विराटनगर । समाजमा दशैं तिहार छठलगायत चाडपर्वमा आफन्त र साथीभाइ भेला भएर जुवातास खेल्ने चलन छ । रमाइलाेका लागि खेलिने जुवातासलाई समाजले स्वीकार गरेपनि नेपालकाे कानुनले भने बर्जित गरेको छ ।
मुलुकी अपराध संहिता २०७४ ले जुवा र जुवाजन्य खेललाई अपराध मानेकाे छ । ऐनमा तासको बारेमा व्याख्या नभएपनि तासलाई पनि जुवा जन्य खेल नै मानिन्छ । कसैले जुवातास खेलेको भेटिए कानुनी कारवाही हुन्छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।
दोस्रो पटक खेल्नेलाई एक वर्षसम्म कैद र ५० हजार जरिवाना हुने प्रावधान छ । पटकेका लागि भने एक वर्षको कैदमा पट्कै पिच्छे तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना थप हुने प्रावधान छ ।
‘जुवा भन्नाले कुनै संयोगको आधारमा कुनै किसिमको चल वा अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने वा हार्ने वा जित्ने गरी बाजी थापी खेल्ने कुनै किसिमको खेल वा प्रक्रिया सम्झनु पर्छ,’ जुवालाई परिभाषित गर्ने ऐनमा लेखिएको छ,‘ सो शब्दले आफूले जुवा नखेली अरुको हार वा जितमा आफूले कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी थापेको बाजी वा च्याँखेलाई समेत जनाउँछ ।’
ऐनले सार्वजनिक महोत्सव, मेला, पर्व, चाड, प्रदर्शनी वा समारोहमा मनोरञ्जनका लागि सानोतिनो चल सम्पत्ति पाउने वा गुमाउने गरी नेपाल सरकारको स्वीकृति लिई सञ्चालन हुने खेललाई भने जुवा मानेको छैन ।
यस्तो छ कानुनी व्यवस्था
दफा १२५. जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुनेः (१) कसैले जुवा खेल्नु वा खेलाउनु हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजायहुनेछ ।
(क) पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा तीसहजार रुपैयाँसम्म जरिबाना ।
(ख) दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना र त्यसपछिको कसूरमा पटकै पिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना ।
स्पष्टीकरण : यस संहिताको प्रयोजनको लागि :
(१) “जुवा” भन्नाले कुनै संयोगको आधारमा कुनै किसिमको चल वा अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने वा हार्ने वा जित्ने गरी बाजी थापी खेल्ने कुनै किसिमको खेल वा प्रक्रिया सम्झनु पर्छ र सो शब्दले आफूले जुवा नखेली अरुको हार वा जितमा आफूले कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी थापेको बाजी वा च्याँखेलाई समेत जनाउँछ । तर देहायको कुनै खेल वा कार्यक्रमलाई जुवामानिने छैन :
(क) कुनै सार्वजनिक महोत्सव, मेला, पर्व, चाड, प्रदर्शनी वा समारोहमा मनोरञ्जनका लागि कुनै सानोतिनो चल सम्पत्ति पाउने वा गुमाउने गरी नेपाल सरकारको स्वीकृति लिई सञ्चालन हुने खेल ।
(ख) अधिकार प्राप्त अधिकारीको स्वीकृति लिई सञ्चालन भएको चिठ्ठा ।
(२) “जुवा खेलाउने” भन्नाले आफ्नो हक, भोग, चलन, स्वामित्व वा जिम्मामा रहेको घर, कोठा, ठाउँ वा सवारी साधन जानीजानी उपलब्ध गराई वा जुवा खेल्नको लागि कुनै किसिमको साधन उपलब्ध गराई जुवा खेलाउने व्यक्ति सम्झनु पर्छ ।
उपदफा (३) जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चल अचल सम्पत्ति जफत हुनेछ । तर जुवा खेलेको घर, कोठा, ठाउँ वा सवारी साधन जफत हुने छैन ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,445)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,375)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,357)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)