रुस युक्रेन युद्धमा तीन हजार नेपाली : रोनालको पिरले बुबा बिते, एक्लै भइन् प्रितमकी आमा

Satya Sanchar सत्य सञ्चार
प्रितमकी आमा

विराटनगर । मोरङको बेलबारी नगरपालिका– ११ लक्ष्मीमार्गकी हिरामाया राईको आँखा नओभाएकाे ६ महिना भयो । उनका श्रीमान बितेको एक दशकबढि भयो । बुढेसकालको एकमात्र सहारा ३३ वर्षीय छोरो प्रितम थिए । गत असोजमा दलालले छोरालाई राम्रो आम्दानी हुने भन्दै रसिया पठाइदिए । पाँच महिनासम्म उनी सम्पर्कमै थिए, गत फागुनयता सम्पर्कविहीन छन् । छोरोको सम्पर्कविहीन भएपछि भौँतारिएको परिवारमा चैतमा खबर आयो ‘प्रितम युद्धमा प्रितम मारियो’ । यो खबर आफन्तले आमालाई सुनाएनन् । केही दिनपछि हिरामायाले थाहा पाइन् । सम्पर्कमा नरहेका प्रितम मारिएको खबर आएपछि लास बिनै आफन्तले अन्तिम संस्कार गरे । बुढेसकालको एक मात्र सहारा छोरो विदेशको युद्धमा मारिएपछि आमा विछिप्त छिन् । छोराको कुरा निस्किए बोल्न सक्दिनन् , भक्कानो छाडेर रुन थाल्छिन् ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले सोधीखोजी गर्दा उनी धरधरी रोइन, बोल्न सकिनन् । ‘ कसरी–कसरी रसिया पुगेको भतिजो चैतमा मरेको खबर आयो, त्यसपछि काजकिरिया गर्यौं,” काका धर्मराज राईले भने,‘ भाउजूको एक्लो छोरो थियो ।’ ‘कसरी प्लानिङ गरेर नेपाली पठाइन्छन् नेपालीलाई रसिया ? ठूलै मान्छेको हात छ भन्ने सुनिन्छ,” उनले भने,‘ भुटानी शरणार्थीमा ठूला मान्छेको हात थियो, यहाँ पनि होला, यसको खोजी किन नभएको होला ?’ अवैध तरिकाले जाने विषयमा राज्यले चासो नदिएको उनले बताए ।

छोराको पिरले बुबा बिते

मोरङको बेलबारी–११ का २४ वर्षीय रोनाल मिश्र २०८० असोज २७ गतेमा रुसी सेनामा काम गर्न भन्दै घरबाट हिँडे । पढाई सकेर बसेका उनलाई दलालले राम्रो पैसा हुन्छ भन्ने आश देखाएका थिए । उनी पुगेको दुई महिनासम्म सम्पर्कमा थिए । त्यसपछि सम्पर्कमा छैन् । विदेशीको युद्धमा छोरो बेपत्ता भएको घटना बुबाले सहन सकेनन् ।

गत साउन ९ गते बुबा राजकुमारले आत्महत्याको बाटो रोजे । रोनालका भाइ रिजनले भने,‘ दाजुको खबर छैन, बुबा बित्नुभयो, हाम्रो मान्छेका बारेमा कसले सोधिखोजी गरिदिन्छ ।”  रिजन कक्षा ९ मा पढ्छन् । उनले दाजुको खोजी गरि नेपाल फर्काउन आग्रह गरे । ‘कुनै व्यापार व्यवसाय छैन । आम्दानी पनि छैन,” रिजनले भने,‘मैले दाजु खोज्न कहाँ जानु ?’

ओमबहादुर सम्पर्कमा छैनन्, घरमा काजकिरिया

उदयपुर नगरपालिका कटारी २ का ओमबहादुर आलेमगर रुसी सेनामा काम गर्ने भन्दै गएको कार्तिकमा एक वर्ष हुन्छ । घरमा ससाना ४ जना छोराछोरी छन् । गएको केही महिना परिवारको सम्पर्कमा थिए ।

नेपाली सेनाको जागिरबाट अवकाश पाएपछि ओमबहादुर राम्रो कमाई हुने भन्दै रसिया उडेका थिए । तीन पटक उनले परिवारमा खर्च पनि पठाए । घरमा ऋण तिर्नका लागि पैसा पठाउँछु भन्दै श्रीमतीसँग कुरा गरेका ओमबहादुर चार महिनाअघि एक्कासि बेपत्ता भए, त्यसपछि मृत्युको खबर परिवारमा आयो । आफन्तको सल्लाहमा बिनुले श्रीमानको काजकिरिया गरिन् । चार छोरा छोरीलाई हुर्काउने जिम्मा उनी एक्लैमा छ । 

