कोशीकाे बाढी : त्राससँगै अवसर पनि

Satya Sanchar रासस

सुनसरी । अविरल वर्षाका कारण सप्तकोशी नदीमा आएको बाढीले नदी आसपासको क्षेत्रको जनजीवन प्रभावित भयो । कोशी ब्यारेजमा सन् १९६८ यताकै धेरै पानीको बहाव मापन पनि भयो । कोशीमा बाढीले त्रासँगै नदी किनारक्षेत्रका केही सर्वसाधारणका लागि अवसर पनि लिएर आएको छ ।

बराहक्षेत्र नगरपालिका–६ का वीरवल माझी कोशी नदीबाट दाउरा झिकेर परिवारको गर्जो टार्छन् । उनलाई बाढीले बगाएको दाउरा निकालेर राम्रै आम्दानी गरे । उनी वर्षायामको बेला वर्षभरि पुग्ने दाउरा कोशीबाट संकलन गर्छन् । यसरी संकलन भएको दाउरा घरमा प्रयोग गर्ने र बचेको दाउरा बेच्ने गरेको उनले बताए ।

यसपटकको बाढीमा उनले एक वर्षलाई पुग्ने गरी दाउरा निकालिसकेका छन् । खाना पकाउनेदेखि आफूले पालेको १५ सुङ्गुर र पाँच भैँसीलाई कुँडो पकाउन एकवर्षका लागि दाउराको जोहो भएकामा उनी ढुक्क छन् ।

‘यो वर्ष मनसुन सकिने बेलामा बाढी आयो । घर अलि पर भएकाले केही क्षति हुन पाएन’, माझीले भने, ‘यस पटकको जस्तो बाढी कोशीमा आएको मैले अहिलेसम्म देखेको थिइँन । दाउरा पनि धेरै ल्यायो ।’ तीन दिनको भारी वर्षाका कारण आएको बाढीले अहिले बराह क्षेत्रका धेरैजना दाउरा संकलनमा व्यस्त छन् ।

माझीजस्तै मजदुरी गर्ने अधिकांश दसैँ खर्च जुटाउन रातदिन नभनी दाउरा संकलन गरेका थिए । चतराको कोशी किनार क्षेत्रमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका उनीहरू अहिले कोशीबाट निकालेको दाउरा बेचेर आम्दानी गरिरहेका छन् ।

नदीको भेलले बगाएर ल्याएको दाउरा संकलन गरेर जीविका चलाउनेको दैनिकी यतिबेला कोशी बगरमा बितेको छ । बाढीले किनाराका बासिन्दा त्रसित बने पनि माझीजस्ता कतिपयका लागि अवसर बनेको छ ।

बराहक्षेत्र–८ की सोभा चौधरी पनि कोशीबाट दाउरा निकालेर दसैँ खर्च जुटाइरहेका छन् । नदीबाट दाउरा निकालेर बगरमा राखेको देख्दा धेरैले सजिलो ठानेपनि ज्यानको बाजी राखेर भेलबाट दाउरा निकाल्नु चुनौतीपूर्ण रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘सजिलो त कहाँ छ र दाउरा निकाल्न । निकै बल लगाउनुपर्छ । निकालेर राखेको दाउरा पनि कहिलेकाहीँ भेलले फेरि बगाइदिन्छ ।’

कोशीमा बाढी आएको बेला रातिदेखि किनारमा दाउरा संकलन गर्नेको भीड लाग्छ । कोशीमा राम्रोसँग पौडिन सक्ने बलिया पुरुष डुंगा लिएर नदीको बीचसम्म पुगेर दाउरा संकलन गर्छन् । महिला र पौडिन नआउनेहरु बगर छेउमा बसेर दाउरा संकलन गर्छन् ।

जोखिम मोलेर कोशीबाट निकालिएको दाउरा बजारमा प्रति ट्याक्टर १२ हजारदेखि २० हजारसम्ममा बिक्री हुने गरेको बराहक्षेत्र–८ जितपुरका आसा चौधरी बताउँछन् । कतिपयले बाढीले बगाएर ल्याएको दाउरा एकदिनमै तीन देखि चार ट्याक्टरसम्म संकलन गर्न भ्याउँछन् । उनले भने,‘अरुबेला जङ्गलमा साइकल लिएर दाउरा खोज्न घण्टौँ लाग्छ, अहिले बाढीले ल्याएको दाउरा संकलन गर्न सके वर्ष दिनलाई ढुक्क ।’

कोशी नदीको बीचमा रहेको बराहक्षेत्र वडा नं ६ र ९ कोशीटप्पुमा यतिबेला दाउराको बिस्कुन सुकाएझैँ दृश्य देखिन्छ । कोशीटप्पुका बासिन्दाको आम्दानीको मुख्य स्रोत बाढीले बगाएर ल्याएको दाउरा हो । बाढीले दाउरा मात्र होइन, ठूला रुख पनि बगाएर ल्याउने गर्छ । त्यहाँका युवाहरुले समूह बनाएर ठूल्ठूला रुख चिरेर राम्रो काठ निकाली बढी मूल्यमा बिक्री गर्ने गरेको कोशीटप्पुका स्थानीयवासी सन्तोष राजवंशीले बताए ।

सप्तकोशी नदीको बराहक्षेत्र चतरा, सिसौलीघाट, महेन्द्रनगर, राजावास, कोशी टप्पुलगायतका कोशी किनारक्षेत्रका बासिन्दाले बाँसको टाँगोको सहायताले दाउरा निकाल्ने गर्छन् । धेरैजसोले समूह बनाएर डुंगाको प्रयोगबाट कोशी नदीको भङ्गालोमै पसेर दाउरा निकाल्ने गर्छन् । पूर्वी पहाडी क्षेत्रबाट नदीमा बाढीसँगै बगेर आउने उत्तिस, खयर, साल, चिलाउनेको सिङ्गै रुख र हाँगाबिँगा संकलन गर्ने क्रम यहाँ वर्षौंदेखि चल्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, १८ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.