ग्रामथानको जुवाखालबाट पूर्वअध्यक्षसहित नौं जना पक्राउ, साढे १८ लाख नगद बरामद

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रहरीले मोरङको ग्रामथान गाउँपालिका–४ कटहरामा रहेको जुवा खालबाट ९ जनालाई पक्राउ गरेको छ । शनिबार राति जुवा खालबाट सोही पालिकाका पूर्व पूर्वअध्यक्षसहित ९ जनालाई पक्राउ गरेको हो । जुवाखालबाट प्रहरीले १८ लाख ५१ हजार रुपैयाँ पनि बरामद गरेको छ ।

प्रहरीका अनुसार ग्रामथानको कटहरास्थित बाँस झ्याङभित्र जुवा खाल बनाएर खेल्दै आएको पाइएको छ । सो स्थानलाई ‘बाह्रमासे’ जुवा खाल भनिन्थ्यो । विगतमा प्रहरीले पक्राउ गर्ने प्रयास गरेपनि सफल हुन सकेको थिएन । शनिबार राति भने अर्कै बाटो प्रयोग गरेर प्रहरी खालसम्म पुगेको थियो । छापा हान्ने क्रममा केही व्यक्ति फरार भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार पक्राउ पर्नेमा ग्रामथान–४ का ५९ वर्षीय शिवनारायण माझी, महोत्तरीको गौशाला नगरपालिका–१ का ४५ वर्षीय महेश साह, सुनसरीको धरान उपमहानगरपालिका–१५ का ४५ वर्षीय युवक राई, दुहबी नगरपालिका–६ का ४५ वर्षीय जयकिशोर साह पक्राउ परेका छन् । त्यस्तै झापाको दमक नगरपालिका–१० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ, मोरङको सुन्दरहरैँचा नगरपालिका–१ का ५० वर्षीय जनककुमार मास्के, ३२ वर्षीय प्रताप राई, ग्रामथान–४ का ५५ वर्षीय अहिलाल माझी र लेटाङ नगरपालिका–९ का ३८ वर्षीय लोकनाथ सापकोटा पनि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमध्ये शिवनारायण माझी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट ग्रामथान गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए ।

कार्कीका अनुसार जुवा खालबाट १८ लाख ५१ हजार ५ सय रूपैयाँ नगद, १६ थान कौडा, १२ बुक तास, पाडर, पैसा राख्न प्रयोग गरिने काठको बाकस, झोला, १५ वटा मोबाइललगायत बरामद भएको छ । उनीहरु माथि मुलुकी अपराध संहिता २०७४ अन्तरगत मुद्दा चलाउने तयारी छ ।

तीन महिना हुनसक्छ सजाय

मुलुकी अपराध संहिता २०७४ को दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

दोस्रो पटक खेल्नेलाई एक वर्षसम्म कैद र ५० हजार जरिवाना हुने प्रावधान छ । पटकेका लागि भने एक वर्षको कैदमा पट्कै पिच्छे तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना थप हुने ऐनमा उल्लेख छ ।

‘जुवा भन्नाले कुनै संयोगको आधारमा कुनै किसिमको चल वा अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने वा हार्ने वा जित्ने गरी बाजी थापी खेल्ने कुनै किसिमको खेल वा प्रक्रिया सम्झनु पर्छ,’ जुवालाई परिभाषित गर्दै ऐनमा लेखिएको छ,‘ सो शब्दले आफूले जुवा नखेली अरुको हार वा जितमा आफूले कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी थापेको बाजी वा च्याँखेलाई समेत जनाउँछ ।’

प्रकाशित मिति: आइतबार, ३० भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.