ट्रीय स्वतन्त्र पार्टीबाट अध्यक्षको उम्मेदवार बनेका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा ८८५ मत पाएका उनी पालिका अध्यक्षका लागि घरदैलो अभियानमा छन् । पार्टी सभापति रवि लामिछानेलाई वर्तमानसत्ता समीकरणले जवरजस्ती थुनामा राखेकोसहित आफ्ना एजेण्डाहरु प्रस्तुत गरिरहेका छन् । अन्य उम्मेदवारले पनि चुनावी अभियान सञ्चालन गरिरहेका छन् ।
ग्रामथानमा १६ जना उम्मेदवार भएपनि मुख्य प्रतिस्पर्धी तीन ठूला दल भएको ग्रामथानका पूर्व शिक्षक तथा सामाजिक अगुवा भरत गुरागाईं बताउँछन् । थारु बाहुल्य क्षेत्रमा पहाडी समुदायको मत निर्णयक हुने उनको बुझाई छ । ‘यहाँ त्रिपक्षीय प्रतिस्पर्धा छ,’ उनी भन्छन्,‘ठूला दुई दल भित्र केही असन्तुष्टि पनि देखिन्छ ।’ कांग्रेस उम्मेदवार सरदार कांग्रेसको संस्थापन इतर समूहका हुन् । उनी उम्मेदवार भएपछि संस्थापनबाट खुलेर सहयोग नभएको कांग्रेसकै नेताहरु बताउँछन् । तर नेपाली कांग्रेस मोरङ उपसभापति भक्तिनाथ माझी भने पार्टीले अघि सारेको उम्मेदवारले चुनाव जित्ने दाबी गर्छन् ।‘ अहिले एमाले माओवादी केन्द्रबीच दोस्रो हुने प्रतिस्पर्धा छ, कांग्रेस पहिलो हुन्छ,’उनले भने ।
मतदाताको आफ्नै गुनासो
सत्यनारायण चौधरी मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर ५ कखरमारी टोलका बासिन्दा हुन् ।
उपनिर्वाचनका लागि दलहरु घरदैलोमा व्यस्त भएका बेला उनीसहित टोलका स्थानीय २०७४ साल र २०७९ सालको निर्वाचनमा बिजयी भएका उम्मेदवारले चुनाव जितेपछि चासो नदिएको गुनासो गर्छन् ।
कखरमारी टोलमा सरकारी विद्यालयहरुको अवस्था नाजुक छ । उम्मेदवारले बाँचा गरेपनि जितेपछि सडक सुधार, सडकबत्ती लगायत क्षेत्रमा काम नगरेको स्थानीय रेखा साह बताउँछिन् ।
ग्रामथान गाउँपालिकाका अधिकांश मानिसहरु कृषि पेशामा निर्भर छन् । मल,उन्नत जातको बीउ नपाउने समस्या समाधान नभएको स्थानीय जितेन्द्र सरदार बताउँछन् । उनी भन्छन्,‘‘पार्टी भन्दा पनि ठाउँको विकास गर्ने,जनताको समस्या बुझ्नेलाई भोट दिन्छौं ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,447)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)