पुथाउत्तरगंगाको वडा अध्यक्षमा जगत घर्ती निर्विरोध

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेकपा माओवादी केन्द्रको आधार क्षेत्र मानिएको रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर – २ को अध्यक्षमा जगत घर्ती निर्विरोध भएका छन् ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार घर्ती निर्विरोध अध्यक्ष चुनिएका हुन् । औपचारिक घोषणा हुन बाँकी छ ।

कांग्रेस–एमालेको गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध भएका हुन् ।

यो गाउँपालिकाको उपाध्यक्षमा कांग्रेस एमालेको गठबन्धन छ । उपाध्यक्ष पदमा कांग्रेसको चुनाव चिह्नबाट एमालेकी जिल्ला उपसचिव केशकुमारी तुलाचन उम्मेदवार छिन् ।

पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी एकीकृत समाजवादीले उपाध्यक्षको उम्मेदवार सुनिता बुढालाई उम्मेदवारी फिर्ता गर्न लगाएर माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढालाई समर्थन गरेको छ ।

२०७९ को निर्वाचनमा गाउँपालिकाको उपाध्यक्ष पदमा विजयी भएकी माओवादी केन्द्रकी भुपेन्द्रा बुढा र वडा नम्बर २ का अध्यक्ष माओवादी केन्द्र जसबहादुर शिर्पालीको बागलुङमा भएको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति: बुधबार, ०५ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.