आज जितिया पर्व

Satya Sanchar सत्य सञ्चार

विराटनगर । तराई क्षेत्रमा बसाेबास गर्ने महिलाले आज जितिया पर्व मनाउँदैछन् ।

जितिया पर्व विशेषगरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु तथा मधेशी समुदायका महिलाले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुखशान्तिका लागि भगवानको पूजा आराधना गर्दै मनाउने गर्छन् ।

जितिया पर्वका अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन थारु तथा मधेशी महिला कठोर उपवास बस्ने गर्दछन् । यस पर्वमा शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकार बनाई खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ । वर्तालु महिलाले पहिलो दिन स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना (खैर) र माटो चढाउने गर्छन् ।

पर्वको दोस्रो दिन अर्थात अष्टमीका दिन वर्तालु महिलाहरु निराहार उपवास बस्नेछन्। उपवासका दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन रहेको छ ।

जितियाको अन्तिम तथा पारन (समापन)को दिन वर्तालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई उक्त पवित्र स्थानमा दही तथा सखरको प्रसाद बनाई चढाउने गर्छन् र जितिया पर्वको समापन गर्ने गर्छन् ।

प्रकाशित मिति: बुधबार, ०९ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.