धनकुटाको साँघुरी गाउँपालिका १० का विनोद राई गत दशैंको टिकाको दिन घरबाट रसियाका लागि हिँडे । नेपाल आर्मीमा १४ वर्ष काम गरेका उनी कतारबाट फर्किएपछि साथीहरूले भनेपछि उनी रसिया गए । करिब तीन महिना उनी परिवारको सम्पर्कमा थिए । त्यसपछि उनी बेपत्ता छन् । उनका साथीले बेपत्ता भएको खबर पठाएका छन् । ‘ पुस २७ गतेदेखि उहाँसँग सम्पर्क भएको छैन,’ श्रीमती कमलश्वरी राईले भनिन्,‘ मेरो श्रीमानलाई ल्याइदिनुपर्योा ।” 

कति गए नेपाली रुस ? 

रुस युक्रेन युद्ध सुरु भएपछि नेपालबाट कति नेपाली नागरिक रुसी सेनामा गए भन्ने तथ्याङ्क राज्यसँग छैन, चोरबाटोबाट गएकाहरूलाई राज्यले फर्काउन पनि पहल गरेको छैन । रुसी सेनामा काम गरेर नेपाल फर्किएका सुनसरी इटहरीका हेमराज बुढाथोकीको अनुमानमा १० हजार भन्दा बढी नेपाली रुसी सेनामा छन् । रुसमा उनले देखेको संख्याका आधारमा उनले यो अनुमान गरेका हुन् । उनी ४८ जना नेपालीसहित काठमाडौँबाट भिजिट भिसामा रसिया गएका थिए । युद्धमा गोली लागेर उनी घाइते भए । कार्यालय सहयोगीको रुपमा काम गर्न भन्दै रसियन सेनामा लगेका थिए । उनी सशस्त्र प्रहरीको पूर्व वरिष्ठ हवल्दार हुन् ‘त्यहाँ कसैलाई भेट्न दिदैनन्,’ उनले भने,‘ अघिल्लो वर्ष भदौ, असोज, कात्तिकमा दैनिक ५० भन्दा बढी नेपालबाटै गएका छन्, खाडी मुलुकबाट पनि सयौँ सिधै रसिया गएका छन् ।’ लडाइमा पनि विभेद झेल्नु पर्ने उनको भनाई छ । ‘लडाइ लड्नेहरूले तलब पाएका छैनन्, इन्स्युरेन्स पनि पाउदैनन्, कागजात सबै जफत गरिदिन्छ ।’ उनले भने ।

 नेपालबाट रसिया सेनामा काम गर्नका लागि गएका मध्ये २७८ जना बेपत्ता भएको ‘रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियान की अभियान्ता कृतु भण्डारी बताउँछिन । ‘यो संख्या राज्यको होइन, हामीसँग जोडिएका परिवारहरुका अनुसार २७८ जना बेपत्ता हुनुहुन्छ, ६१ परिवारले त काजकिरिया नै गरिसक्नु भयो,’ उनले भनिन्‘ रसिया पठाउनका लागि १७७ जना दलालहरु छन् ।’ उनका अनुसार पछिल्लो समय रसियामा मरेको परिवारका सदस्यहरुमा पनि दलालले पैसा माग्न थालेका छन् ।

 ‘बेपत्तालाई फर्काइदिन्छु, मृतकको क्षतिपूर्ति दिलाइदिन्छु भन्दै दलालहरुले पैसा उठाएका छन्,’ उनले भनिन्‘ सरकारले यो विषयलाई गम्भीर रुपमा लिएको छैन ।’ अहिलेसम्म ३ हजार रुसी सेनामा रहेकाहरुको परिवार सम्पर्कमा रहेको उनले बताइन् । 

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले रुसी सेनामा बेपत्ता भएकाहरुको खोजीका लागि पहल गर्ने बताए । बेपत्ता परिवारका सदस्यहरुलाई जिल्ला प्रशासन कार्यालय मार्फत पहल गर्ने बातावरण मिलाउने उनले बताए । बेपत्ता पारिएका परिवारका सदस्यहरुल खोजीका लागि पहल गर्नका काठमाडौँ धाउनुपर्ने समस्या रहेको बताएपछि मन्त्री अधिकारीले जिल्ला प्रशासन कार्यालयबाट पहल गर्ने बताए ।

प्रकाशित मिति: सोमबार, १७ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.