विराटनगर । ठेकेदार कम्पनी लुम्बिनी गजुरमुखी जेभिले काम नगर्दा धरान जोड्ने दुई सडकको काम पाँच वर्षदेखि अलपत्र भएको छ ।
धरान उपमहानगरपालिका– १५ को निराजन बस्ती हुँदै कन्यापोखरीसम्मको १६.८७ किलोमिटर सडक र महेन्द्रनगरको बांगे कालाबन्जारहुँदै धरान जोड्ने १३. ५ किलोमिटर सडक गजुरमुखीले अलपत्र पारेको हो । दुवै सडकको निर्माण सक्ने लक्ष्य दुई वर्षको थियो ।
दुई वर्ष भित्र निर्माण सक्ने लक्ष्य राखेको निराजन बस्ती हुँदै कन्यापोखरीसम्मको सडकको काम एक वर्षयता बन्द छ । वर्षाका कारण पहिरो र भेलले सडक भत्किएका कारण गाडी गुड्न सक्ने अवस्था छैन ।

‘दिनैपिच्छे धरान ओहोरदोहोर गर्नुपर्छ, बाटो नबन्दा कति पटक लडियो,’ खुट्टाको डाम देखाउँदै स्थानीय कान्छा राईले भने,‘ ठेकेदारले काम गरेन, गरेको काम पनि गुणस्तरीय भएन ।’ उनका अनुसार सडक भत्काउने काम छिटो भएपनि बनाउने काम भने रोकिएको छ ।
धरान १५ को निराजनवस्ती हुँदै कन्यापोखरीसम्मको यो सडकको लम्बाइ १६.८७ किलोमिटर छ । यो सडक निर्माण सम्पन्न भए डाँडाबजार र पूर्व क्षेत्रबाट धरान आउने बाटो छोटिनेछ, अहिले भेडेटार हुँदै आउनुपर्छ । सडक निर्माण सम्पन्न भए यो बाटो नाम्जो डाँडाबजार र भेडेटार पूर्वको पर्यटकीय क्षेत्रको दूरी छोटिन्छ ।
प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको यो सडक भएको स्थानमा पहिले गोरेटो थियो । गोरेटो भत्काएर कालोपत्रे सडक बनाउन सुरु भएपनि काम अघि बढेन,अहिले सडक ठाउँठाउँमा पहिरोले भत्किएको छ । ‘सडक बनाउँदा बनाउँदै छाडेपछि ठाउँठाउँमा पहिरोले भत्किएको छ,’ स्थानीय अमर राईले भने,‘ सडकले गाउँको स्वरुप नै बिग्रियो ।’

स्थानीय सम्राट क्षेत्रीका अनुसार जथाभावी पहाड खनिएका कारण पहिरो गएको छ । ‘विकासले विनाश भएको छ, जथाभावी पहाड खनिएको छ,’उनले भने,‘ भएको काम पनि काम नलाग्ने भएको छ ।’
यो सडक निर्माणका लागि २०७६ असोजमा लुम्बिनी गजुरमुखी जेभीसँग सम्झौता भएको थियो । ३९ करोड २३ लाख ४१ हजार लागत रहेको सडकको निर्माण सम्पन्न गर्ने अवधि २ वर्षको थियो ।
२०७८ असोज १५ गतेसम्मको समयसीमा पाएको ठेकेदार कम्पनीले पाँच वर्ष बितिसक्दा पनि ५९ प्रतिशत मात्रै काम सम्पन्न गरेको छ । सडक आयोजना निर्माणका लागि तीन पटक म्याद थप भएको छ ।
पछिल्लो थप भएको म्याद अनुसार निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा २०८२ असार ३० गतेसम्म छ । ‘यो ठेकेदारले ठेक्का लिएर पेटी ठेकेदार अर्काे कम्पनीलाई काम दियो, त्यो कम्पनीले काम गरेन,’ स्थानीय कान्छा राईले भने,‘ मुख्य ठेकेदार सम्पर्कमै आएनन् ।’ पेटी ठेक्का दिएर ठेकेदार काठमाडौंमा बसेर काम नगरी बस्दा गाउँमा उपभोक्ताले सास्ती खेप्नु परेको उनले बताए ।
मन्त्रीले सोधे काम गर्ने कि सम्झौता तोडौँ
तीन पटक म्याद थप भएपनि निर्माण सम्पन्न नभएको यो सडकको अनुगमनका लागि शनिबार कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई ठेकेदार प्रतिनिधिलाई पनि लिएर आयोजना स्थल पुगेका थिए ।
आयोजनास्थलमा स्थानीयको आक्रोश सुनेपछि उनले ठेकेदार प्रतिनिधि सन्तोष गाैतमलाई सोधे,‘ काम सम्पन्न गर्ने कि सम्झौता रद्द गरौं ?’ आयोजना स्थलमा ठेकेदार प्रतिनिधि सन्तोष गौतमले चाडै काम सुरु गर्ने जवाफ दिए,त्यसपछि मन्त्रीले भने ‘मिति तोकौं’
गौतमले तिहार र छठ लगतै कात्तिक २८ गतेबाट काम गर्ने बताए, मन्त्री राईले थप दुई दिन समय भयो भन्दै मंसिर १ गतेबाट काम गर्न निर्देशन दिए । आयोजनास्थलमा स्थानीयको उपस्थीतिमा लिखित निर्णयभयो,‘मंसिर १ गतेबाट निर्माण सुरु गर्ने नगरे ठेक्का रद्द गर्ने ।’ मंसिर १ गते भित्र निर्माण उपकरणसहित स्थानीय जनप्रतिनिधिको सम्पर्कमा पुग्नुपर्ने समयसमीमा ठेकेदारलाई मन्त्री राईले दिए । काम नगरे ठेकेदारलाई कारवाही गर्न प्रकृया सुरु गरिसकेको उनले बताए ।
बाङ्गे–धरान जोड्ने सडक पनि उस्तै
निराजन बस्ती हुँदै कन्यापोखरी जस्तै अवस्था छ, बांगेदेखि धरान जोड्ने सडकको । १३.५ किलोमिटरको यो सडक अलपत्र पार्ने पनि ठेकेदार कम्पनी पनि लुम्बिनी गजुरमुखी जेभी नै हो । पाँच वर्षअघि निर्माण सुरु भएको यो सडक अझै अधुरै छ ।

