सरकारले थप्यो सभामुख र उपसभामुखको सुविधा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशका सभामुख र उपसभामुखका लागि सुविधा थप गरेको छ । मन्त्रिपरिषद् बैठकले सभामुखका लागि मासिक ७५ लिटर र उपसभामुखका लागि मासिक ५० लिटर इन्धन सुविधा थप गरेको हो ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को अनुसूची १ मा सभामुखले मासिक १५० र उपसभामुखले १२५ लिटर इन्धन पाउने प्रावधान थियो । मन्त्रिपरिषद् बैठकले अनुसूची संशोधन गरेपछि अब सभामुखले २२५ लिटर र सभामुखले १७५ लिटर इन्धन सुविधा प्राप्त गर्नेछन् ।

सुविधा थप गर्ने विषयमा बाहिर छलफल भएन, प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को दफा २० का आधारमा मन्त्रिपरिषद् बैठकले सुविधा थप गरेको हो । दफा २० मा ‘प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशन गरी पदाधिकारी वा सदस्यलाई मार्का नपर्ने किसिमबाट अनुसूची हेरफेर गर्न सक्ने’ प्रावधान छ ।

भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकले गरेको यो निर्णयपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोही दिनको मितिमा राजपत्रमा सूचना प्रकाशित गरेको छ । प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट र उपसभामुखमा एमालेकी सृजना दनुवार छिन् । सभामुखले मासिक ६२ हजार ५४० र उपसभामुखले ५९ हजार पारिश्रमिक पाउँछन् ।

सभामुखले दुई जना स्वकीय सचिव, एक जना सूचना प्रविधि, दुई जना कार्यालय सहयोगी र एक जना हलुका सवारी चालक गरी ६ जना सहयोगी पाउँछन् । त्यस्तै उपसभामुखले सचिवालयमा तीन जनालाई राख्न पाउने सुविधा छ ।

थप भएकाे सुविधा

प्रकाशित मिति: मङ्गलबार, ०८ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.