ताप्लेजुङ । पूर्वी पहाडी एवं हिमाली जिल्लामा मनग्य उत्पादन हुने अलैँचीको मूल्य एक दशकयताकै उच्च भएको छ ।
मूल्य प्रतिमन (४० किलोको एक मन) एक लाख हाराहारी पुगेको हो । अलैँचीको मूल्य लाख छेउछाउ पुग्न १० वर्ष लाग्यो । यसवर्ष अलैँचीले राम्रो भाउ पाएको छ ।
विगतमा अलैँचीले मूल्य नपाउँदा कृषक मर्कामा परेका थिए । अहिले उत्साहित भएका छन् । अलैँची विदेशबाट सबैभन्दा धेरै पैसा भित्राउने नगदे बाली पनि हो । स्थानीय बोलीचालीको भाषामा यसलाई ‘खोल्सीको कालो सुन’ पनि भनिन्छ ।
यसवर्ष बिक्री गर्ने सिजनमै कृषकले राम्रो मूल्य पाएका छन् । अहिले पहाडी जिल्लामै प्रतिमन ९० देखि ९५ हजार मूल्यसम्ममा किनबेच भइरहेको छ । कुनै ठाउँमा मूल्य ९८ हजारसम्म पनि छ ।
अलैँची व्यापारी एवं उद्योग वाणिज्य संघ इलामका अध्यक्ष चेतनाथ पौडेल (कृष्ण) गुणस्तरीय अलैँचीले राम्रो मूल्य पाएको बताउँछन् । उनका अनुसार अलैँचीको मूल्य २०७९ सालमा प्रतिमन ३२ हजार र २०८० सालमा ६० हजार प्रतिमन थियो ।
अलैँचीको मूल्य १० वर्षअघि एक लाख नाघेको थियो । त्यसपछि घटेर प्रतिमन १० हजार रूपैयाँसम्ममा पनि कारोबार भयो । अहिले फेरि भाउ उच्च भएको छ ।
मूल्य बढे पनि अलैँची खरिद र निकासीमा कुनै समस्या नरहेको पौडेलले बताए । उनका अनुसार अहिले भारत र तेस्रो मुलुकमा माग उच्च छ । माग उच्च भएकै कारण मूल्य ह्वात्तै बढेको व्यापारीहरु बताउँछन् ।
दशकअघि मूल्य उच्च हुँदा किसानले अरू सबैजसो बाली मासेर अलैँची लगाएका थिए । तर, भाउ घट्दा निक्कै निराश पनि भए । त्यहाँमाथि रोगको प्रकोप र जंगली जनावरले दिएको सास्ती त छँदै थियो ।
एकपटक रोपेपछि दशकौंसम्म फलिरहने स्थानीय जातको अलैँचीले केही वर्षअघि देशकै अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको थियो । तर, रोग र कीराको संक्रमणले ९० प्रतिशतभन्दा बढी अलैँची सखाप बनायो । किसानका बगान उजाडिए ।
किसानले पुनः भारतबाट भित्रिएको नयाँ जातको अलैँची लगाएका थिए । तर, प्रतिफल राम्रो दिएन ।
व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार बर्सेनि सवा चार अर्ब रुपैयाँ बराबरको अलैँची विदेश निकासी हुन्छ । चालु वर्ष २०८१÷०८२ को पहिलो तीन महिनामा ७ सय ८३.७५ मेट्रिक टन अलैँची मेची भन्सारबाट निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशतले थोरै हो ।
आव २०८०÷०८१ यो अवधिमा १ हजार ५ सय २५.९६ मेट्रिक टन अलैँची निर्यात भएको थियो । अलैँची देशका ४२ जिल्लामा उत्पादन हुने गरेको छ । नेपाल सबैभन्दा बढी अलैँची उत्पादन गर्ने देश हो ।
पूर्वी पहाडका ७ जिल्लामा कूल उत्पादनको ९४ प्रतिशत अलैँची फल्छ । इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, धनकुटा, तेह्रथुम र भोजपुर अलैँची उत्पादनमा प्रख्यात छन् ।
किसानले अलैँची भर्खरै थन्क्याइसकेका छन् । अब किसानको घरबाट धमाधम अलैँची बजार पुग्न थालेको छ । भोजपुरको षडानन्द नगरपालिकाका कृषक देवबहादुर तामाङ यसवर्ष अलैँचीले राम्रो मूल्य पाएको बताउँछन् ।
‘कीरा र रोगको संक्रमणले अलैँचीमा धेरै दुःख दिएको छ । बोटहरु मरेका छन् । तर, बाँचेका बोटमा फलेको अलैँचीले राम्रो मूल्य पायो । यसवर्ष अलैँची कृषकलाई राहत मिलेको छ,’ उनले भने । तामाङका अनुसार २०७१ सालतिर अलैँचीको मूल्य प्रतिमन एक लाख नाघेको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)