सुनसरी महेन्द्रनगरको बांगे कालाबन्जारहुँदै धरान जोड्ने सडकमा जोड्ने यो सडक निर्माण नहुँदा स्थानीयले सास्ती भोगिरहेका छन् । लुम्बिनी गजुरमुखी जेभीले ठेक्का लिएको सडक सडकको केही ठाउँमा कालोपत्रे भएको छ,बाँकी स्थानमा धुलाम्मे सडक छ । धुलोका कारण स्थानीयको दैनिकी अस्तव्यस्त बनेको स्थानीय सुभास बस्नेतले बताए ।
ठेकेदारले काम नगर्दा जनताले दुःख पाएको बताउँदै उनले भने,‘ तपाईहरु काम नगरी काठमाडौँ बस्नुहुन्छ, गाउँमा धूलो हामीले खानुपर्छ ।’
२०७६ भदौ १२ गते दुई वर्षभित्र सक्नेगरी यो सडक निर्माणको सम्झौता भएको थियो । ३७ करोड २३ लाखमा ठेक्का लागेको यो सडकको लागत भेरियसनसहित पटक पटक म्याद थप हुँदा ४० करोड २७ लाख पुगेको छ ।
करिब ८० प्रतिशत काम सकिएको यो सडकको साइट अझै क्लियर भइसकेको छैन । निर्माण क्षेत्रमा पर्ने केही रुख कटान अनुमति नहुँदा ठेकेदारले बाहाना बनाइरहेका छन् ।
स्थानीयले सडक निर्माण नभएको गुनासो गरेपछि ठेकेदार प्रतिनिधि गौतमले भने,‘हाम्रो समस्या चाहिँ कसले बुझिदिन्छ, रुख कटान अझै भएको छैन, हामीले कसरी काम गर्नु ।’
जंगलमा रुखलाई देखाएर काम गर्न नसकेको जवाफ दिएका गौतमले बस्ती र बजार क्षेत्रमा काम गरेको दाबी गरे । पेटी ठेकेदारलाई जिम्मेवारी दिदा काम हुन नसकेका कारण आफै आएर काम गर्ने उनले बताए । सडक नबन्दा धुलो खान बाध्य भएका स्थानीयको आक्रोश सुनेपछि उनले समयमा नै काम सम्पन्न गर्न नसकेकोमा माफी मागे ।
मन्त्री भूपेन्द्र राई, राज्यमन्त्री भूमी राज्यमन्त्री सहभागी भएको छलफलमा उनले काम सुरु गर्नका लागि मंसिर ५ गतेसम्मको समय मागे । तर स्थानीयले असहमति जनाए, मन्त्री राईले समन्वय गरेपछि मंसिर १० गते भित्र काम सुरु गर्ने माइन्यूट बन्यो । अब मंसिर १० गतेसम्म ठेकेदारले स्थानीय जनप्रतिनिधिको सम्पर्कमा पुगेर काम सुरु नगरे प्रदेशले ठेक्का रद्दको प्रक्रिया अघि बढाउनेछ ।
लुम्बिनी गजुरमुखी जेभीले धरान जोड्ने दुई वटै सडक निर्माणको ठेक्का पाएपछि अन्य ठेकेदारलाई पेटी ठेक्का दिएको थियो । सब कन्ट्याक्टरले काम नगर्दा समस्या भएको गजुरमुखीका सञ्चालक समेत रहेका गौतमले बताए ।
रुग्न आयोजना बारे फिल्डमा निर्णय हुन्छ : मन्त्री राई
भौतिक पूर्वाधार विकास मन्त्री राई प्रदेशका योजनाहरु अध्ययन गर्दा पटक पटक म्याद थप भएको रुग्ण योजना भेटिएपछि निर्णय गर्न आयोजनास्थलमै पुगेका थिए ।
‘मन्त्रालयमा बसेर निर्णय हुँदैन, यस्ता रुग्ण आयोजना बारे आयोजनास्थलमै निर्णय हुन्छ,’ उनले भने,‘मन्त्रालयमा फाइल अध्ययन गर्दै जाँदा सडकको अवस्था देखेपछि हामी आफै ठेकेदारलाई लिएर आएका हौं ।’
उनले रुग्ण दुई आयोजनाको अनुगमन र छलफलपछि ठेकेदारलाई दिएको समय भित्र काम सुरु नगरे ठेक्का तोड्ने बताए । पाँच वर्षसम्म काम नसकेको बताउँदै उनले आयोजनास्थलमा ठेकेदारले जनाएको प्रतिवद्धता अनुसार काम नगरे ठेक्का तोडेर ठेकेदारलाई कालोसूचीमा राख्ने बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,447)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)