पूर्वपश्चिम राजमार्ग : काेशी पूर्व दुई प्याकेजमा हुँदैछ विस्तार

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पूर्वपश्चिम राजमार्ग विस्तारका लागि कोशी प्रदेशको काँकरभिट्टादेखि लौकहीसम्म एक सय २० किलोमिटर सडकमध्ये ९५ दशमलव ७६ किलोमिटर सडक विस्तारको काम जारी छ ।

स्तरोन्नतिपछि काँकरभिट्टा–लौकही सडकखण्डअन्तर्गत सहरी क्षेत्रमा चार लेनको हुनेछ । सडकमा तीन मिटर चौडा डिभाइडर दुवैतर्फ सर्भिस लेनगरी ५० मिटर चौडाइ हुनेछ ।

अर्धसहरी क्षेत्रमा चार लेनको सडकमा दुवैतर्फ एक लेन थप भई ३३ मिटर चौडा सडक हुनेछ । बाँकी भागमा चार लेनको २४ मिटर चौडा सडक रहने छ ।

उक्त आयोजनामा एशियाली विकास बैंकको ८४ दशमलव ९ प्रतिशत ऋण र नेपाल सरकारको १५ दशमलव एक प्रतिशत लगानी रहने छ ।

काँकरभिट्टा–लौकही सडक योजनालाई काँकरभिट्टा–केर्खा सितापुरीसम्म ४५ किलोमिटर पूर्वी खण्ड र केर्खा–इटहरीसम्म ५० दशमलव ७६ किलोमिटर पश्चिमी खण्डमा विभाजन गरिएको छ । दुवै क्षेत्रमा  सडक क्षेत्रमा पर्ने रुख कटान सकिएकाे छ ।

काँकरभिट्टा–केर्खा सडक

पूर्वी खण्डको काकरभिट्टा–केर्खा सडक १० अर्ब ६ करोडमा लागतमा सम्पन्न गर्नेगरी इभरस्कोन–कालिका जेभीले विसं २०८० कात्तिक २ गते सम्झौता गरेको थियो । इञ्जिनियर आश्रय महतका अनुसार सो खण्डमा भौतिक प्रगति पाँच दशमलव ७० प्रतिशत छ ।

सडकखण्डको सीमाभित्र परेका चार हजार सात सय २६ वटा रुख काट्ने काम सकिएको छ ।

सडक खण्डमा पर्ने एक सय ४३ कल्भर्टमध्ये ७२ वटा कल्भर्टको निर्माण भइरहेको छ । चारआली चोक, बिर्तामोड र चारपाने चोकमा मोटरेबल ओभरपास निर्माण हुनेछ ।

उनका अनुसार चारअली जङ्गलमा हात्तीका लागि अण्डरपास र छ वटा पैदलयात्री क्रसिङ बन्नेछन् । तीन सय मिटरभन्दा साना १८ वटा पुल यसै ठेक्काअन्तर्गत निर्माण सम्पन्न हुनेछन् ।

तीन सय मिटरभन्दा लामा निन्दा, बिरिङ र कन्काई पुल निर्माणका लागि पाँच अर्ब ९७ करोडमा निर्माण गर्ने ठेक्का लगाइएको थियो । हालसम्म उक्त पुलको भौतिक प्रगति चार दशमलव २० प्रतिशत रहेको इञ्जिनियर महतले जानकारी दिए ।

केर्खा–इटहरी खण्ड

पश्चिम खण्डअन्तर्गत प्याकेज नं २, ३ र ५ गरी तीन वटा ठेक्का रहेका छन् ।

प्याकेज नं २ झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्म ४० किलोमिटर रहेको छ । उक्त ठेक्का ९ अर्ब १३ करोड ८२ लाखमा सम्झौता भएको इञ्जिनियर पल्लव श्रेष्ठले जानकारी दिए । उक्त सडकखण्डको हालसम्ममा ७ दशमलव पाँच प्रतिशत भौतिक प्रगति रहेको छ ।

यस्तै प्याकेज नं ३ मोरङको गोठगाउँदेखि इटहरी लबिपुरसम्म १० दशमलव ७६ किलोमिटर रहेको छ । ठेक्का सम्झौता ४ अर्ब सात करोड ३५ लाखमा भयो । यस प्याकेजको भौतिक प्रगति तीन प्रतिशत मात्रै छ ।

प्याकेज नं २ र ३ को कूल लम्बाइ ५० दशमलव ७६ किलोमिटरमा २८ वटा तीन सय मिटरभन्दा साना पुल छन् । जुन सम्बन्धित प्याकेजको ठेक्का पाउनेले नै निर्माण गर्नेछ । सडक भित्र पर्ने दुवै प्याकेजका छ हजार छ सय २९ रुख काट्ने काम सकिएको छ ।

तीन सय मिटरभन्दा लामा रतुवा, बक्रा र लोहेन्द्रा पुल निर्माणका लागि पाँच अर्ब ६५ करोड २६ लाख सम्झौता गरिएको थियो । पुलको प्रगति ८ प्रतिशत छ । काँकरभिट्टा–लौकही सडकखण्डअन्तर्गतका प्याकेजका योजनाको निर्माणका लागि तीन वर्षको ठक्का सम्झौता भएको थियो ।

प्रकाशित मिति: बुधबार, ०७ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.