विराटनगर । सदस्यको बचत अपचलनको अनुसन्धानका लागि मोरङको धनपालनाथ गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाका १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सहकारीका शम्भुप्रसाद रौनियारसहित १० जनाविरुद्ध जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको हो । प्रहरीले सबैको नाम खुलाएको छैन ।
प्रहरी स्रोतका सहकारी ठगी प्रकरणमा जोडिएका नेकपा (एमाले)का नेता एवं संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाको नाम भने पक्राउ पुर्जीमा समावेश छैन ।
२०६८ सालमा स्थापना भएको यो सहकारीमा सांसद पोखरेलकी पत्नी दुई कार्यकाल सञ्चालक समितिमा रहेर काम गरेकी थिइन् । सहकारी संकटमा परेपछि कोइरालाले २०७८ माघ ५ गतेदेखि सहकारीबाट राजीनामा दिइन् । सहकारीबाट राजीनामा दिए पनि उनी सञ्चालक समितिमा रहँदा सहकारीले लिएको ऋण नतिरेका कारण आरएसडीसी लघुवित्त वित्तीय संस्थाले कोइरालासहितका सञ्चालकलाई कालोसूचीमा राखेको छ ।
सहकारीका वर्तमान १० सञ्चालकविरुद्ध जिल्ला अदालत मोरङबाट सहकारीको बचत अपचलन मुद्दामा पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।
प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले पठाएको पत्रका आधारमा मुद्दा दर्ता गरेर पक्राउ पुर्जी लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए । प्रहरीले पक्राउ पुर्जी लिए पनि प्रहरी कार्यालयमा उजुरी गर्न सहकारीका बचतकर्ता तथा ऋणी पुगेका छैनन् ।
सर्वाधारणको बचत तथा ऋण अपचलन गरेपछि सहकारीको कार्यालय बन्द छ । सञ्चालकलाई कार्यालय खोल्न आग्रह गर्दा असहयोग गरेपछि प्रहरीले गत कात्तिक १४ गते सटरको ताला फुटाएर कागजात जफत गरेको थियो ।
अनुसन्धानका लागि सहकारी सञ्चालकले असहयोग गरेपछि बन्द रहेको कार्यालयबाट कागजात लगिएको डीएसपी जोशीले बताए । ‘यो घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यहाँ पत्राचार गरियो । समन्वय गर्नपनि खोजियो । तर, कोही सम्पर्कमा नआएपछि रीतपूर्वक प्रक्रिया मिलाएर खानतलासी गरिएको हो । इलाका प्रहरी कार्यालय रंगेलीमार्फत अनुसन्धान भइरहेको छ,’ उनले भने ।
सहकारीका सञ्चालक कार्यालय बन्द गरेर हिँडेपछि कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले उमागौरी कृषि सहकारीको विषय अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो । उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ । सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,447)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)