चार विद्यालयमा ‘थ्री जिरो’सँग सम्बन्धित हाजिरजवाफ र वक्तृत्वकला  प्रतियोगिता

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सहकार्यमा तीन वटा विद्यालयले हाजिरजवाफ प्रतियोगिता आयोजना गरेका छन् ।

मोरङको जहदा गाउँपालिका– ५ मा रहेको जनता माध्यमिक विद्यालय, धनपालथान गाउँपालिका ३ सोराभागमा रहेको शिवशक्ती माध्यमिक विद्यालय, धनपालथान गाउँपालिका – २ मा रहेको जनता माध्यमिक विद्यालयमा हाजिरजवाफ प्रतियोगिता आयोजना गरेको हो ।

धनपालथान गाउँपालिका ७ मा रहेको जीवन विकास पब्लिक स्कुलले वक्तृत्वकला प्रतियोगिता आयोजना  गरेको छ ।

जीवन विकास लघुवित्त, थ्री जिरो क्लब र नव बिहानीसँगको सहकार्यमा सञ्चालन भएको प्रतियोगितामा विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

हाजिरजवाफमा तीन शून्य ( शून्य गरीबी, शून्य बेरोजगारी, शून्य खुद कार्वन उत्सर्जन) सँग सम्बन्धित प्रश्नहरू सोधिएको थियो । वक्तृत्वकला प्रतियोगिता जलवायु परिवर्तनमा युवाको भूमिका विषयमा आधारित थियो ।

जीवन विकासका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले गरिबी बेरोजगारी र कार्वन उत्सर्जन कम गर्नका लागि युवा अवस्थादेखि नै लाग्नका लागि प्रेरित गर्न विद्यार्थीसँग कार्यक्रम आयोजना गरिएको बताए । ‘गरिबी, बेरोजगारी र कार्वन उत्सर्जन संसारका सबै देशमा छ, यसको मात्रा मात्रै फरक छ,’ उनले भने,‘ संसारको समस्या समाधानका लागि सानै उमेरदेखि लाग्यौँ भने गरिबी, बेरोजगारी र कार्वन उत्सर्जन कम गर्न सक्छौं ।’

बिहीबार र शुक्रबार सञ्चालन भएकाे प्रतियोगितामा विजयी भएका विद्यार्थीलाई पुरस्कार पनि वितरण गरिएको थियो ।

शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्यसहित  थ्री जिरो अर्थात तीन शून्य क्लबले काम गरिरहेका छन् । थ्री जिरो क्लबमा १२ वर्षदेखि ३५ वर्ष उमेर समूहका युवाले सहभागिता जनाउन पाउँछन् ।  एउटा क्लबमा पाँच जना सदस्य हुन्छन् । वातावरण संरक्षण र अतिविपन्न परिवारको सहयोगमा थ्री जिरो क्लब बढी सक्रिय छन् ।

थ्रि जिरो क्लबको अवधारणा नोबेल शान्ति पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसले अघि सारेका थिए । थ्री जिरो क्लब विश्वका ५० भन्दा बढी देशमा  फैलिएको छ । जीवन विकासले सामाजिक कार्य गर्दा थ्री जिरो क्लबसँग सहकार्य गर्दै आएको छ । थ्री जिरो क्लबसँग सहकार्य गरिरहेको जीवन विकासले सन् २०२२ यता लगातार तेस्रो पटक थ्री जिरो सहयोगी संस्थाको अवार्ड प्राप्त गरेको थियो ।

प्रकाशित मिति: सोमबार, ०३ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.