पूर्वपश्चिम राजमार्ग : काेशी पूर्व दुई प्याकेजमा हुँदैछ विस्तार

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पूर्वपश्चिम राजमार्ग विस्तारका लागि कोशी प्रदेशको काँकरभिट्टादेखि लौकहीसम्म एक सय २० किलोमिटर सडकमध्ये ९५ दशमलव ७६ किलोमिटर सडक विस्तारको काम जारी छ ।

स्तरोन्नतिपछि काँकरभिट्टा–लौकही सडकखण्डअन्तर्गत सहरी क्षेत्रमा चार लेनको हुनेछ । सडकमा तीन मिटर चौडा डिभाइडर दुवैतर्फ सर्भिस लेनगरी ५० मिटर चौडाइ हुनेछ ।

अर्धसहरी क्षेत्रमा चार लेनको सडकमा दुवैतर्फ एक लेन थप भई ३३ मिटर चौडा सडक हुनेछ । बाँकी भागमा चार लेनको २४ मिटर चौडा सडक रहने छ ।

उक्त आयोजनामा एशियाली विकास बैंकको ८४ दशमलव ९ प्रतिशत ऋण र नेपाल सरकारको १५ दशमलव एक प्रतिशत लगानी रहने छ ।

काँकरभिट्टा–लौकही सडक योजनालाई काँकरभिट्टा–केर्खा सितापुरीसम्म ४५ किलोमिटर पूर्वी खण्ड र केर्खा–इटहरीसम्म ५० दशमलव ७६ किलोमिटर पश्चिमी खण्डमा विभाजन गरिएको छ । दुवै क्षेत्रमा  सडक क्षेत्रमा पर्ने रुख कटान सकिएकाे छ ।

काँकरभिट्टा–केर्खा सडक

पूर्वी खण्डको काकरभिट्टा–केर्खा सडक १० अर्ब ६ करोडमा लागतमा सम्पन्न गर्नेगरी इभरस्कोन–कालिका जेभीले विसं २०८० कात्तिक २ गते सम्झौता गरेको थियो । इञ्जिनियर आश्रय महतका अनुसार सो खण्डमा भौतिक प्रगति पाँच दशमलव ७० प्रतिशत छ ।

सडकखण्डको सीमाभित्र परेका चार हजार सात सय २६ वटा रुख काट्ने काम सकिएको छ ।

सडक खण्डमा पर्ने एक सय ४३ कल्भर्टमध्ये ७२ वटा कल्भर्टको निर्माण भइरहेको छ । चारआली चोक, बिर्तामोड र चारपाने चोकमा मोटरेबल ओभरपास निर्माण हुनेछ ।

उनका अनुसार चारअली जङ्गलमा हात्तीका लागि अण्डरपास र छ वटा पैदलयात्री क्रसिङ बन्नेछन् । तीन सय मिटरभन्दा साना १८ वटा पुल यसै ठेक्काअन्तर्गत निर्माण सम्पन्न हुनेछन् ।

तीन सय मिटरभन्दा लामा निन्दा, बिरिङ र कन्काई पुल निर्माणका लागि पाँच अर्ब ९७ करोडमा निर्माण गर्ने ठेक्का लगाइएको थियो । हालसम्म उक्त पुलको भौतिक प्रगति चार दशमलव २० प्रतिशत रहेको इञ्जिनियर महतले जानकारी दिए ।

केर्खा–इटहरी खण्ड

पश्चिम खण्डअन्तर्गत प्याकेज नं २, ३ र ५ गरी तीन वटा ठेक्का रहेका छन् ।

प्याकेज नं २ झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्म ४० किलोमिटर रहेको छ । उक्त ठेक्का ९ अर्ब १३ करोड ८२ लाखमा सम्झौता भएको इञ्जिनियर पल्लव श्रेष्ठले जानकारी दिए । उक्त सडकखण्डको हालसम्ममा ७ दशमलव पाँच प्रतिशत भौतिक प्रगति रहेको छ ।

यस्तै प्याकेज नं ३ मोरङको गोठगाउँदेखि इटहरी लबिपुरसम्म १० दशमलव ७६ किलोमिटर रहेको छ । ठेक्का सम्झौता ४ अर्ब सात करोड ३५ लाखमा भयो । यस प्याकेजको भौतिक प्रगति तीन प्रतिशत मात्रै छ ।

प्याकेज नं २ र ३ को कूल लम्बाइ ५० दशमलव ७६ किलोमिटरमा २८ वटा तीन सय मिटरभन्दा साना पुल छन् । जुन सम्बन्धित प्याकेजको ठेक्का पाउनेले नै निर्माण गर्नेछ । सडक भित्र पर्ने दुवै प्याकेजका छ हजार छ सय २९ रुख काट्ने काम सकिएको छ ।

तीन सय मिटरभन्दा लामा रतुवा, बक्रा र लोहेन्द्रा पुल निर्माणका लागि पाँच अर्ब ६५ करोड २६ लाख सम्झौता गरिएको थियो । पुलको प्रगति ८ प्रतिशत छ । काँकरभिट्टा–लौकही सडकखण्डअन्तर्गतका प्याकेजका योजनाको निर्माणका लागि तीन वर्षको ठक्का सम्झौता भएको थियो ।

प्रकाशित मिति: बुधबार, ०७ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.