विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीमा मुछिएका छन् । मन्त्रीकाे हैसियतमा जापान गएका अधिकारी विमानस्थलबाटै डिपाेट भएपछि मन्त्रीबाट बुधबार राजीनामा दिएका थिए ।
कानुन अध्ययन गरेका अधिकारी एमालेबाट निर्वाचित सांसद हुन् । उनले जापान जानका लागि न्यूनतम प्रक्रियासमेत पुरा गरेका थिएनन् । अधिकारीसँगै जापानको टोकियो विमानस्थलबाट पाँच जना डिपोर्ट भएर फर्किएपछि उनी मानव तस्करीमा जाेडिए, विवादमा परेपछि बुधबार मन्त्री पदबाट राजीनामा दिएका थिए । याे घटनाकाे प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।
अधिकारीको व्यक्तिगत भनिएको जापान यात्रा मन्त्रिपरिषद्बाट स्वीकृत भएको थिएन । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जाने अनुमति दिएका थिएनन् ।
त्रिभुवन विमानस्थलबाट एक्लै हिँडेका अधिकारीसँग हङकङको ट्रान्जिटका बेला भ्रमण दलका सदस्य भन्दै खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३६ वर्षीय दावा शेर्पा, खोटाङकै कोपिलासगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई र रसुवाको कालिका गाउँपालिका– ५ का २२ वर्षीय कञ्चन देवकोटा अधिकारीसँग मिसिएका थिए । उनीहरुले जापान जानका लागि मानव तस्करकाे गिराेहलाई १० लाखदेखि १३ लाख रुपैयाँसम्म बुझाएका थिए ।

‘त्रिभुवन विमानस्थलमा उनीहरुलाई देखेको मात्र भए म कुनै हालतमा जाने नै थिइनँ । हङकङ एयरपोर्टमा भेट्न आएपछि मेरो जिउ भारी भयो, छटपटी भयो, फर्कने चेस्टा गरेँ, पार लागेन,’ तस्करीमा मुछिएका अधिकारीले भने, ‘अनि मलाई गलत रोक्नुपर्छ भन्ने लाग्यो, इमिग्रेसनमा जे सत्य थियो त्यही भनेँ, गिरोहले मलाई प्रयोग गरेका रहेछन्, झट्टै विश्वास गर्दा फसेँ ।’
‘इन्टरनेसनल कन्फ्रेन्स अन ओपन एक्सेस टु कल्चर इन जापान’ कार्यक्रममा जानुपर्छ भन्दै मोरङको रतुवामाई नगरपालिका घर भइ काठमाडौं बस्दै आएका गोपाल गौतमले चाँजोपाजो मिलाएका थिए । एमालेका कार्यकर्ता गौतम एमाले संसदीय दलको कार्यालय वरपर भेटिन्छन् । उनी सामान्य ठेकेदार हुन् ।
गौतमले भ्रमणको चाँजापाँजो मिलाउने बताएपछि आफू जान राजी भएको अधिकारी जिकिर गर्छन् । तिहारको छुट्टीमा घुमेर पनि आउने भन्दै अधिकारीले आफ्नो राहदानी गौतमलाई बुझाएका थिए । २६ अक्टोबरमा गौतमले नै भिसा लाग्यो भन्दै अधिकारीलाई खबर गरेका थिए ।
भोलिपल्टको टिकट छ भन्दै गौतमले बोलाएपछि अधिकारी काठमाडौं पुगे । २७ अक्टोबर दिउँसो विमानस्थल अगाडिको क्याफेमा गौतमसँगै आएका महेशविक्रम पाण्डेले जापानको कार्यक्रमको भन्दै डकुमेन्ट बुझाएका थिए । पाण्डेले आफू जापानमा हुने कार्यक्रमको नेपाल प्रतिनिधि भन्दै चिनजान गरेको अधिकारी बताए ।
‘एयरपोर्ट अगाडिको क्याफेमा तपाईं एक्लै जाने हो, कार्यक्रम राम्रो छ मन्त्रीज्यू भनेपछि म त मख्खै परेँ,’ अधिकारीले भने, ‘मलाई प्रयोग गरेर मान्छे पठाएछ भन्ने थाहा पाएपछि प्रहरीलाई सम्पर्क गरेर जानकारी गराएँ ।’ उनले नेपाल प्रहरी विशेष ब्यूराेका डिआइजी राजन अधिकारी र काेशी प्रदेश प्रहरी प्रमुख चन्द्रकुबेर खापुङलाई खबर गरेका थिए ।
