कोशी ब्यारेजमा बाढीकाे मापन साढे चार लाख क्यूसेक, साढे ६ लाख कट्ने अनुमान

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सप्तकाेशी नदीमा पानीकाे बहाव उच्च भएपछि कोशी ब्यारेजका सबै ढोका खाेलिएकाे छ । अविरल वर्षाका कारण नदीको बहाव उच्च भएपछि ब्यारेजका  ५६ वटै ढोका खुला गरिएको हो ।

सप्तकोशी नदीको बहाव शनिबार ४ लाख ४९ हजार ६ सय ८० क्यूसेक मापद भएको छ । यो खतराको तह भन्दा माथि हो । ब्यारेजको नियन्त्रण भारतीय पक्षले गर्छ, बहाव उच्च भएपछि भारतीय पक्षले सबै ढोका खुला गरेको हो ।

भारतीय पक्षले ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्ने खतरा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । बहाव उच्च भएपछि सुनसरी र सप्तरीमा स्थानीय प्रशासनले सतर्कता अपनाएका छन् ।

बाढीको जोखिम निरन्तर बढ्दो क्रममा रहेकाले सतर्कता अपनाइएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले बताए । उनका अनुसार बाढीमा दाउरा निकाल्न र माछा मार्न रोक लगाइएको छ । भारतीय पक्षले पानीको बहाव उच्च हुने आकलन गरेपछि सतर्कता अपनाइएको उनले बताए ।

कोशीमा बहाव उच्च भएपछि भारतको पटनास्थीत जल संसाधन विभागका प्रधान सचिव सन्तोषले सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।

उनले जारी गरेको पत्रमा आज बाढीको मापद ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्नसक्ने अनुमान छ । बहाव उच्च हुँदा डुबानको जोखिम हुने भएकाले कोशी नदीसँग जोडिएका भारतको सुपौल, सहरसा, मधेपुरा, मधुवनी दरभंगा र खगडिया जिल्लाको कोशी नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रकाशित मिति: शनिबार, १२ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.