जहाँ हाटबजारमा पनि गुञ्जिन्छन् देउडा

Satya Sanchar सत्य सञ्चार

धनगढी । कैलालीमा बजारमा पनि देउडा खेल्न थालिएको छ । शनिबार आउनेबित्तिकै कैलालीको घोडाघोडी नगरपालिका–१ की ६० वर्षीया पद्मादेवी धामीलाई सुख्खड बजार जाने हतार हुन्छ। सुख्खड बजारमा प्रत्येक शनिबार देउडा खेलिन्छ। त्यसकारण आफूले गर्न सक्ने घरको काम छिटोछिटो सक्काएर पद्मादेवी घोडाघोडी –१ स्थित सुख्खड बजार पुग्छिन्।

‘पहिले पहिले पहाडमा खुब खेल खेल्लो छिया, तराई आएपछि खेल्ल पाहिन्या छियोन, आजकाल हाटबजारमा खेल लाग्दो छ । यैँ भएर शनिबार कैल आउला मान्नो छु,’ उनले भनिन्।

घोडाघोडी नगरपालिका–८ की धनसरा जोशीलाई पनि शनिबारको पर्खाइ हुन्छ । ‘यो खेल लाग्न सुरू भएदेखि प्रत्येक शनिबार देउडा खेल्न आइपुग्छु । देउडा खेल्न पाउँदा आफ्ना बाल्यकालका दिन याद आउँछन्,’उनले भनिन्।

विभिन्न मेला महोत्सव आयोजना गरिने सुखड बजारको हेलिप्याडमा शनिबारका दिन एकातिर कृषकले तरकारी बेचिरहेका हुन्छन् भने अर्कोति देउडा खेल लागिरहेको हुन्छ।

पद्मा र धनसरा जस्तै घोडाघोडी नगरपालिकाभित्रका देउडा पारखीहरूलाई शनिबारको पर्खाइ हुन्छ।

ताजा तरकारीसँगै अन्य सामान पनि किनमेल त गर्न पाइन्छ नै देउडा खेल खेल्न र मनोरञ्जन पनि लिन पाइने देउडा खेल्न पुग्ने गरेका डम्बर विष्ट बताउँछन्।

रमाइलोसँगै देउडा खेल्न थालेदेखि व्यापार पनि राम्रो हुने गरेको व्यवसायी लक्ष्मी चौधरीको भनाइ छ।

हाटबजारमा हरेक मंगलबार बिहान १० बजेदेखि कृषकले तरकारी बेचिरहेका हुन्छन भने शनिबार तरकारीसँगै दिउँसो ३ बजेपछि देउडा खेलिने गरेको घोडाघोडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दुर्गाप्रसाद गौतमले जानकारी दिए।

गएको माघदेखि हाटबजारमा नियमित रूपमा देउडा खेल हुने गरेको उनले बताए।

‘कृषकको व्यवसायसँगै हाटबजारमा देउडा संस्कृतिको पनि संरक्षण गरिरहेका छौँ । यसले कृषकलाई पनि फाइदा पुगेको छ,’ उनले भने।

घोडाघोडीसँगै जिल्लाको बर्दगोरिया गाउँपालिका, लम्कीचुहा नगरपालिकास्थित गुलरामा हाटबजारमा पनि देउडा संस्कृति जोगाउने प्रयास गरिँदै आइएको छ।

हाटबजारमा देउडा लाग्ने दिन निकै भिड हुने गरेको बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बम बताउँछन्।

‘संस्कृति बचाउ’ भन्ने उद्देश्यका साथ एक वर्षदेखि निरन्तर रूपमा देउडा खेल हुने गरेको उनले सुनाए।

‘आइतबार र बिहीबार गरी दुई दिन हाटबजार लाग्ने गर्छ,’ अध्यक्ष बमले भने, ‘बिहीबार देउडा खेलाउँछौं । देउडा खेल्नका लागि धनगढी, अत्तरिया, लम्की, महेन्द्रनगरका देउडा कलाकारलाई बोलाउने गरिएको छ । गएको साउनदेखि निरन्तर देउडा खेल खेलाइने गरेको छ।’

धेरै जसो ज्येष्ठ नागरिकहरू देउडा खेल्न आउने गरेकाले रमाइलोसँगै सुखदुःख साँट्ने र आफ्ना पुराना दिन स्मरण गर्दै रमाउनका लागि यो कार्य उपयोगी भएको छ ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् टि एन जोशी देउडा खेल सुदूरपश्चिमका लागि निकै महत्वपूर्ण भएकाले यसलाई जोगाउनु सबैको दायित्व रहेको बताउँछन्।

‘यो यहाँको मौलिक संस्कृति हो, त्यसका लागि हाटबजारमा हरेक शनिबार यस्ता कार्यक्रम गर्नु पनि मौलिक नै छ । अब हरेक क्षेत्रबाट सुदूरपश्चिमका संस्कृति जोगाउने खालका कार्य हुन आवश्यक छ,’ उनले भने, ‘यसले नयाँ पुस्तालाई आफ्नो संस्कृति बुझ्न सघाउ पुगेको छ । देउडासँगै सुदूरपश्चिमका अन्य संस्कृतिलाई पनि विभिन्न कार्यक्रममार्फत जोगाउन लाग्नुपर्छ।’ रासस

प्रकाशित मिति: बिहिबार, १३ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.