नेपाल प्रहरी कोशी प्रदेशका डिआइजी चन्द्रकुबेर खापुङले मन्त्री अधिकारीले आफूलाई फसाएको भन्दै ह्वाटसपमा म्यासेज गरेको बताए । ‘मलाई प्रयोग गरेर मान्छे लान खोजेका रहेछन, म फसाइएछु, नक्कली कागजात पनि भेटिएको छ यिनीहरुलाई कारवाही गर्नुपर्छ भनेर म्यासेज गर्नुभएको थियो,’ डिआइजी खापुङले भने, ‘यो घटनामा सबै विषय अनुसन्धानपछि खुल्ला, उहाँले मलाई म्यासेज गर्नुभएको हो, आउनुहोस् सल्लाह गरौंला भनेको थिएँ ।’
जापानकाे अध्यागमनबाट फर्काइएका ३ जनासँग नक्कली कागजात भेटिएको थियाे । नक्कली परिचय पत्र र जापान गएका तीन जना व्यक्तिको फोटो मन्त्री अधिकारीले जापान विमानस्थलबाटै नेपाल प्रहरी विशेष ब्यूरोका डिआइजी राजन अधिकारीलाई पठाएका थिए । जापानबाट फर्कंदै गरेको विमानको विवरण पनि पठाएका थिए । टोकियोबाट फर्किएकाहरुलाई विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको डिआइजी अधिकारी बताउँछन् ।
जापान विमानस्थलबाट नेपाल फर्काइएका खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३६ वर्षीय दावा शेर्पासँग सोही वडाको वडा सदस्यको परिचय पत्र थियो । उनको परिचयपत्र नक्कली हो । ऐसेलुखर्कका प्रमुख कार्यकारी अधिकृत रेखबहादुर थापाका अनुसार पालिकामा दावा शेर्पा नाम गरेका जनप्रतिनिधि छैनन् ।
खोटाङकै कोपिलासगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई र रसुवाको कालिका गाउँपालिका– ५ का २२ वर्षीय कञ्चन देवकोटासँग कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहायकस्तरका कर्मचारीको परिचय पत्र थियो । निमित्त कार्यालय प्रमुखले हस्ताक्षर गरेको परिचय पत्रमा निमित्त कार्यालय प्रमुख भनेर लिलाबल्लभ अधिकारीकै नाम लेखिएको छ, अधिकारीकै हस्ताक्षर पनि देखिन्छ । अधिकारीले त्याे हस्ताक्षर आफ्नाे नभएकाे दाबी गरे ।

प्रहरी स्रोतका अनुसार टोकियो विमानस्थलमा कागजात शंकास्पद भेटिएपछि जापानको अध्यागमनले केरकार गरेको थियो । त्यसपछि मन्त्रीसहित अन्यलाई नेपाल डिपोर्ट गरेको थियो ।
प्रहरीले यो घटनाको छानबिन गरिरहेको छ । यो घटनाको अनुसन्धानका लागि प्रहरीले मन्त्रीसँगै जापानको विमानस्थलबाट फर्किएका तीन जनालाई विमानस्थलबाट पक्राउ गरेको थियो ।
उनीहरुको बयानका आधारमा दोलखा जिरी नगरपालिका–९ का बीरबहादुर सुनुवार, नुवाकोट बिदुर नगरपालिका– ७ का २२ वर्षीय जुगल रिजाल र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ का ३४ वर्षीय महेशविक्रम पाण्डे पक्राउ परेका छन् । पक्राउ परेकामध्ये पाण्डेले मन्त्रीको डकुमेन्टको चाँजोपाँजो मिलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर प्रहरीले यसबारे औपचारिक रुपमा बताउन मानेको छैन । यो गिरोहमा अन्य व्यक्ति पनि जोडिएको प्रहरीको भनाइ छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,447)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)