अलैँचीको मूल्य १० वर्षयताकै उच्च

Satya Sanchar सत्य सञ्चार

ताप्लेजुङ । पूर्वी पहाडी एवं हिमाली जिल्लामा मनग्य उत्पादन हुने अलैँचीको मूल्य एक दशकयताकै उच्च भएको छ ।

मूल्य प्रतिमन (४० किलोको एक मन) एक लाख हाराहारी पुगेको हो । अलैँचीको मूल्य लाख छेउछाउ पुग्न १० वर्ष लाग्यो । यसवर्ष अलैँचीले राम्रो भाउ पाएको छ ।

विगतमा अलैँचीले मूल्य नपाउँदा कृषक मर्कामा परेका थिए । अहिले उत्साहित भएका छन् । अलैँची विदेशबाट सबैभन्दा धेरै पैसा भित्राउने नगदे बाली पनि हो । स्थानीय बोलीचालीको भाषामा यसलाई ‘खोल्सीको कालो सुन’ पनि भनिन्छ ।

यसवर्ष बिक्री गर्ने सिजनमै कृषकले राम्रो मूल्य पाएका छन् । अहिले पहाडी जिल्लामै प्रतिमन ९० देखि ९५ हजार मूल्यसम्ममा किनबेच भइरहेको छ । कुनै ठाउँमा मूल्य ९८ हजारसम्म पनि छ ।

अलैँची व्यापारी एवं उद्योग वाणिज्य संघ इलामका अध्यक्ष चेतनाथ पौडेल (कृष्ण) गुणस्तरीय अलैँचीले राम्रो मूल्य पाएको बताउँछन् । उनका अनुसार अलैँचीको मूल्य २०७९ सालमा प्रतिमन ३२ हजार र २०८० सालमा ६० हजार प्रतिमन थियो ।

अलैँचीको मूल्य १० वर्षअघि एक लाख नाघेको थियो । त्यसपछि घटेर प्रतिमन १० हजार रूपैयाँसम्ममा पनि कारोबार भयो । अहिले फेरि भाउ उच्च भएको छ ।

मूल्य बढे पनि अलैँची खरिद र निकासीमा कुनै समस्या नरहेको पौडेलले बताए । उनका अनुसार अहिले भारत र तेस्रो मुलुकमा माग उच्च छ । माग उच्च भएकै कारण मूल्य ह्वात्तै बढेको व्यापारीहरु बताउँछन् ।

दशकअघि मूल्य उच्च हुँदा किसानले अरू सबैजसो बाली मासेर अलैँची लगाएका थिए । तर, भाउ घट्दा निक्कै निराश पनि भए । त्यहाँमाथि रोगको प्रकोप र जंगली जनावरले दिएको सास्ती त छँदै थियो ।

एकपटक रोपेपछि दशकौंसम्म फलिरहने स्थानीय जातको अलैँचीले केही वर्षअघि देशकै अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको थियो । तर, रोग र कीराको संक्रमणले ९० प्रतिशतभन्दा बढी अलैँची सखाप बनायो । किसानका बगान उजाडिए ।

किसानले पुनः भारतबाट भित्रिएको नयाँ जातको अलैँची लगाएका थिए । तर, प्रतिफल राम्रो दिएन ।

व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार बर्सेनि सवा चार अर्ब रुपैयाँ बराबरको अलैँची विदेश निकासी हुन्छ । चालु वर्ष २०८१÷०८२ को पहिलो तीन महिनामा ७ सय ८३.७५ मेट्रिक टन अलैँची मेची भन्सारबाट निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशतले थोरै हो ।

आव २०८०÷०८१ यो अवधिमा १ हजार ५ सय २५.९६ मेट्रिक टन अलैँची निर्यात भएको थियो । अलैँची देशका ४२ जिल्लामा उत्पादन हुने गरेको छ । नेपाल सबैभन्दा बढी अलैँची उत्पादन गर्ने देश हो ।

पूर्वी पहाडका ७ जिल्लामा कूल उत्पादनको ९४ प्रतिशत अलैँची फल्छ । इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, धनकुटा, तेह्रथुम र भोजपुर अलैँची उत्पादनमा प्रख्यात छन् ।

किसानले अलैँची भर्खरै थन्क्याइसकेका छन् । अब किसानको घरबाट धमाधम अलैँची बजार पुग्न थालेको छ । भोजपुरको षडानन्द नगरपालिकाका कृषक देवबहादुर तामाङ यसवर्ष अलैँचीले राम्रो मूल्य पाएको बताउँछन् ।

‘कीरा र रोगको संक्रमणले अलैँचीमा धेरै दुःख दिएको छ । बोटहरु मरेका छन् । तर, बाँचेका बोटमा फलेको अलैँचीले राम्रो मूल्य पायो । यसवर्ष अलैँची कृषकलाई राहत मिलेको छ,’ उनले भने । तामाङका अनुसार २०७१ सालतिर अलैँचीको मूल्य प्रतिमन एक लाख नाघेको थियो ।

प्रकाशित मिति: आइतबार, २५ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.