विराटनगर । विराटनगरबाट जबरजस्ती करणी मुद्दाका कैदी फरार भएको घटना छानबिन गर्न मोरङ प्रहरीका प्रवक्ता एवं डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतको संयोजकत्वमा समिति गठन गरिएको छ ।बस्नेतको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाइएको हो ।
समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालय मोरङका इन्सपेक्टर रामप्रसाद खनाल र वरिष्ठ सइ देवेन्द्र सुवेदी छन् । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले छानबिन गरेर घटनाको यथार्थ पत्ता लगाउन समिति गठन गरेका हुन् । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले समिति गठन गरेर घटनाको छानबिन गर्न निर्देशन दिएका थिए ।
एसपी कार्कीले समितिले काम सुरु गरिसकेको र समितिबाट प्राप्त प्रतिवेदनका आधारमा थप कारबाही अघि बढ्ने जानकारी दिए । ‘कैदी कसरी भागे भनेर यकिन गर्न घटनाको अनुसन्धान सुरु गरिएको छ,’ उनले भने, ‘घटनामा प्रहरीको लापरबाही छ कि छैन भनेर पनि छानबिन हुन्छ ।’ प्रहरीको गल्तीले कैदी भागेको पाइएमा कारबाही गरिने कार्कीले बताए ।
विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद बिहीबार बिहान ५ः१५ बजेतिर फरार भएका हुन् । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका उनी मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए ।कारागारका निमित्त जेलर तुलसी पौडेलले उपचारका लागि मंगलबार कोशी अस्पतालमा भर्ना गरिएका अहमद निगरानीमा खटिएका प्रहरीलाई धकेलेर फरार भएको बताए।
उनका अनुसार उपचाररत कैदी शौचालय जाने क्रममा धकेलेर प्रहरीलाई लडाउँदै फरार भएका हुन् । कैदीको निगरानीका लागि कारागारले प्रहरी सहायक हवल्दार राजीव राजभण्डारी र जवान ज्ञानेन्द्रबहादुर कटवाललाई खटाएको थियो ।
प्रहरीले फरार रहेका कैदीको खोजी जारी राखेको छ । तर, अहमद हालसम्म फेला परेका छैनन् । उनी करिब डेढ वर्षदेखि मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका कैदी हुन् । जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते उनलाई १२ वर्ष कैद र ५ लाख जरिवाना हुने फैसला गरेको थियो । त्यस्तै, पीडक अहमदबाट पीडितलाई १ लाख क्षतिपूर्ति भराउने र पीडित राहत कोषमा २० हजार रूपैयाँ जम्मा गर्नुपर्ने फैसला पनि अदालतबाट भएको थियो ।
अदालतको फैसला अनुसार अहमदले २०९१ साल फागुन ३ गतेसम्म कारागारमा बसेर कैद सजाय भुक्तान गर्नुपर्ने हुन्थ्यो । कोशी अस्पतालमा हाल कारागारका ५ महिलासहित ८ जना कैदीबन्दीको उपचार भइरहेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,223)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)