आज बिहान कुकुर तिहार, बेलुका लक्ष्मीपूजा, तिहारको बिदा पनि आजबाट

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । तिहारको तेस्रो दिन आज बिहान कुकुर पूजा र बेलुका लक्ष्मीपूजा गरिँदै छ ।

कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हो । त्यसैले आज बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मनपर्ने परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतम बताउँछन् ।

आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बालेर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास छ ।

आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी बेलुका दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भर्‍याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।

लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औंसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।

लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

आज साँझ घरघरमा भैलो पनि खेल्छन् । तिहारका लागि आजबाट सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति: बिहिबार, १५ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.