रंगेली र बेतौनाको बस्तीमा बाढी पस्यो, ४० परिवार विस्थापित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । अविरल वर्षासँगै आएको बाढी र डुबानका कारण मोरङमा ४० परिवार विस्थापित भएका छन् । दुई दिनयताको वर्षापछि आएको बाढी र डुबानका कारण मोरङको रंगेलीमा १६ र धनपालथानमा २४ परिवार विस्थापित भएका हुन् ।

मोरङमा प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार रंगेली नगरपालिका–२ लक्ष्मीपुरका १६ परिवार कोचेनी खोलामा आएको बाढीका कारण विस्थापित भएका हुन् ।

धनपालथान गाउँपालिका–३ बेतौना टोलका २४ परिवार नहरको पानी बस्तीमा पस्दा विस्थापित भएका हुन् । मंगलबारे नहरको पानी बढेर गाउँमा छिरेपछि विस्थापित भएकाहरुलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले बताएको छ । पीडितहरुले आफ्ना सरसामान र चौपायासहित घर छाडेका छन् ।

विराटनगरको दक्षिणपश्चीम क्षेत्रका केही बस्ती पनि डुवानमा परेका छन् ।  केसलीया खोलामा आएको बाढी र परेको पानी निकास नहुँदा बस्ती डुबानमा परेको हो । प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीका अनुसार केसलीय खोलामा आएको बाढी बस्तीमा पसेको हाे । बाढी प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, ११ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.